गीताले ल्याइन् प्रेम दिवस
काठमाडौं : पछिल्लो समय नेपालीमा पनि भ्यालेन्टाइन्स डेको प्रभाव बढ्दै गएको छ । यही प्रभावलाई ध्यानमा राख्दै प्रेम दिवसको पूर्वसन्ध्यामा गीतसंगीत तथा यससम्बन्धी चलचित्र, लघु चलचित्र आउन थालेका छन् । यस्तैमा साहित्यकार गीता खत्रीको कथामा लघु चलचित्र ‘प्रेम दिवस’ सार्वजनिक भएको छ ।
नेपाली साहित्य क्षेत्रमा थुप्रै रचना पाठकमाझ ल्याएकी अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) की पूर्वअध्यक्ष गीताले प्रेम दिवसको पूर्वसन्ध्यामा लघु चलचित्र ‘प्रेम दिवस’ ल्याएकी हुन् ।
भकारी एमडीसीको प्रस्तुति रहेको ‘प्रेम दिवस’ मा श्याम घिमिरे, नम्रता योगी, निशा पाख्रिन, जेएन घिमिरेलगायतका कलाकारको अभिनय रहेको छ । सञ्जय पाण्डेको निर्देशनमा तयार भएको ‘प्रेम दिवस’ लाई राजेन्द्र पाण्डेले छायांकन र सम्पादन गरेका हुन् ।
‘मायामा शंका हुन्छ स्वार्थ हुँदैन’ भन्ने प्रेमभाव समेटिएको ‘प्रेम दिवस’ मा राजु सिंहको संगीत र स्वरूपराज आचार्यको स्वर रहेको छ । ‘यसलाई पछि फिचर फिल्मकै रूपमा विकसित गर्ने सोच बनाएका छौं’, भकारी एमडीसीका सञ्चालक वसन्त बित्यासी थापाले भने ।