कन्दमुलले धानिएको परिवार

 कन्दमुलले धानिएको परिवार

 

भरतपुर : कालिका नगरपालिका-८ अजिंगरेका बुद्धिबहादुर चेपाङले आठ÷नौ वर्षको उमेरमै देब्रे खुट्टाको पैताला गुमाए। घरमा खाने अन्न नभएपछि वन तरूल खन्ने क्रममा ढुंगा खसेर खुट्टामा बजारिएपछि उनी अपांग हुन पुगे। अहिले उनको खुट्टाको टेक्ने भाग पैताला नै छैन। उपचारको लागि भरतपुर हुँदै काठमाडौँसम्म पुगे। ढुंगाले लागेर छियाछिया भएको खुट्टा निको भए पनि डाक्टरले पछि क्यान्सर हुन सक्छ, घुँडाभन्दा तलको भाग पुरै काटेर काटेर फाले त्यो समस्या नआउन सक्छ भनेपछि उनी पैतालासम्म काट्न राजी भए। दिनभरी जंगल गएर कन्दमुल खोजेर साँझ बिहानको छाक टार्न बाध्य चेपाङको परिवारमा बुद्धिबहादुरको यो घटनापछि ठूलो बज्रपात नै पर्‍यो। जहाँ अहिले पनि जंगली कन्दमुलकै भरमा बाँच्नुपरेको छ।

त्यतिबेला खुट्टा काटेर घर फर्किए पनि आर्थिक अभावकै कारण उनले पूर्ण उपचार भने पाउन सकेनन्। पूर्ण उपचार नपाएका उनको अहिले पनि घाउ बल्झिरहन्छ। कुर्कुच्चाको भागले मात्रै टेक्दा बढी दुख्ने भएपछि उनले आफैँ उपाय लगाएर ग्याविङ तारको जुत्ता बनाएर सामान्य हिँडडुल गर्न सक्ने बनेका छन्। पुरानो कपडा र चप्पल काटेर बनाइएको उनको जुत्तामा करिब दुई किलो जति फलामको तारले बाँधेको छ। पटकपटक बनाइरहनु नपर्ने भएकोले फलामको तारले बाँधेर खुट्टा अड्याउने बाटो गरिएको उनले बताए। उनको यो घटनापछि देशमा धेरै सरकार फेरिए। तर, उनको अवस्था अझै फेरिएन।

‘घाउ पाकेर दुःख दिएपछि धेरै पटक स्वास्थ्य चौकी धाएँ,’ उनले भने, ‘स्वास्थ्य चौकीको औषधिले छुँदैछुँदैन। ठूलो अस्पताल जान सकिँदैन। दुखाई सहेर बस्नुपरेको छ।’ उनलाई आफ्नोभन्दा पनि बढी चिन्ता त परिवारको छ। घरमा श्रीमती र तीन भाइ छोरा छन्। श्रीमती सुन्तलीमाया पनि बौद्धिक अपांग भएको लामो समय भइसक्यो। उनी सधैँ आफ्नै सुरमा हुन्छिन्। ‘म आफैँ अपांग छु, काम गर्न सक्दिन। बुढीको हालत त्यस्तो छ,’ उनले आफ्नो पीडा सुनाए। सुन्तलीमायालाई केही मेसो छैन। उनी आफ्नै सुरमा हाँसिरहन्छिन्।

आफ्नो नाममा जग्गा जमिन नभए पनि जनता आवास कार्यक्रमले बनाइदिएको सानो टहरोमा बस्दै आएको यो परिवारले वर्षको छ महिना अनिकाल त खेप्दै आएको छ। तर, घरकै मुख्य व्यक्ति नै अपांग भएपछि यो परिवारको हालत कस्तो होला ? त्यसैले बुद्धिबहादुरलाई खुट्टा राम्रोसँग निको पार्न पाए दुःख गरेरै भएपनि केटाकेटीलाई राम्रोसँग लालनपालन गर्न सकिन्थ्यो कि भन्ने लागेको छ।

घरमा दुवै जना अपांगता भए पनि सरकारले दिँदै आएको अपांगता भत्ताबाट अझै बञ्चित छन्। ‘सरकारले दिने सुविधा पाए सामान्य घर खर्च चल्ने थियो,’ उनले भने, ‘भत्ता माग्न जाँदा तपाइँजस्ता अपांग भएका व्यक्ति त कति छन् कति भन्नुहुन्छ।’ सम्बन्धित तहमा भनसुन गर्ने पहुँच नभएकैले सरकारले दिने गरेको सेवा सुविधाबाट पनि बञ्चित हुनु परेको बताउँछन्, चेपाङ अभियान्ता केपीकिरण शर्मा। ‘दुवैजनाले पाउनुपर्ने सरकारी सेवाबाट बञ्चित गराउन नहुने उनको भनाइ छ।

‘राज्यले बुद्धिबहादुर चेपाङ जस्तै परिवारको पीडा त बुझन सक्दैनन् भने अरूको के आशा गर्ने,’ उनले भने, ‘त्यसैले बुद्धिबहादुर चेपाङले सरकारी सुविधा र खुट्टाको उपचार मात्रै पाउन सके पनि यो परिवारलाई ठूलो राहत हुने थियो। तर, उहाँहरूको पीडा कस्ले देख्ने ? ’ देशको राजनीतिले कोल्टे फेरिसक्दा पनि गरिबी र अभावमा छट्पटाइरहेकाहरूको पीडा भने जस्ताको त्यस्तै रहेको उनको भनाइ छ।

नगरपालिका भए पनि यहाँका गरिब चेपाङ समदायको लागि केही फरक भएको छैन। ‘नगरपालिका भयो भन्ने मात्रै हो,’ छिमेकी कुमार चेपाङ भन्छन्, ‘हामीलाई त गाविस हुँदा जस्तो थियो, अहिले पनि उस्तै छ।’ स्थानीय सरकार आइसकेपछि यहाँको अवस्थाबारे जनप्रतिनिधिहरू जानकार छन्। ‘तर, थाहा पाएर पनि नपाए झैँ गर्छन्,’ उनले भने।

 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.