बुझिनसक्नु मरिस्काको जादु
मरिस्का पोखरेलको ‘के म तिम्रो होइन र, नराम्ररी फ्लप भयो। कहिलेकाहीँ फिल्म फ्लप भए पनि कलाकार हिट भइदिन्छन्, केकी अधिकारी जस्तो। तर, मरिस्काको मामलामा त्यस्तो पनि भएन।
उनको अभिनयमा पनि कसैले दम देखेन।लामो समय खाली रहेकी मरिस्कालाई बल्लबल्ल ‘लम्फू'ले दोहोर्यायो। तर, पछिल्लो समय मरिस्का प्रियंका कार्कीझैँ व्यस्त छिन्। उनका हातमा अहिले यति फिल्म छन् कि उनलाई सुटिङको समय मिलाउन धौधौ छ।
मरिस्काले हालसालै ‘मिस्टर भर्जिन, फिल्मको सुटिङ सकाएकी थिइन्। तर, यसको सुटिङ सकाएर राम्ररी आराम गर्न पाएकी थिइनन्, ‘साली कस्को भेनाको' मा आबद्ध भइन्। हाल यो फिल्मको सुटिङ धम्पुसमा भइरहेको छ।
तर, यो फिल्मको सुटिङ सकाउनेबित्तिकै उनी प्युठानमा हुन लागेको अर्को फिल्मको सुटिङमा व्यस्त हुँदैछिन्। यही समयमा मरिस्काका ‘शिरफूल' र ‘लम्फू' प्रदर्शन हुन लागेका छन्। न उत्पात सौन्दर्य न बित्पात अभिनय, तर पनि मरिस्काको जादु बुझिनसक्नु छ। हातभरि फिल्मै फिल्म !