विश्वकप छनोट : नेपाल भर्सेस जिम्बाब्बे
काठमाडौं : आर्इसीसी विश्वकप छनोट अन्तरगत नेपाल र जिम्बाब्बेबीचको आजको खेलमा दुवै टोलीका दुई खेलाडीको प्रदर्शन कस्तो रहन्छ भन्ने कुराले आजको खेलको नजिता प्रभाव पार्ने अनुमान गरिएको छ । जिम्बाब्बेको मुख्य आशा आक्रामक ब्याट्सम्यान ब्रेन्डन टेलरमा छ भने नेपालको मुख्य आशा युवा लेग स्पीनर सन्दीप लामिछाने माथि रहेको छ ।
ब्रेन्डन टेलर (जिम्बाब्वे)
विकेटकिपर ब्याट्सम्यान टेलर जिम्बाब्वेका मुख्य खेलाडी हुन् । केही समय टोलीबाट बाहिर रहेका टेलर टोलीमा फर्किएपछि पुनः फर्ममा देखिएका छन् । टेलरले झन्डै महिना दिनअघि मात्रै सारजहामा भएको अफगानिस्तानविरुद्धको खेलमा एक सय २५ रनको शतक प्रहार गरेका थिए । त्यसैले आइतबारको खेलमा उनलाई रोक्नु नेपाली टोलीका लागि चुनौती हुनेछ ।
सन्दीप लामिछाने (नेपाल)
सन्दीप पछिल्लो केही प्रतियोगितामा नेपाली टोलीका महत्वपुर्ण खेलाडी रहँदै आइरहेका छन् । हालै सम्पन्न डिभिजन दुईमा समेत उनी सर्वाधिक विकेट लिने खेलाडीसहित प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी चुनिएका थिए । हालै इन्डियन प्रिमियर लिग र क्यारेबियन प्रिमियर लिगमा समेत छनोट भएका लेग स्पिनर सन्दीपले विश्वकप छनोट प्रतियोगितामा पनि उत्कृष्ट प्रदर्शन गर्ने अपेक्षा गरिएको छ।