कथा टुथपेस्टको
हामीले केही खाँदा त्यसलाई टुक्र्याउन दाँतले ठूलो भूमिका खेलेको हुन्छ। यदि दाँत सफा गरिएन भने त्यहाँ कीराले दुःख दिन सक्छ। अतः हामीले बिहान–बेलुका खाना खाएपछि दाँत माझ्नु जरुरी हुन्छ। यसो गर्दा दाँत बलियो हुनुको साथै मुसुक्क हाँस्दा पनि राम्रो देखिन्छ।
दाँत माझ्दा प्रयोग गर्ने टुथपेस्टको बारेमा धेरैलाई थाहा नहुन सक्छ। आजको टुथपेस्ट के कसरी तयार गरिएको थियो र त्यसलाई प्रयोग गर्नुभन्दा पहिलो के कस्तो विधि अपनाइएका थिए। यस विषयमा पक्कै पनि तिमीहरूलाई जिज्ञासा लागेको होला। हो, यसै टुथपेस्टको बारेमा केही जानकारी लिऔं।
परापूर्वकालमा दाँत सफा राख्नका लागि यस्ता चिजहरूको सल्लाह दिइएको थियो भन्ने सुन्दा तिमीहरूलाई अनौठो लाग्न सक्छ ?
हिप्पोक्रेट्सले दाँत माझ्नका लागि खरायोको जलाइएको खोपडी र मुसालाई जलाएको चूर्ण (धुलो) को प्रयोग गर्ने सल्लाह दिएका थिए। अन्डाको जलाइएको बोक्राको चूर्णलाई पनि दाँत माझ्न लाभदायक बताइएको पाइन्छ। गँगटोको आँखाको चूर्ण, चमेरोको मल, फलाममा लागेको खियाबाट दाँत माझ्नाले दाँत सफा र चम्किलो हुने मान्यता थियो।
माथि बताइएका दाँत माझ्ने चिजहरूको प्रयोग गर्न प्राचीन युनान र रोमका मानिसले कपडाका टुक्राको प्रयोग गर्ने गर्दथे। किनभने त्यसबेला टुथब्रसको आविष्कार नै भएको थिएन। त्यतिबेला दाँत माझ्नुको उद्देश्य यसलाई स्वस्थ राख्न नभई सफा र चम्किलो पार्नु मात्र थियो। विशेषगरी यो उपाय पुरुषले मात्र प्रयोग गर्ने गर्थे। किनभने पुरुषले आफ्नो दाँत सफा र टलक्क टल्केको देखेर केटीहरू आफूतिर चाँडै आकर्षित हुने विश्वासमा यस्तो गर्ने गर्दथे। मानिसको यस्तो पुरानो कमजोरीलाई आजसम्म पनि टुथपेस्टको विज्ञापनमा फाइदा उठाउने गरेको पाइन्छ।
विश्व प्रसिद्ध वैज्ञानिक लुई पास्चरले जीवाणु (ब्याक्टेरिया) को खोजी गरेका थिए। मानिसको दाँत जीवाणुहरूका कारण बिग्रने र सड्ने हुन्छ। त्यसैले दाँतलाई सफा र चम्किलोमात्र होइन यी जीवाणुहरूबाट समेत बचाउन जरुरी भएको निष्कर्ष निकालिएको थियो।
सन् १८०६ मा साबुन र मैनबत्ती उत्पादन गर्ने व्यापारी विलियम कोलगेटले न्युयोर्कको डच स्ट्रिटमा पहिलो व्यापारिक कम्पनी कोलगेट एन्ड कम्पनीको स्थापना गरे। सन् १८३३ मा हृदयाघातका कारण विलियम कोलगेटको व्यापारमा कमी आयो। सन् १८५७ मा विलियम कोलगेटको मृत्युपश्चात उनको छोरा स्मामुएल कोलगेटले सो कम्पनी सम्हाले। सन् १८७३ मा उनले आधुनिक टुथपेस्टको सुरुवात गरे।
कोलगेट टुथपेस्टको नाममा बास्नादार टुथपेस्ट सिसीमा राखेर उत्पादन सुरु भयो। आजभोलि पनि बजारमा कोलगेट नामको टुथपेस्ट किन्न पाइन्छ। सुरुमा बनाउने टुथपेस्टमा यस्ता चिजहरू मिलाउने गरिन्थ्यो कि जसको फाइदा कम र हानि बढी हुने गथ्र्यो। उदाहरणका लागि हेक्साक्लोरिफिन नामक रासायनिक पदार्थ यसमा मिलाइन्थ्यो, जसले बालबालिकालाई बढी असर पुर्याउँथ्यो।
यसका साथसाथै बास्नाको लागि क्लोरोफार्म र हल्का मिठासपनको लागि साइक्लामेन्टको प्रयोग गर्ने गरिन्थ्यो। यी दुवै रसायनले क्यान्सर उत्पन्न गर्न मद्दत पुर्याउँछ भन्ने प्रमाणित भइसकेको छ। साथै टुथपेस्ट जुन ट्युबमा राखिन्छ, त्यो सिसाको लिडबाट बनेको हुन्थ्यो। जसले विस्तारै सिसाका कणहरू टुथपेस्टमा घोलेर हाम्रो शरीरमा प्रवेश गथ्र्यो।
वैज्ञानिकहरूले टुथपेस्टमा प्रयोग हुने गरेको रसायनहरूले पार्ने नकारात्मक प्रभावको बारेमा पत्ता लगाए पनि नयाँ रसायनहरूको प्रयोग भने सधैं गर्दै आइएको छ। तर आजभोलि मानिसको स्वास्थ्यलाई मध्यनजर गर्दै टुथपेस्टहरूमा पहिले जस्ता हानिकारक रसायनहरू कमै प्रयोग हुन्छ र स्वस्थ्यमा असर नपुर्याउने खालका उत्पादनहरू बजारमा आएको छ।
अचेल विभिन्न बास्नादारलगायत जडीबुटीयुक्त टुथपेस्ट पनि उपलब्ध छन्। यसले हाम्रो दाँत र गिजालाई बलियो बनाउनुको साथै ताजापन कायम राख्न पनि मद्दत पुर्याउँछ।