रंगमञ्चमा फक्रिएको पिरती
‘साँचो प्रेम गर्नेका अगाडि सबै बाधा हार्छन्, अवरोध पन्छिन्छन्। अन्ततः प्रेमले सफलता पाउँछ' प्रेमसम्बन्धी यो आदर्श दर्शन नेपाली रंगञ्चमा संघर्षरत नाट्यकर्मीद्वय सञ्जिता पराजुली र सबिर चुरौटेको जीवनसँग मेल खान्छ।
फरक भूगोलमा जन्मिएका, फरक परिवेशमा हुर्किएका, फरक धर्म र संस्कृति भए तापनि दुईजनालाई एउटै अभिरुचिले भेट गरायो– रंगकर्म। रंगमञ्चमै नजिएका उनीहरू एकअर्काको प्रेममा परे।
बर्दिबास महोत्तरीका सबिर गाउँमा स्थानीय रेडियोमा काम गर्थे। त्यहाँ हुँदा उनले नाटक र नाट्यकर्मीबारे समाचार हेर्थे, पढ्थे र आफू पनि एक दिन त्यस्तै नाट्कर्मी बन्ने सपना देख्थे।
त्यही सपनाले उनलाई २०६९ मा काठमाडौँसम्म डोर्यायो। भविष्यको कुनै टुंगो नभएको, आयआर्जन नहुने नाटकमा लाग्न परिवारले अनुमति नदिने भएकाले भन्ने आँट नआएको सबिर बताउँछन्। ‘नाटकमा काम गर्छु भन्न सकिनँ,' उनी भन्छन्, ‘त्यसैले उपाय निकालेँ। आमाबुबालाई जापान जान्छु, त्यसका लागि भाषा सिक्छु भनेर काठमाडौँ आएँ।'
केही दिन जापानिज भाषा पढ्न पनि गए। इन्स्टिच्युटले पैसा मागेपछि त्यहाँ जान छाडे। पछि उनी बागबजारस्थित एउटा ट्रेनिङ सेन्टरमा अभिनय सिक्न गए। त्यहाँको सिकाइ चित्त नबुझेपछि मण्डला थिएटरमा अभिनय वर्कसपका लागि अडिसन दिए। तर, उनी छनोटमा परेनन्। पछि उनी अभिनय सिक्न ललितपुर, झम्सिखेलमा रहेको एक्टिङ स्टुडियोमा पुगे।
जहाँ उनले गुरुको रूपमा नेपाली रंगमञ्चमा ख्याति कमाएका व्यक्तित्व अनुप बराललाई भेटे। जापानिज भाषा सिक्न भनी घरबाट ल्याएको पैसा अभिनयका लागि तिरे। बिस्तारै, उनको रंगमञ्चको यात्रा अघि बढ्न थाल्यो। निम्न–मध्यम वर्गीय परिवारमा काठमाडौँमा जन्मिएकी सञ्जिता स्कूलताकादेखि नै अतिरिक्त क्रियाकलापमा सक्रिय थिइन्।
नाट्यकर्मीद्वय सञ्जिता पराजुली र सबिर चुरौटे ।
त्यही सक्रियता नाट्य क्षेत्रमा लाग्ने खुट्किलो भइदियो। ‘स्कूलका सांस्कृतिक कार्यक्रममा हुने सानातिना नाटकमा भाग लिन्थेँ,' उनी भन्छिन्, ‘स्कूल सकिएपछि गैरसरकारी संस्थाका सामाजिक कार्यक्रममा गरिने सडक नाटकको नेतृत्व गर्थे।' यही क्षेत्रमा लाग्ने र थप मेहनत गर्ने उद्देश्यले काठमाडौँ मलमा रहेको थिएटर मलमा छिरिन्। जहाँ उनले नाट्य कलालाई परिष्कृत गर्ने मौका पाइन्। साथै, माया गर्ने र दुःखसुखमा साथ दिने जीवनसाथीलाई पनि भेटिन्।
२०७१ सालको सुरुवाततिर थिएटर मलमा ‘बदरंग’ नाटकको सिलसिलामा सञ्जिता र सबिरको सामान्य चिनजान भयो। त्यसै वर्षको अन्त्यतिर मण्डला थिएटरमा प्रदर्शन गरिएको ‘मी एन्ड दी अदर' नाटकका लागि उनीहरूको भेट भयो। त्यस भेटले दुवैजनालाई नजिकिने वातावरण बनाइदियो। ‘त्यहाँ भएका अरू कलाकारसँग परिचित थिइनँ,' सञ्जिता भन्छिन्, ‘सबिरलाई मात्र चिन्थेँ।'
२०७२ साल, बैशाख १२ गते गएको भूकम्पले आफ्नो सम्बन्धलाई झन् गाढा बनाएको यो जोडी बताउँछ। ‘भूकम्पपछि आफन्त, साथीसंगी कस्को अवस्था कस्तो छ भनेर बुझ्थ्यो,’ सबिर भन्छन्, ‘फेसबुक, भाइबर, फोनमा बाक्लै कुराकानी हुन थाल्यो।’ ‘त्यसबेला एनटीसीले दिएको निःशुल्क म्यासेज सेवाको खूब सदुपयोग गरियो,’ सञ्जिता हाँस्दै भन्छिन्। मुखले नभने पनि दुवैको मनमा प्रेम अंकुरित भइसकेको थियो।
‘बदरंग’ नाटकको सिलसिलामा सञ्जिता र सबिरको सामान्य चिनजान भयो। त्यसै वर्षको अन्त्यतिर मण्डला थिएटरमा प्रदर्शन गरिएको ‘मी एन्ड दी अदर' नाटकका लागि उनीहरूको भेट भयो।
सबिर मुस्लिम थिए, सञ्जिता हिन्दू। धर्म प्रेममा बाधा बन्ने देखेपछि दुवैले भन्ने आँट गर्न सकेनन्। २०७२ माघ महिनामा नाटक प्रदर्शनका लागि भारतको कोलकाता जानुपर्यो। त्यसै क्रममा दुवैले आफ्नो प्रेम प्रकट गरे र यस विषयमा खुलेर कुराकानी गरे। ‘एकअर्काबाट टाढा बस्न गाह्रो भयो,' सबिर हाँस्दै भन्छन्, ‘के गर्ने भन्नेबारे दुई पक्षीय छलफल गर्दा परिवारलाई आफ्नो कुरा राख्ने र परिवारको समर्थन भए मात्रै बिहे गर्ने एक सूत्रीय निर्णय पारित गरियो।'
सबिरका आमाबुबाले उनीहरूको सम्बन्ध सहजै स्वीकारे। अब समस्या सञ्जितालाई थियो। आफ्नो बाह्मण परिवारले यो निर्णय स्वीकार गर्ने छैन भन्ने उनलाई लाग्थ्यो। निकै हिम्मत गरेर उनले आमाबुबालाई आफ्नो कुरा सुनाइन्। परिस्थिति सोचेभन्दा फरक निस्कियो। छोरीको निर्णय सुनेर आमाबुबा खुशी भए। ‘छोरीको खुशी नै हाम्रो खुशी भन्दै आमाबुबाले जात, धर्मको मतलब गर्नुभएन,’ उनी भन्छिन्।
मुस्लिम समुदाय महिलाको हकमा त्यति उदार मानिँदैन। तर, आफूले त्यस्तो कहिल्यै महसुस नगरेको सञ्जिता बताउँछिन्। ‘उहाँहरूको परिवारमा त्यस्तो केही छैन,' उनी भन्छिन्, ‘उदार र परिवर्तित समयलाई आत्मसात् गर्ने खालको हुनुहुन्छ।' धर्म र संस्कार मान्न दुवै परिवारबाट कुनै दबाब नभएको सबिर बताउँछन्। ‘म आफ्नो परम्परा मान्छु भन्नेलाई पनि छुट छ, मान्दिनँ भन्नेलाई पनि छुट छ,' उनी भन्छन्।
नाटकबाहेक फिल्म क्षेत्रमा पनि यो जोडीले पाइला अगाडि बढाइरहेको छ। सबिर सट मुभी निर्माणमा सक्रिय छन्। गत वर्ष रिलिज फिल्म ‘धनपति'मा उनको पनि अभिनय रहेको छ। सञ्जिताले पनि थुप्रै सट मुभीमा काम गरेकी छिन्। फिल्म ‘दुई रुपैयाँ’बाट उनले फिल्म यात्रा सुरु गरेकी हुन्। संघर्षको चरणमा रहेको यो जोडी मिलेर एकसाथ संघर्ष गर्ने र अभिनय क्षेत्रमै भविष्य बनाउने बताउँछ। ‘यसरी एउटै क्षेत्रमा काम गर्ने, एकअर्काको कुरा बुझ्ने जीवनसाथी पाउन मुश्किल छ,' सञ्जिता भन्छिन्, ‘मिलेर संघर्ष गर्ने हो र अभिनयमै भविष्य बनाउने हो।'