नानीबाबुसँग डा. भोला रिजालका मनका कुरा

 नानीबाबुसँग डा. भोला रिजालका मनका कुरा

म पब्लिक हाइस्कुल धरानमा भर्ना हुनुअघि २०१४ सालमा इटहरीमा ठूलो आगलागी भएको थियो।खरका झुप्राहरूमा लागेको आगोले धेरैलाई सडकमा ल्यायो।त्यहाँ घाइतेलाई सहयोग गर्ने मलमपट्टी गर्ने काममा अरूसँगै म पनि खटेको थिएँ।अरू सबै घर फर्किएछन् तर म रातभर त्यतै रहेछु।एउटा १० वर्षको बच्चाले गरेको सहयोग भनेर धेरैले मेरो प्रशंसा गरे।उनीहरूले मलाई ‘छोटे डाक्टर’को उपनाम पनि भिराइहाले।

यस घटनाले मलाई ठूलो प्रभाव पार्‍यो।सबैले माया गरेको, गुणगान गाएको, चक्लेट किनेर दिएको देखेर म प्रफुल्लित भएँ।सेवाभाव सबैले मन पराउँदा रहेछन् भन्ने कुरा त्यति बेलै थाहा पाएँ।उति बेलै भविष्यमा डाक्टर हुन्छु र अरूको सेवा गर्छु भन्ने इच्छा सुरु भयो।

मलाई ससाना भाइबहिनीले सधैं तपाईं कसरी डा. रिजाल बन्नुभयो भनेर सोधिरहन्छन्।म २००४ साल कात्तिक १४ गते धरानमा जन्मिएँ।हाम्रो रिजाल परिवारको इतिहास ध्रुवलाल रिजालबाट सुरु हुन्छ।विराटनगरमा कृष्णप्रसाद कोइरालाले जस्तै धरानमा उहाँले शिक्षा विकासमा ठूलो योगदान गर्नुभयो।उहाँ धनकुटाको उर्वर बिर्ता छाडेर आफ्ना सन्तानलाई शिक्षा दिलाउनकै लागि धरान झर्नुभएको थियो।धरानको महेन्द्र कलेजका संस्थापक प्रिन्सिपल ध्रुवलालकै जन्तरे छोरा महाप्रसाद हुनुहुन्छ।

मलाई सानैदेखि धु्रुवलालकै बाटोमा कसरी हिँड्ने भन्ने लागिरहन्थ्यो।जुनसुकै विषय पढे पनि मेहनतको विकल्प नहुने रहेछ।मेहनत र अनुभवले नै प्रगतिको पथमा हिँडाउँदो रहेछ।शिखर चुम्न सजिलो पार्दो रहेछ।

हामीले सधैं अरूका लागि जन्मेको र अरूकै लागि बाँचेको हो भन्ने कुरा भुल्नु हुँदैन।

भाइबहिनीले पढाइका अतिरिक्त कला, साहित्य, संगीत, संस्कृतिको क्षेत्रमा पनि ध्यान दिनैपर्छ।जनचेतना जगाउने खालका कार्यक्रममा भाग लिनुपर्छ।यसले सामाजिक क्षेत्रमा काम गर्ने प्रेरणा पनि दिन्छ।तिमीहरू देशका भोलिका कर्णधार हौ।भोलिका डाक्टर, इन्जिनियर, शिक्षक, नेता, अभिनेता, साहित्यकार, न्यायाधीश, पत्रकार, सुरक्षाकर्मी तिमीहरू नै हौ।त्यसैले तिमीहरूमा सानैदेखि अरूको हित र राष्ट्रप्रेमको भावना आवश्यक हुन्छ।हामीले सधैं अरूका लागि जन्मेको र अरूकै लागि बाँचेको हो भन्ने कुरा भुल्नु हुँदैन।

भाइबहिनीलाई दुःख लाग्ला ! पढाइलाई बिर्सेर मोबाइल, ल्यापटपमा झुम्मिने बानीले कहिल्यै फाइदा गर्दैन।यसले बालबालिकाको आँखा, मुटु र मस्तिष्कमा नराम्रो असर पारिरहेको हुन्छ।जब मान्छे काम छाडेर यसको लतमा लाग्छ, आफ्नो बाटोमा फर्किन गाह्रो हुन्छ।प्रविधिसँग अपडेट भने भइरहनुपर्छ।तिमीहरूको उमेर गिलो माटोजस्तै हो।त्यसैले अभिभावक र शिक्षकको सुझाव र सल्लाह सधैं सुन्ने गर्नुपर्छ।

अर्को एउटा रमाइलो कुरा के छ भने कक्षा ६ देखि १० सम्म पढुन्जेल मैले कापी र कलम किन्नु परेन।त्यति बेला साप्ताहिक रूपमा कक्षामा र मासिक रूपमा विद्यालयमा कार्यक्रम हुन्थे।त्यहाँ मेरो उपस्थिति टुट्दैनथ्यो।लेखन, गायन, कविता वाचन आदिमा मैले भाग लिएकै हुन्थँे।मैलै पाएका पुरस्कार साथीहरूलाई पनि दिन्थेँ।

त्यस बेला हामी अति मिलनसार थियौं।हामीसँग भएको एकेक आना पैसाले खाजा किनेर बाँडीचुँडी खान्थ्यौं।बनारसमा पढ्दा पनि साथीहरूसँगको सहकार्य बढेर गयो।त्यहाँ हामीले दुईवटा ठूला कार्यक्रम गरेका थियौं।विराटनगरमा हामीले स्थापना गरेको ‘हिमकला मन्दिर’ले मेरो क्षमता विकासमा ठूलो सहयोग गर्‍यो।त्यहाँ मेरो बोल्ने बानीको मात्र विकास भएन, सोच्ने र लेख्ने कलाको पनि विकास भयो।

यसलाई मैले पछि ढाकामा डाक्टरी पढ्न गएपछि पनि निरन्तरता दिइरहेँ।त्यहाँ सन् १९६९ मा रेडियो पाकिस्तानको नेपाली कार्यक्रमअन्तर्गत समाचार वाचक र कार्यक्रम उत्पादकका रूपमा मैले सात वर्ष काम गर्ने अवसर पाएँ।

हामीले सिक्नुपर्ने र जान्नुपर्ने कुरामा दत्तचित्त भएर लाग्यौं भने त्यसले जीवनभर काम दिँदो रहेछ।भाइबहिनीलाई मेरो के सल्लाह छ भने हरेक काममा मेहनत गर्नैपर्छ, दक्षता हासिल गर्नैपर्छ।

अनुभवले मान्छेलाई जीवन्त बनाउँछ।अरूको कुभलो नचिताई अघि बढ्न सके जीवनमा कहिल्यै पछुताउनु पर्दैन।२०७२ सालमा विनाशकारी भुइँचालो आएको आधा घन्टामै म ओम अस्पताल पुगेँ।एकैछिनमा साततलेबाट घाइतेहरू ल्याइपुर्‍याए।त्यति बेला मलाई अरूको सेवा गर्न पाएकोमा सन्तोष लाग्यो।जो अर्काको सेवा गर्नबाट भाग्छ, त्यसको जीवन निरर्थक हुन्छ।

हिजोआज हरेक क्षेत्रमा पश्चिमा सभ्यता र संस्कृतिको प्रभाव छ।हामी पूर्वीय सभ्यताका मान्छे हौं।पूूर्वीय सभ्यता संसारकै विशिष्ट सभ्यता मानिन्छ।यसैको सिको गरेर राम्रा पक्षको अनुसरण गरेर पश्चिमा जगत्ले ठूलो फड्को मारेको छ।हामी आफ्नो सभ्यतामा भन्दा अरूको नक्कल गर्नमा पोख्त छौं।हामीले हाम्रा मौलिक परम्परा, चाडपर्व, भाषा, संस्कृतिको जर्गेना गर्नुपर्छ।यी हाम्रा सम्पत्ति हुन्।

कतिपय अभिभावकको चाहना आफ्ना छोराछोरीले अंग्रेजी मात्र बोलिदिऊन् भन्ने हुन्छ।तर, अघिल्लो पुस्ताका हजुरबुवा हजुरआमासँग अंग्रेजीमा कुराकानी हुन सक्दैन।आफ्ना नानीबाबुले बोलेको नबुझ्दा उहाँहरूको मन कति कुँडिएको होला ? यहाँ मैले अरू भाषा सिक्नै हुँदैन, जान्नै हुँदैन भनेको हुँदै होइन।हामीले मातृभाषा भने सिक्नैपर्छ भन्ने कुरातर्फ संकेत गरेको हुँ।

मेरो विचारमा जीवन माया-घृणा, दुःख-सुख अनि जन्म-मृृत्युको संगम हो।यो भगवान्को सृष्टिकै उच्च कोटीको वरदान पनि हो।जसले अर्काको कुभलो गर्नमै समय खर्चिन्छ, परोपकारमा समय दिँदैन उसका लागि जीवन कष्टकर हुन्छ।जब मान्छे हरबखत सेवा गर्न तत्पर हुन्छ, उसका लागि स्वर्ग पनि यहीँ छ।

(वरिष्ठ डाक्टर रिजालसँग समीरबाबु कट्टेलले गरेको कुराकानीमा आधारित।)


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.