विदेशी परिकार पकाउँदै नेपाली विद्यार्थी

विदेशी परिकार पकाउँदै नेपाली विद्यार्थी

बुटवल : बुटवलको नवीन औद्योगिक माविकी कक्षा ६ मा पढ्ने सविना बञ्जाडेसहितका साथीहरू मंगलबार विद्यालयमा श्रीलंकन परिकार प्लाम्रा पकाउँदै थिए। श्रीलंकाको विशेष उत्सवमा पकाइने यस्तो परिकार पकाउन उनीहरूले श्रीलंकाकै कोकुभिल हिन्दु प्राथमिक विद्यालयका विद्यार्थीबाट सिकेका हुन्।

इन्टरनेटबाट भिडियो कुराकानी गरेर प्लाम्रा र परिच बनाउने तरिका जानेपछि नेपालमै श्रीलंकाको परिकार बन्यो। नेपालमा नपाइने प्लाम्रा सलाद श्रीलंकाका विद्यार्थीले हुलाकबाट पठाइदिएका थिए।

कक्षा ५ मा पढ्ने पवन पौडेल, कक्षा ६ मा पढ्ने सुजल सुनारको टिमले श्रीलंकाको कोकुभिल विद्यालयमा अध्ययनरत भी मिरांगिनीलगायतका साथीहरूलाई सेलरोटी र कुराउनी बनाउने तरिका सिकाए। बुटवलमा प्लाम्राको स्वाद लिँदै गर्दा श्रीलंकामा सेलरोटी पाकिरहेको थियो। यी प्रयोगात्मक कक्षाहरू शिक्षकको रोहबरमा भिडियो कुराकानीमा सम्भव भएका हुन्।

सधैं पाठ्यपुस्तक पढ्नमा व्यस्त भइरहने नवीन औद्योगिकका विद्यार्थी अहिले विदेशको संस्कृतिको बारेमा ज्ञान लिँदैछन्। प्रयोगात्मक कक्षाले परीक्षामा लेख्न सजिलो भएको सुनारले बताए। उनले भने, ‘खाना पकाउने तरिकासँगै अन्य कुराहरू पनि आदानप्रदान गर्ने गरेका छौं।’

खानाका परिकार बनाउँदा कच्चा पदार्थहरू एकादेशबाट अर्काे देशमा आदानप्रदान हुन्छ। श्रीलंकन परिकार प्लाम्राका लागि आवश्यक सलाद र तरुलको पिठो श्रीलंकाबाट आएको थियो। सेल रोटी बनाउने सामग्री सबै श्रीलंकामै पाइएपछि त्यो भने पठाउन परेन।

नवीन स्कुलमा कक्षा २ मा पढ्ने विद्यार्थीदेखि नै यस्तै खालका प्रयोगात्मक कक्षा सञ्चालनमा छन्। कतिपय स्वदेशकै अन्य विद्यालयसँग समन्वयमा भएका छन् भने पाँच प्रयोगात्मक कक्षा विदेशी विद्यार्थीसँगको सहकार्यमा हुन्छ।

कक्षा २ का विद्यार्थीले गणितीय आकार निर्माणको प्रयोगात्मक कक्षा लिन्छन्। आफैं त्यस्ता सामग्री बनाउँछन्। अन्य विद्यालयमा बाँड्छन्। कक्षा ३ का विद्यार्थी ज्येष्ठ नागरिकलाई कसरी सम्मान गर्ने भन्ने सिकाइ आदानप्रदान गर्छन्। कक्षा ४ मा गाईपालन, ५ मा नदीबाट हुने फाइदा, ६ मा जडीबुटीको महत्वसम्बन्धी प्रयोगात्मक शिक्षण हुन्छ। कक्षा ७ र ८ का विद्यार्थी फुड फेस्टिभल, ८ मा प्रांगारिक मल निर्माण, कक्षा ९ पृथ्वी बचाउ र कक्षा १० का विद्यार्थी ऊर्जा व्यवस्थापन विषयमा रहेर अध्ययन भ्रमण र प्रयोगात्मक कक्षा लिन्छन्।

यी प्रयोगात्मक कक्षाका लागि श्रीलंका, पाकिस्तान, भारत, इजिप्टका विद्यालयसँग सहकार्य छ। ‘दुई देशका विद्यार्थी अनुभव साटासाट गर्छन्, आफ्नो कुरा भन्छन्, उताको कुरा सोध्छन्’, शिक्षक सूर्य पौडेलले भने, ‘यस्तो कक्षा सञ्चालनले विद्यार्थीमा आत्मविश्वास र सहकार्य गर्ने बानीको विकास भएको छ।’ विद्यार्थीलाई विश्वव्यापी प्रतिस्पर्धी बनाउनका लागि यी प्रोजेक्टहरू सञ्चालन गरिएको पौडेलले बताए। नवीन स्कुलमा गएको वर्षदेखि यस्तो कक्षा सञ्चालन गरिएको हो।

प्रयोगात्मक शिक्षणका लागि विद्यार्थी समूह बनाएर फिल्डमा जान्छन्। आफूले देखेको र सिकेको कुरा लेखेर प्रतिवेदन तयार गर्छन्। यसो गर्दा सिकाइ उपलब्धि र लेखन सीप बढ्ने विद्यालयका प्रधानाध्यापक प्रेम बस्नेतले बताए।

‘सबै कुरा किताबमा लेखेको पढेर मात्रै हुँदैन भन्ने निष्कर्षसहित प्रयोगात्मक कक्षाको सुरुआत गर्‍यौं’ उनले भने, ‘विद्यार्थीको सिकाइले अभिभावकमा पनि परिवर्तन पाएका छौं।’

पशुपालन प्रोजेक्टमा सहभागी विद्यार्थी गाई फार्ममै पुग्छन्। गाई देखेपछि महत्व थाहा पाउँछन्। त्यसबारेमा लेख्न र अरूलाई भन्न सक्छन्। प्रयोगात्मक शिक्षणले नदी संरक्षण, वातावरण प्रदूषण नियन्त्रणमा पनि विद्यार्थीको रुचि बढ्दै गएको बस्नेतले बताए।

श्रीलंकाको परिकार पकाउनुअघि पाकिस्तानको डेविल विकास स्कुलले पठाएको पंगिकांग पनि नवीनका विद्यार्थीले चाखेका थिए । यस्ता परिकारहरू यताबाट पनि उता पठाउने गरिन्छ । मंगलबार नै भारतको विजयपुरको जैन पब्लिक स्कुलका विद्यार्थीसँग नवीन मावि कक्षा ६ मा अध्ययन गर्ने सरोज पाण्डेले स्काइपबाट कुराकानी गरे । उनले भारतको विद्यालयका साथीसँग हालखबर, पढाइ कस्तो चलिरहेको छ, मौसम आदिको बारेमा सोधिखोजी गरेका थिए ।

परियोजना शिक्षक आशिक लामिछाने स्काइपबाट भारतका विद्यार्थी र नवीनका विद्यार्थीबीच कुराकानी भएको बताए । उनले अब पाकिस्तानका विद्यालयका विद्यार्थीसँग गर्ने बताए ।

२०३३ साल स्थापना भएको यो विद्यालयमा करिब १७ सय विद्यार्थी अध्ययनरत छन् । सुकुमबासी बस्तीमा बसोबास गर्ने निम्न आयस्रोत भएका अभिभावकका छोराछोरीलाई अंग्रेजी माध्यम तथा प्राविधिक शिक्षा अध्ययन गराएको यो विद्यालय मुलुककै नमुना विद्यालयमध्येको एक हो।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.