कुदिरहेको कारबाट हाम फाल्दा...
ताइवानकी एउटी महिला ६५ किलो मिटर प्रतिघण्टाभन्दा बढी वेगले कुदिरहेको कारबाट फाल हालेर पनि बचेकी छिन्। कार चलाइरहेका प्रेमीसँग विवाद भएपछि कारको ढोका खोले र उनले बाहिर फाल हालेकी हुन्। पछाडिबाट आइरहेको कारमा जडान गरेको क्यामेराले सो दृश्य कैद गरेको थियो।
अहिले सामाजिक सञ्जालतिर सो भिडियो भाइरल भइरहेको छ। वेगमा कुदिरहेको कारबाट फाल हाल्दा पनि ती महिलालाई सामान्य चोट मात्रै लागेको छ। ती महिला र उनका प्रेमीको नाम प्रहरीले खुलाएको छैन।विवादका क्रममा फाल हाल्न महिलाले ढोका खोल्ने प्रयत्न गर्दै गर्दा प्रेमीले बडो चलाखीका साथ उनको ज्यान जोगाएका थिए।
सडकको दाहिनेतिरको साइडमा कार कुदिरहेको थियो भने महिलाले देब्रेतिरको ढोका खोलेर हाम्फाल्न खोजेकी थिइन्। उनले त्यहीँ फाल हालेकी भए पछाडिबाट आइरहेका गाडीले उनलाई किच्ने पक्का थियो।
महिलाले ढोका खोल्दै गर्दा उनका प्रेमीले कार अझ वेगले चलाएर कारलाई सडकको दाहिने साइडतिर लगेका थिए। त्यसैले कारबाट फाल हाल्दा ती महिला सडकभन्दा बाहिर पछारिइन् र उनको ज्यान जोगियो। अस्पतालमा ती महिलाको उपचार भइरहेको छ।