नेपाली खाना सन्तुलित खाना
तिमीहरू प्रविधिको युगमा छौ । यसबारे जानकार हुनै पर्छ । दिनानुदिन भित्रिने नयाँ प्रविधिका सामग्रीले हाम्रो स्वास्थ्यमा उत्तिकै असर गरिरहेका हुन्छन् । घन्टौंसम्म मोबाइल, कम्प्युटर चलाएर बस्ने बानी राम्रो हुँदै होइन । यसले तिमीहरूको मस्तिष्क विकासमा प्रत्यक्ष असर गर्छ । साथै डिप्रेसनको समस्या पनि बढाएको छ ।
सानै उमेरमा हुने धेरैजसो आत्महत्याका कारण प्रविधिको दुरुपयोग देखिन थालेको छ । यसको लत लागेपछि टाढा रहन गाह्रो हुने गरेको विभिन्न देशीविदेशी अध्ययनले देखाएका छन् । यसकारण सानैदेखि यस्ता कुराबाट टाढा रहनुपर्छ । यहाँ मैले यसलाई छुनै हुँदैन भनेको होइन नि ! सचेत मात्र गराएकी हुँ ।
हाम्रा कतिपय अभिभावक मेरो बच्चा यति सानैमा मोबाइल चलाउँछ, भिडियो आफैं खोल्ने भइसक्यो, फोटो खोज्न जान्दछ भनेर गर्व गर्नुहुन्छ । ती अबोध बालबालिकाको स्वास्थ्यमा कति असर परिरहेको छ भन्ने कुरा उहाँहरूलाई थाहा हुँदैन । यसले स्मरण क्षमतामा ह्रास ल्याउँछ । सिकाइ क्षमता घटाउँछ । यसकै कारण सानै उमेरमा आँखाको समस्या विकराल बन्दै गएको छ ।
हाम्रा कतिपय अभिभावक मेरो बच्चा यति सानैमा मोबाइल चलाउँछ, भिडियो आफैं खोल्ने भइसक्यो, फोटो खोज्न जान्दछ भनेर गर्व गर्नुहुन्छ । ती अबोध बालबालिकाको स्वास्थ्यमा कति असर परिरहेको छ भन्ने कुरा उहाँहरूलाई थाहा हुँदैन ।
अझै गर्भवती महिलाले समेत यस्ता विकिरण उत्पन्न हुने सामग्रीसँग टाढै रहनु पर्छ । भाइबहिनीलाई मेरो के सुझाव छ भने तिमीहरूले जानेका कुरा अभिभावकलाई पनि बताउनुपर्छ । आफूभन्दा अति साना भाइबहिनीलाई मोबाइल, ट्याब, ल्यापटपजस्ता सामग्रीबाट टाढा राख्नुपर्छ ।
त्यस्तै, तिम्रा अभिभावकलाई छातीमा र गोजीमा मोबाइल बोक्न नहुने कुरा पनि सम्झाउन नबिर्सिनु है । सुत्दा ओछ्यानमै मोबाइल राख्ने बानी पनि राम्रो होइन । यसबाट हुने असर कम गर्न एयरफोनको प्रयोग गर्न पनि सकिन्छ । तर कानमा एयरफोन लगाएर हिँड्डा दुर्घटना पनि हुने गरेका छन् नि !
तिमीहरूलाई जंक फुड र फास्ट फुड कत्तिको मन पर्छ ? त्यस्ता वर्षौंदेखि प्याक गरेर राखिएका, जिबै्रमा स्वाद झुन्डिने चकलेट, चिजबल, चाउचाउ, दालमोठ, भुजिया आदिले तिमीहरूको हरेक अंगप्रत्यंगको विकासमा नकारात्मक असर पारेको हुन्छ । यस्ता खाद्य पदार्थ पौष्टिक पनि हुँदैनन्, बरु भोक मार्ने क्षमता राख्छन् । यसले गर्दा हाम्रै भान्सामा बन्ने स्वस्थ्यकर खाना खान मन लाग्दैन । अनि बाटैमा बनाइने धुलोसरिका चटपटे, पानीपुरी, बरफले पनि स्वास्थ्यलाई उत्तिकै हानि गरिरहेकै हुन्छ ।
तिमीहरू अभिभावक घर बाहिर निस्किँदै पिच्छे र पाहुना आउँदासमेत त्यस्ता अस्वस्थ्यकर खाद्यवस्तु माग गरिहाल्छौ । आजकल सहरमा मात्र होइन गाउँमा पनि केटाकेटी भए ठाउँमा जाँदा जंकफुड र फास्टफुड नै बोकेर जाने चलन छ । जानीनजानी अभिभावकहरूनै पनि तिमीहरूको स्वास्थ्य प्रतिकूल काम गरिहनुभएको हुन्छ । तिमीहरू धेरैजसोको पैसा हात पर्नासाथ पसल दौडिने बानी हुन्छ । यस्ता खानेकुराले तिमीहरूमा कम उमेरमै मोटोपन पनि बढाएको छ । हामीले ‘नेपाली खाना सन्तुलित खाना’ भन्ने कुरा कहिल्यै बिर्सिनु हुन्न है । घरैमा तयार भएको खाना जति स्वस्थ्यकर अरू हुँदैन ।
भाइबहिनीहरू, हामी धेरैजनाको सफा गरी हात धुने बानी छैन । अधिकांश सरुवा रोगको कारण दूषित पानीको प्रयोग र सफा गरी हात धुन नजान्नु नै हो । पानी खन्याउँदैमा हात सफा हुँदैन । खानेकुरा खाँदा मात्र होइन जुनसुकै बेलामा पनि हाम्रो हातका माध्यमबाट कीटाणुहरू नाक, मुख र आँखामा पुग्न सक्छन् । त्यसकारण हातलाई सधैं सफा राख्न आवश्यक छ ।
शौचालय गएपछि, बाहिरबाट घर फर्किएपछि धेरै ख्याल गर्नुपर्छ । हाम्रो हातमा धुलोसँगै कीटाणुहरूपनि टाँसिएर आउन सक्छन् । हाम्रा सार्वजनिक शौचालयमात्र होइन स्कुल, सिनेमाहल, सुपरमार्केट पनि सफा र बालमैत्री छैनन् । यी पनि सरुवा रोगका कारक बनिरहेका छन् । त्यहाँ पुग्दा पनि सचेत हुनुपर्छ ।
हाम्रा अधिकांश सहर वातावरण मैत्री छैनन् । प्रदूषण दिनानुदिन ठूलो समस्या बन्दै गएको छ । राजधानी काठमाडौंको हविगत पनि उस्तै छ । त्यसकारण घर बाहिर निस्किँदा अनिवार्य मास्क लगाउने र नाक मुख छोप्ने बानी गर्नुपर्छ । बजारमा पाइने झिल्केमिल्के मास्कहरू खासै उपयोगी हुँदैनन् । वातावरण स्वास्थ्य अनुकूल राख्ने काम सरकारको हो । त्यो हुन सकेको छैन । हामी सकारात्मक प्रभावको आशा राखौं ।
मान्छे संगतले पनि बिग्रिन्छ । अझ तिमीहरूको उमेरमा यो खतरा धेरै हुन्छ । सकारात्मक सल्लाह, सुझाव दिने मात्र होइन नकारात्मक बानी व्यवहार सिकाउने पनि समाजमा उत्तिकै हुन्छन् । खैनी, चुरोट, जाँडरक्सीको सानैमा बानी लागेपछि छुट्न मुस्किल हुन्छ । यसले सानैमा जीवन बर्बाद पार्न सक्छ नि !
म सानो छँदा हाम्रो घरमा पढाइका अतिरिक्त अरू कुरामा पनि तुलनात्मक रूपमा वातावरण राम्रो थियो । ममा सानैदेखि भविष्यमा आफ्नै खुट्टामा उभिने बन्नुपर्छ भन्ने कुराको चेत मौलाउँदै गयो । यसकारण पनि म पढाइमा धेरै नै मेहनत गर्थें । के पढ्ने, के बन्ने भन्ने कुराले पिरोलिन्थेँ पनि । डाक्टरी अति सम्मानित र स्वच्छ छवि भएको पेसा लाग्थ्यो । भर्खरै पढाइ पूरा गरेका डाक्टरलाई आफूभन्दा धेरै अग्रजले विश्वास गरेको र सम्मान गरेको देखेर म लोभिन्थेँ मात्र होइन औधी नै पुलकित पनि हुन्थेँ ।
पछि पढ्दै गएपछि बालरोगबारे विशेषज्ञता हासिल गर्न मन लाग्यो । म कसरी त्यतातर्प आकर्षित भएँ भने बच्चाहरूको वार्डमा जाँदा उनीहरूको चिन्तामुक्त अनुहार प्रष्टसँग झल्किन्थ्यो । उनीहरू क्यान्सरसँगै जुधिरहेका किन नहुन् हाँसिरहेकै हुन्थे । त्यसै भएर पनि होला म झन्डै तीन दशकदेखि यसै पेसामा रमाएकै छु ।
तिमीहरूलाई मेरा कुरा पढेर दिक्क लाग्यो होला है ? सुरुसुरुमा अर्ती उपदेश पढेर नमजा पनि लाग्न सक्छ । तर हामीले स्वास्थ्य नै सबैभन्दा ठूलो धन हो भन्ने कुरा कहिल्यै पनि बिर्सिनु हुन्न । मान्छेले आफू स्वस्थ्य भएपछि मात्रै अरू काम गर्न सक्छ । स्वास्थ्य खराब भयो भने केही गर्न सकिँदैन ।
(बालरोग विशेषज्ञ डा. सिंहसँग समीरबाबु कट्टेलले गरेको कुराकानीमा आधारित)