हिउँ छिचोल्दै म्याराथन

हिउँ छिचोल्दै म्याराथन

ताप्लेजुङ : तीन हजार सात सय ९४ मिटर उचाइमा रहेको पाथीभरा मन्दिर हिउँले सेताम्य छ। वरिपरि रहेका कञ्चनजंघा र कुम्भकर्ण हिमालसँगै दर्जनौं हिमाल आँखैमा टल्कन्छन्। तीन दिनदेखि मौसम धुम्मिएको हुँदा पाथीभराभन्दा तीन सय मिटर तल रहेको माथिल्लो फेदीसम्मकै बाटोमा हिउँ जमेको छ। यही हिउँको बाटो छिचोल्दै म्याराथन धावकहरू बिहीबार दौडने तयारीमा छन्।

२०६५ सालदेखि चार वर्ष सञ्चालन भएर स्थगित भएको हिमालयन गाइड्स पाथीभरा म्याराथनमा योपटक पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त धावकहरूले सहभागिता जनाउँदैछन्। नेपाली सेनाका तत्कालीन सेनानी कृष्ण भण्डारीको पहलमा २०६५ सालमा पहिलोपल्ट पाथीभरा म्याराथन भएको थियो।

एक हजार आड सय २४ मिटर उचाइको फुङ्लिङबाट पाथीभरा मन्दिरसम्म ४७ किलोमिटर दूरीमा प्रतियोगिता सञ्चालन हुँदै आएको छ। प्रतियोगिताको पहिलो संस्करणको विजेता नेपाल आर्मीका राजेन्द्र भण्डारी हुन्। उनले चार घन्टा १७ मिनेटमा दौड पूरा गरेका थिए। २०६६ मा भएको दोस्रो संस्करणमा चार घन्टा १२ मिनेटमा दौड पूरा गर्दै आर्मीकै समीर तामाङ प्रथम भएका थिए।

तेस्रोपटक पनि समीर विजेता बने। २०६७ सालमा भएको तेस्रो संकरणमा सोही दूरी पार गर्न उनले तीन घन्टा ४९ मिनेट ३३ सेकेन्ड लगाएका थिए। त्यसपछि एक वर्ष बिराएर २०६९ सालमा मात्र प्रतियोगिता सञ्चालन गरियो। सो वर्ष आर्मीकै वेदबहादुर सुनुवार प्रथम भए। सुनुवारले चार घन्टा २२ मिनेटमा दौड पूरा गरेका थिए।

पाथीभरा देवी मन्दिर संरक्षण तथा सम्वद्र्धन समिति, पाथीभरा क्षेत्र विकास समिति र नेपाली सेनाले म्याराथनको आयोजना संयुक्त रूपमा गर्दै आएका छन्। पाथीभराको विकासका लागि काम गर्ने दुईवटा समितिको आन्तरिक समस्याका कारण त्यसयता हुन नसकेको प्रतियोगिता चार वर्षपछि हुन लागेको हो। यस वर्ष पनि अघिल्लो पटकका विजेता वेदबहादुर सुनुवार दौडँदै छन्।

पहिलेको नतिजामा सुधार ल्याउने उद्देश्यसहित यसपटक तयारी गरेको सुनुवार बताउँछन्। ‘पहिलो पटक सहभागी हुँदा तीन घन्टा ५१ मिनेटमा पार गरेको थिएँ, दोस्रो चोटि विजेता बने पनि नतिजामा सुधार ल्याउन सकिनँ। यसपटक सुधार गर्ने अठोटसहित प्रतियोगितामा दौडँदै छु’, सुनुवारले भने। देशको प्रख्यात एभरेस्ट म्याराथनको गत दुई संस्करणको उनी विजेता पनि हुन्।

स्थानीय र आयोजकले धावकलाई गर्ने आतिथ्यता र सम्मानका हिसाबले नेपालकै उत्कृष्ट म्याराथनको रूपमा सुनुवारले पाथीभरा म्याराथनलाई लिएका छन्। २०६६ सालमा उपविजेता भएका आर्मीका तीर्थ तामाङ योपटक पनि सहभागी हुँदैछन्।

पहिलेभन्दा बाटो धेरै सजिलो भएको म्याराथन उपसमितिका संयोजक यिगेन्द्रकुमार गुरुङले बताए। ‘दूरी उही भए पनि बाटो सजिलो भएको छ’, गुरुङले भने। फुङ्लिङ बजारस्थित नयाँ रणभीम गुल्मको प्रांगणदेखि सुरु हुने दौड वीरेन्द्रचोक, बुद्धचोक हुँदै सडकैसडक मेची राजमार्गको अन्तिम बिन्दु सुकेटार पुग्ने गुरुङले बताए। त्यहाँबाट देउराली, तेर्से, भालुगौंडे, फेदी हुँदै पाथीभरा मन्दिर पुगेर सोही रुटबाट फर्कनुपर्नेछ।

बीचबीचमा सहजीकरण र व्यवस्थापनका लागि ८० जनाभन्दा बढी स्वयंसेवक खटिने संयोजक गुरुङले बताए। महिलातर्फको हाफ म्याराथन प्रतियोगिता पनि आयोजना गरिएको छ। खुला म्याराथनकै प्रस्थान बिन्दुबाट एउटै रुट हुँदै भालुगौंडेसम्म हाफ म्याराथन सञ्चालन हुनेछ। भालुगौंडेको उचाइ दुई हजार आठ सय ४० मिटर छ।

म्याराथनको खुलातर्फका विजेताले एक लाख ५१ हजार एक सय ११ तथा उपविजेताले एक लाख ११ हजार एक सय ११ नगद र महिलातर्फ विजेता र उपविजेताले क्रमशः ८१ हजार र ५१ हजार नगद प्राप्त गर्नेछन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.