‘लोकगायक हुँ भन्न लाजै भइसक्यो
तीज गीत गाएर चर्चामा आएका पशुपति शर्मा पछिल्लो समय फरक शैलीका लोकगीतले चिनिएका छन्। ‘क्याम्पस पढ्न आउनी, ‘मलाई अमेरिका यही'लगायत गीतका गायक शर्मा अहिले मेला–महोत्सवमा गाउन व्यस्त छन्। उनीसँग गोपाल दाहालले गरेको खुलस्त संवादः
मेला–महोत्सवमा असाध्यै व्यस्त हुनुहुन्छ, हैन ?
मेला–महोत्सवले गर्दा अहिले एक दिन पनि खाली छैन। यो माघ महिना मात्रै २६ वटा कार्यक्रम फिक्स्ड भइसक्यो। नाइँ भन्नु भएन, अलिअलि कमाइ भएको बेला।
अहिले त युट्युबबाट पनि कमाइ राम्रै हुन्छ होला नि ?
युट्युब, अरू अरू नाम मात्र हुन्, रोयल्टी आउने भन्ने हल्लाखल्ला मात्र हो। एल्बम त निरन्तरताका लागि मात्र निकाल्ने हो। आम्दानी हुने त मेला– महोत्सवमै हो।
कुन महिना व्यस्तता कम हुन्छ ?
मंसिरदेखि वैशाखसम्म मेला–महोत्सवको सिजनै हो। मेलाको सिजन सकिएपछि असार–साउन लागेपछि तीजको कार्यक्रम हुन्छ। त्यसपछि दशैँ–तिहार आउँछ। तर, हाम्रो मुख्य सिजन चाहिँ अहिले नै हो।
विदेशतिर पनि उत्तिकै दौडिरहनुभएको छ नि ?
अस्ति कुवेत गएर आएँ। फेरि फागुनमा ओमन, नयाँ वर्षलाई दुबई, तीजलाई अस्ट्र्ेलिया, जापान र इजरायलका लागि बोलेको छु। लगभग १२ महिनै व्यस्त भइन्छ। विदेश पनि महिनामा एक/दुई पटक त परिहाल्छ।
तपाईंको परिचय तीज गीतले नै बनायो, होइन ?
नामै तीज गायक भयो नि। तीजले नै चिनिएँ।
नयाँ गीत कस्ता–कस्ता बनाइरहनुभएको छ ?
टिपिकल गीतहरू गरिरहेको छु। पशुपतिले फरक विषयवस्तुमै गीत गर्छ भन्ने छ बाहिर, तर त्यसका लागि पनि एकदम व्यस्त भएर नयाँ बनाउन सकेको छैन। फागुनभित्रमा व्यंग्यात्मक तर सन्देशमूलक गीत ल्याउने तयारी गरिरहेको छु।
गत चुनावमा धेरै गायक दल र नेतालाई जिताऔँ भनेर गीत गाउँदै हिँडे। तपार्इं चाहिँ ‘यो चुनावमा जनताले जित्नुपर्छ’ भनेर गाउनुभयो। किन नि ?
मलाई पनि चुनावमा नेतालाई भोट माग्दै गीत गाउन पार्टीहरूबाट कुरा आएको थियो। तर, मैले कलाकार चाहिँ कलाकारै हुनुपर्छ भनेर गाइनँ। त्यसको अर्थ कलाकारले राजनीति नै गर्नु हुँदैन भनेको होइन। हामी कलाकारले देशका गीत गाउनुपर्छ, जनताका गीत गाउनुपर्छ भन्ने सोचेर त्यस्तो गीत गाएको हुँ।
कलाकारहरू पार्टीमा लाग्ने त लहरै चलेको छ। तपार्इंलाई चाहिँ अफर आएन ?
मलाई विभिन्न पार्टीबाट केही प्रलोभनसहित ‘हाम्रो पार्टीमा आइज' भनेर पनि बोलाए तर म कुनै पार्टीमा सक्रिय भएर लागिनँ। निःस्वार्थ भावले लागेका कलाकार त एकदम कम हुनुहुन्छ। अहिले कोमल वली दिदी लगभग सांसद् भइसक्नुभएको छ। यो देखेर पनि कतिले भोलि त यसरी नि नेता भइँदो रहेछ भनेर लाग्ने पनि धेरै देखिन्छन्। आफ्नो स्वार्थका लागि कलाकारिताले कमाएको नामलाई प्रयोग गरेर नेता बन्छु भनेर लाग्ने पनि धेरै हुनुहुन्छ।
तपाईंले एउटा गीतमा ‘कोमल वलीलाई नेता हुनुस्' भनेर उक्साउनुभएको थियो। उनले पनि ‘नेता बनेँ भने तपाईंलाई सल्लाहकार बनाउँछु, भनेकी थिइन्। साँच्चिकै सल्लाहकार बन्ने अफर आयो कि ?
दिदीसँग कुरा त भइरहेको हुन्छ। गीत–संगीतका विषयमा कसरी गर्ने, के गर्ने भन्ने कुरा हुन्छ। अरू कुरा चाहिँ भएको छैन। दिदीको राजनीतिमा लाग्ने गुण देखेरै लाग्नुस् भनेको हुँ मैले।
अरूलाई राजनीतिमा लाग्नुस् भनेर उक्साउने आफू चाहिँ नलाग्ने त ?
मसँग त्यो गुण छैन। मैले गाएका गीतहरू सुनेर, हेरेर धेरै पार्टीका मान्छेले ‘ल है, तिमीसँग राजनीति गर्ने खुबी छ जस्तो लाग्छ, गर्नुपर्छ है भन्छन्। तर, आफैँलाई मूल्यांकन गर्दा मसँग राजनीति गर्ने क्षमता छैन जस्तो लाग्छ।
तपार्इंका पछिल्ला गीतहरू बढी समसामयिक विषयमा केन्द्रित छन्। कसरी यस्ता गीतमा आकर्षित हुनुभयो ?
लोकगीतले लोकको मर्म बोक्नुपर्छ। भाव बोक्नुपर्छ। लोकमा भएका घटनालाई नै हामीले जस्ताको तस्तै प्रस्तुत गर्ने हो। जसमार्फत हामीले केही सन्देश पनि सम्प्रेषण गर्न सकौँ। सुन्दा रमाइलो पनि होस्, सन्देश पनि होस् भन्ने हिसाबले म गीत सिर्जना गर्छु।
लोकगीतको मौलिकता हरायो, विकृति आयो, दोहोरी त फोहोरी भयो भन्ने आरोप पनि छ नि ? के लाग्छ तपाईंलाई ?
केही हदसम्म सत्य हो। क्षणिक स्वार्थ र चर्चाका लागि त्यस्तो गर्ने कलाकार पनि बढी छन्। त्यस्ता कलाकारलाई प्रोत्साहन गर्ने पनि धेरै छन्। वास्तविक कला भएका कलाकार भन्दा पनि त्यस्तैलाई देश–विदेशतिर पनि बोलाइदिने गर्छन्। नयाँ आउने पुस्ताले पनि अग्रज कलाकारबाट त्यस्तै सिक्लान्, सबैले त्यस्तै गर्दै गए भने त बिमाकुमारी दुरा, शर्मिला गुरुङ जस्ता अग्रज कलाकारले देखाएको बाटो त अन्तै जाने भयो।
लोकदोहोरीको विकृति रोक्न के गर्नुपर्ला त ?
त्यस्ता गीत गाउने कलाकारलाई विभिन्न मेला, महोत्सवका आयोजकले निरुत्साहित गर्नुपर्छ। स्रोता र सञ्चारकर्मीले पनि निरुत्साहित गर्नुपर्छ। हाम्रो सेन्सर बोर्ड छैन, उहाँहरूले नै सेन्सर बोर्डको काम गरिदिनुपर्छ।
लोकदोहोरीका संघ–संस्थामा तपाईंहरू नै हुनुहुन्छ। कलाकारबाटै सुधारको पहल गर्न सकिँदैन ?
म राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठान नेपालको प्रथम उपाध्यक्ष हुँ। तर, हामीलाई उनीहरूलाई रोक्ने अधिकार छैन, यसो नगरे हुन्थ्यो भन्ने मात्र हो। यसका लागि सर्वप्रथम कलाकारै अनुशासित हुनुपर्छ। पैसै कमाउने उद्देश्य हो भने त अरू पेशा–व्यवसाय गरे पनि भयो। जे पायो त्यही हर्कत चाहिँ नगरे हुन्थ्यो। यस्ता विकृतिले गर्दा लोकगायक हुँ भन्न पनि लाजै भइसक्यो अहिले त।
‘मलाई अमेरिका यही’ गीत बनाउने सोंच कसरी आयो ?
विदेशतिर गइरहँदा मेरा साथीभाइहरू २०/३० हजारमा दुःख गरिरहेको देखेँ। यतिको काम गर्दा त नेपालमै कमाइन्छ भन्ने भएको थियो मनमा। विदेश गएकाहरूले सम्पत्ति कमाउनुभएको होला तर कहीँ खुशी देखिनँ। विदेशमा महिनाको एक लाख कमाएको भन्दा यहाँ १० हजार कमाएको राम्रो लाग्छ। त्यसले गर्दा गाउँमै बस्छु, खेतीपाती गर्छु, यहीँ अवसर छ, त्यहाँ गर्ने दुःख यहीँ गरेदेखि दुःखी हुँदैनौँ भनेर व्यंग्य पनि गरेको हो, यथार्थ पनि हो। त्यसपछि सुन्दा पनि रमाइलो होस् र सन्देश पनि राम्रो जाओस् भन्ने हिसाबले ठट्यौली पारामा तुरुन्त आएर यो गीत बनाएँ।
‘हामी नेपाली हौँ’ भन्ने गीत गाउनुभयो। त्यसमा निकै विवाद आयो नि ?
फलानो यो जाति, त्यो जातिभन्दा पनि हामी सबै नेपाली हौँ भन्ने भाव हुनुपर्छ भन्ने हिसाबले मैले झन् उहाँहरूलाई सपोर्ट गरेर त्यो गीत बनाएको थिएँ। तर, केही पक्षले विरोध जनाउनुभयो। केही शब्दहरू जस्तै ‘मेरो छोराले कमिनी ल्यायो’मा विरोध थियो।
कामी, दमाईको सट्टा दलित भनेको भए हुन्थ्यो, कामीको ठाउँमा विश्वकर्मा, दमाईको ठाउँमा परियार भन्नुपथ्र्यो भन्ने उहाँहरूको कुरो थियो। मैले आत्मैबाट सम्मानसहित त्यो गीत सिर्जना गरेँ भन्ने सोचेको थिएँ तर विरोध भएपछि मैले नराम्रो गरेछु कि जस्तो लाग्यो। त्यसपछि आफैँले मिडियाहरूमा त्यो गीत बन्द गराएँ।
तपार्इंका कुनै गीत देशलाई टुक्रा पारियो भन्ने किसिमका पनि छन्। तपाईं संघीयताविरोधी हो ?
हेर्यो भने हाम्रो देश यत्रो सानो छ नि त। यसैलाई सबै मिलेर सजाउँदा हुन्थ्यो। यत्रो खर्च गरेर धेरै दुःख गर्नुपर्दैनथ्यो भन्ने लागेर हो। भत्केको ठाउँ बनाएर सजाउनुपर्नेमा यो तेरो, त्यो मेरो भनेर झन बिग्रिने छाँट देखेर मैले व्यंग्य गरेको हो। नाकाबन्दी ताका ‘हामी नेपाली केको स्वभाविमानी’ भन्ने गीत पनि निकालेको थिएँ।
आफ्ना गीतले समाजलाई कस्तो प्रभाव पारे जस्तो लाग्छ ?
‘क्याम्पस पढ्न आउन' गीत सुनेर कतिले आफूलाई सचेत बनाएको भनेर धन्यवाद दिए। ‘अमेरिका यही गीत निस्किएपछि धेरैजना बाहिरबाट आएर नेपालमा लगानी गर्नुभएको भेटेको छु।गीत सुन्नेले कसरी हेरेका छन् ? त्यो पनि महत्वपूर्ण हुन्छ।
सुनिन्छ– तपाईंलाई डाक्टरले धेरै नगाउनू भनेका थिए। के समस्या थियो ?
त्यो बेला अलि धेरै कार्यक्रममा हिँडेको थिएँ। घाँटीमा समस्या आयो, गाह्रो भयो। डाक्टरले ‘१४ दिन चाहिँ टोटल रेस्ट गर्नुस्, त्यसपछि दुईतीन महिना थेरापी गर्नुस्, गीत चाहिँ नगाउनुस्’ भन्नुभयो। त्यही बेला कोमल वली दिदीको ‘लास्टै चोटि’ गीत सिर्जना गरेको थिएँ। अरू गीत पनि थिए। यति गाइहाल्छु अनि रेस्ट गरौँला भन्ने लाग्यो र गाएँ। त्यसलगत्तै तीजमा अस्ट्रेलिया, जापानका कार्यक्रम आए। त्यहाँ गएँ, फेरि दशैँतिहार आयो। त्यसो गर्दागर्दै रेस्ट गर्नै बिर्सिएछु। तर, पछि रेस्ट गरेँ। अहिले घाँटीमा सुधार भएको छ।
आफैँ गीत लेख्ने, संगीत गर्ने र गाउने गर्नुहुन्छ। किन ?
मैले अहिलेसम्म गाएकामा एकादुईबाहेक सबै आफ्नै सिर्जना हुन्। आफूले गर्यो भने केही फरक गर्न पाइन्छ। गाउँदागाउँदै मन नपरे फेर्न पनि पाइन्छ। सुटिङमा पनि आफूले सोचे अनुसारको अभिनय गर्न पाइयो। फरक दिन पाइयो। अरूका गीत गाउँदा यो सुविधा हुँदैन।
अरूका गीत गाउँदै नगाउने ?
बुबा, आमा र देशसँग सम्बन्धितबाहेक अन्य किसिमका अरूका गीत गाउँदै गाउन्नँ।
संगीतमा कसरी आइपुग्नुभयो ?
स्याङ्जा हो मेरो जन्मस्थान। गण्डकी, धौलागिरी, लुम्बिनी अञ्चल लोकसंगीतका खानी नै हुन्। त्यहाँ अग्रजका गीतहरू सुनिरहँदा म पनि यस्तै गाउन पाए हुन्थ्यो नि भन्ने कल्पना गर्थें। काठमाडौँ पढ्न भनेर २०५६ सालमा आएँ। त्यतिबेलासम्म गीत कसरी गाउने, सुरताल के हो, रेकर्डिङ कसरी हुन्छ भन्ने केही थाहा थिएन। पछि सिकेँ, दोहोरीमा गाएँ।
मेलापातमा गाउनुभएन ?
गाउँमा स्वस्थानीका बेला अलिअलि गाइन्थ्यो। म यहाँ आउँदा माइनसमा थिएँ। खासमा कलाकार बन्ने गुण त्यो बेला थिएन। तर, आँट चाहिँ थियो। त्यसपछि संगीत सिक्न थालेँ। संगीत सिकाउने लाक्पा शेर्पाले ठमेलमा त्रिवेणी दोहोरी साँझ खोल्नुभयो। उहाँले तिम्रो स्वर लोकदोहोरीमा सुहाउँछ भनेर लानुभयो। त्यो बेलामा महिनाको आठ सय तिर्नुपथ्र्यो सिकेको। दोहोरीबाट तीन हजार कमाइ हुने भयो। तर, त्यहाँ जाँदासम्म दोहोरी कसरी गाउनुपर्छ भनेर डर लाग्थ्यो।
कसरी जम्नुभयो त दोहोरीमा ?
दिउँसभरि कोठामा पिर मानेर बस्थेँ। केटीले ‘तेरो घर कहाँ ? भनी भने ‘नाम पशुपति, शर्मा हो थर मेरो, गण्डकी अञ्चल स्याङ्जा हो घर मेरो भन्छु भनेर दिमागमा खाका बनाएर जान्थेँ। दुई वर्षमा यति दुःख गरेछु कि गाउँदागाउँदै २०६० सालमा त राष्ट्रव्यापी लोकदोहोरी प्रतियोगितामा प्रथम भएँ। तर, दोहोरीमा गाउन थालेपछि पढाइ चाहिँ अलि बिग्रियो। घरबाट गाली खाएँ।
टर्चर भएपछि २०६३ सालमा अब गीतै गाउँदिनँ भनेर गाउनै छाडेँ। पढ्छु, लोकसेवा दिन्छु, सुब्बा वा अधिकृत हुन्छु भनेर लागेँ। त्यसको डेढ वर्षपछि मेरा समकालीन साथीहरूका गीत टीभीमा आउन थाले। त्यत्रो छ वर्ष दोहोरीमा दुःख गरियो, फस्ट भइयो, यसरी चटक्क छाडेँ भने त हराएँ जस्तो लाग्यो। केही गर्नुपर्छ भन्ने लाग्यो र २०६४ सालमा फेरि गायनमै फर्किएँ।
अहिले त घर–परिवार खुशी नै होलान् नि ?
पहिला कलाकारितामा पैसा थिएन। घरपरिवार कसरी चलाउला, श्रीमती, छोराछोरी कसरी पाल्ला भन्ने चिन्ताले पनि हो। अहिले चाहिँ मेला–महोत्सव, देशविदेश जाने गरेकाले घरपरिवार खुशी छ। पैसा पनि अलिअलि कमाए जस्तो मान्नुभएको छ।
गीतले तपाईंलाई आर्थिक प्रगति दियो, होइन ?
लक्ष्मी आइरहँदा असन्तुष्ट हुनु हुँदैन। सुरुमा गीत गाएर पैसा कमाइएला, यत्तिको देशविदेश घुमिएला भन्ने कल्पना गरिएकै थिएन। त्यो सबै गरेँ भनेपछि सोचेभन्दा पनि बढी भएको छ। त्यो हिसाबले खुशी छु।
पढाइ कहाँ पुर्याउनुभयो ?
सोसियोलोजीमा मास्टर्स गरेँ। अब नेपालीमा मास्टर्स गर्ने विचार छ।
लोकगीत कसरी संकलन गर्नुहुन्छ ? गाउँ–गाउँ जानुहुन्छ कि हुन्न ?
म गाउँमै हुर्किएकाले धेरै गाउँका कुरा आउँछन्, यहाँ बसेर लेख्दा पनि। बेला–बेला कार्यक्रममा जाँदा नयाँ कुरा टिपेर ल्याउँछु।
धेरै कलाकार विदेश पलायन भएका छन्। तपाईंको पनि त्यस्तो कुनै योजना त छैन नि ?
मेरो मनले कहिल्यै विदेश गएर बस भन्न सक्दैन। मलाई अहिले पनि कुनै देशबाट तीन महिना बस्नुपर्छ भनेर बोलाए भने ‘म सक्दिनँ, आउँदिनँ भन्छु। मैले तीन महिना बस्नको पिरले अमेरिकाको कार्यक्रम नै छाडेर आएको छु। देशबाहिर ४० दिनभन्दा बढी बस्नै सक्दिनँ।
केले तान्छ तपाईंलाई त्यसरी ?
खै के हो के ! अमेरिका गएर सुत्दा पनि घरमा हलो जोतेको, घाँस काटेको, कोदालो खनेको, चुहिने खरको छानामुनि सुतेको सपना देख्छु। अहिलेसम्म ठूलो घर बनाएको, करोडको गाडी चढेको सपना देखेकै छैन। कहिलेकाहीँ त लाग्छ मेरो कर्ममै त्यो छैन कि क्या हो।
गाउँ फर्किने विचार गर्नुभएको हो ?
श्रीमतीलाई फकाइरहेको छु। अलि वर्षपछि स्याङ्जामै गएर घर बनाउनुपर्छ, त्यहीँ बस्नुपर्छ भनेको छु। उनी पछि सोचुँला भन्छिन्। म जटिलतासँग अलि डराउँछु, गाउँको जिन्दगी सरल हुन्छ। सरल जिन्दगी खुशीले बाँच्ने विचार छ।