विद्यालय शिक्षाबारे भारतीय प्रधानमन्त्री मोदीले लेखे पुस्तक
नयाँदिल्ली : भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले लेख्नु भएको “इक्जाम वारियर” (परीक्षाका योद्धाहरु) नाम पुस्तक सार्वजनिक भएको छ। पुस्तकमा विद्यालयस्तरका विद्यार्थीले परीक्षाका बेलामा उत्पन्न हुने तनावलाई कसरी कमगर्न सक्छन् भन्ने बारेमा जानकारी दिने विषयवस्तुहरु समावेश गरिएका छन्।
भारतीय प्रधानमन्त्रीले यस प्रकारको पुस्तक लेखेको यो पहिलो घटना हो। भारतको ‘पेन्गुइन र्यान्डम हाउस’ मा शनिबार सो पुस्तक विमोचन गरिएको हो। विद्यालयस्तरका विद्यार्थीहरुले दिन लागेको उनीहरुको बार्षिक परीक्षाको समय पारेर यो पुस्तक सार्वजनिक गरिएको छ।
भारतको माध्यमिक शिक्षा केन्द्रीय बोर्डले आगामी मार्च ५ देखि अप्रिल ४ सम्ममा कक्षा दशको बार्षिक परीक्षा सम्पन्न गर्नेगरी परीक्षा तालिका बनाएको छ। त्यसैगरी कक्षा १२ को परीक्षा पनि मार्च ५ देखि अप्रिल १३ सम्ममा सम्पन्न गर्ने योजना बोर्डले बनाएको छ। भारतीय बालबालिकाले परीक्षामा राम्रो नतिजाका लागि आफ्ना अविभावकहरुबाट ठूलो तनाव एवम् दवाव खेप्नुपर्दछ।
अविभावकहरुको दवावका कारण विद्यार्थीहरु परीक्षाको ठूलो तनावमा पर्ने गर्छन्। यस्तो तनावका कारण माध्यमिक विद्यालयको नतिजासँगै वर्षेनी केही विद्यार्थीले आत्महत्या समेत गर्ने गरेको पाइन्छ। यस्तो तनावलाई कमगर्न प्रधानमन्त्री मोदीले लेख्नुभएको सो पुस्तक सहयोगी हुने अपेक्षा गरिएको समाचारमा जनाइएको छ। रासस