नेपाललाई युएईले दियो २७८ रनको चुनौती
काठमाडौँः नामिबियामा जारी आईसीसी विश्व क्रिकेट लिग डिभिजन–२ अन्तरगतको अन्तिम खेलमा नेपालले युएईबाट २७८ रनको चुनौती पाएको छ ।
टस जितेर पहिले ब्याटिङ रोजेको युएईले ४ विकेटको क्षतिमा पुरै ५० ओभर खेल्दै २७७ रन बनाएपछि नेपालले कठिन लक्ष्य पाएको हो ।
युएईका लागि गतिलो स्कोरमा पुर्याउने क्रममा अस्फाक अहमदले १२३ बलको सामना गर्दै ११४ रनको विस्फोटक पारी खेले । त्यसपछि कप्तान रोहन मुस्ताफाले अर्धशतकीय पारी खेल्दै ७४ बलमा ५१ रन बनाउन सफल भए ।
नटआउट रहेका रमिज सहजादले ४६ बलमा ४१ रनको पारी खेले । त्यसैगरी शाहीमान अनवरले २४ बलमा ४० रनको विस्फोटक पारी खेले ।
नेपालका लागि सोमपाल कामी, सन्दीप लामिछाने र बसन्त रेग्मीले समान १/१ विकेट लिन सफल भए । नेपालले बुधबार भएको क्यानडाविरुद्धको खेलमा अन्तिम बलमा जित निकाल्दै डिभिज १ मा बढुवा र विश्वकप छनोट खेलमा स्थान पक्का गरिसकेको छ ।