भट्टाका कुल्लीहरू
नीतिशको घर सप्तरीको तिलाठीमा थियो। सिंगो गाउँ नै गरिबीको मारमा थियो। नीतिशका समुदायका मानिसका जग्गा थिएन। केबल साहुको जग्गामा सुन्टीका छाप्रा थिए। तिनले वर्षाको पानी र हिउँदको जाडो छेल्दैनथे। साहुकोमा जति काम गरे तापनि आवश्यकताको एक छेउ टर्दैनथ्यो। सुखको कुरा त टाढै थियो, उनीहरूलाई लाउने र खानेकै समस्या थियो। त्यहाँका सबै दुब्ला, पातला र ख्याउटे थिए।
एकदिन गाउँमा एकजना नयाँ मान्छे आए। उनले फकाइफकाइ गाउँलेलाई जम्मा पारेर भने, ‘तिमीहरू यस गाउँमा बसेर, साहुको काम गरेर अघाउन्जेल दुई छाक खान पनि पाउँदैनौ। फेरि तिमीहरूको यहाँ सम्पत्ति भन्ने नै के पो छ र ! त्यसैले हिँड काठमाडौं मसँग। म राम्रो काम र दाम दिन्छु।’ उनीहरूलाई ती मान्छेको कुरा देववाणी भैंm लाग्यो। पेटभरि खान र आङभरि लाउन दिन्छु भन्ने जोसुकै मानिस उनीहरूका लागि भगवान् झैं लाग्नु स्वाभाविक थियो। उनीहरू भने नोट चिन्न र हिसाब गर्न सक्दैनथे। जे होस् उनीहरूले दाताका साथ लागेर काठमाडांै जाने निधो गरे।
भोलिपल्ट सूर्यास्त हुँदै गर्दा तिलाठीवासीको यात्रामुहूर्त जुर्दै थियो। प्रायः वयस्कहरूले आप्mनो जायजेथा भन्नुको कपडाको पोको टाउकामा अड्याएका थिए। प्रत्येकका छोराछोरी जुम्ल्याहा तिम्ल्याहा जस्तै लाग्दथे। तीमध्ये एकले आप्mना बुवाआमाको हात समातेका हुन्थे भने बाँकीले एकअर्काको हात समाउँदै साङ्लो जस्तै बनाएका हुन्थे। सिंगो समूह रात्रिबसको प्यासेजमा बसे।
नीतिशको समूहको काठमाडौं यात्रामा रोचकता र त्रासदी दुवै गुणले युक्त थियो। उनीहरू नेपाली भाषामा बोल्न सक्दैनथे। इसारामा चल्थे। उनीहरूलाई नयाँ मानिससँग नबोल्ने कडा निर्देशन पनि थियो।
नीतिशको समूहले त्यो रातभर आपूm चढेको गाडीभन्दा बाहिरको संसार देखेन। गाडी चढ्नु अगाडि नै ढिँडो पिठो जे जुटेको खाएका उनीहरूलाई राति गाडी रोकिएको बेलामा खानाको तलतल पनि लागेन र कसैले ‘आओ खाओ’ पनि भनेन। बिहान उज्यालो भएपछि प्यासेजबाट उभिएर हेर्दा उनीहरूले पहाडलाई चिरेर धमिलो भएको पानी गाडीको चक्कै मुनिबाट बगेको हो कि भैmं देखे। त्यो त्रिशूली नदी थियो। नीतिशलाई लाग्यो, ‘यो पानी बगेर कहाँ पुग्छ होला? ’ तर उत्तर उसैका लागि अगम्य थियो। ऊ स्वयम्को गन्तव्य जस्तै।
नौबिसेमा आएपछि खाजा खान भन्दै गाडी रोकियो। उनीहरूले बल्लतल्ल चिया र सेल खान पाए। भोकले आत्तिएको तनले केही राहत पायो।
विभिन्न स्थानको जाम छिचोल्दै उनीहरू भक्तपुरको जगातीमा आइपुगे। दिन ढल्किन थालिसकेको थियो। सबैजना भोक र तिर्खाले आकुलब्याकुल थिए। फेरि आफू कहाँ पुगियो भन्ने केही अत्तोपत्तो पनि पाएनन्। गाडीबाट ओर्लिंदै गर्दा उनीहरूले एउटा बाक्लो गाउँ जस्तै ठाउँ देखे। बीचका खाली ठाउँमा इँटाले बनाएका धरहरा जस्ता अग्ला वस्तु ठड्याएका थिए। तिनका टुप्पामा अनवरत रूपमा धुवाँ पुत्पुताइरहेको थियो। त्यसका फेदमा उनीहरू जस्तै लेखपढ नगरेका जस्ता देखिइने मानिस र तिनका ससाना बालबच्चाहरू खुब व्यस्त भएर माटोसँग खेल्दै थिए।
उनीहरूलाई एक ठाउँमा जम्मा पारेपछि त्यहाँसम्म ल्याउने मानिसले कसैलाई मोबाइलबाट बोलाए। एकै छिनमा बोलाइएका मानिस त्यहाँ आए। ती व्यक्तिले नीतिशको समूहमा भएका मानिसको संख्या र मोलमोलाई गर्न थाले। निकै बेर दाम मिलेन। त्यसपछि उनीहरू बाझाबाझ गर्न थाले। निकै समयको गलफत्तीपछि बल्ल कुरा मिल्यो। उनीहरूको जागिरदाता, भविष्य निर्माता त मुठीभरिको नोटको बिटो बोकेर उनीहरूतिर फर्किएर समेत नहेरी सरासर बाटो लाग्यो।
त्यस दिनदेखि नीतिश र उनका साथीहरू भक्तपुरको इँटाभट्टामा ‘भट्टीका कुल्ली’ भए। उनीहरू प्रत्येकले बिहान उज्यालो नहुँदैदेखि राति अबेरसम्म काममा खट्नुपथ्र्यो। माटो मुछ्नु, ओसार्नु, काँचो इँटा बनाउनु, घाममा सुकाउनु, घाममा सुकेका इँटाभट्टीमा लानु, भट्टीको आगोको रापमा बसेर कोइला हाल्नु आदि उनीहरूको काम भयो। धेरै दिन बितिसक्दासम्म पनि उनीहरूले आजसम्म नुहाउने फुर्सद र पानी पाएनन्। आफूले कति कमाए भन्ने उनीहरूले थाहै पाएनन्। किनकि महिना मर्दा, पारि श्रमिक पाउने बेलामा साहुले अनेक शीर्षक देखाउँदै उनीहरूकै लागि उल्टै धेरै पैसा खर्च भएको हिसाब देखाएर हप्काउँथ्यो।
भट्टामा कसैलाई रुघा, कसैलाई खोकी र कसैलाई ज्वरो आएको छ तैपनि काम रोकिएको छैन। उनीहरूको कपाल तार जस्तो भएको छ। सबैका आँखा गोलभेँडाजस्ता देखिएका छन्। धुलोमैलोले सबै ढाकेको छ।
नीतिश र उनका साथीहरूले आजसम्म कति इँटा बनाए होलान् ? उनीहरूका हातबाट बनेका इँटाले कस्ताकस्ता घर बने होलान् ? उनीहरूकै टाउका माथिबाट सधैं जहाज उड्छन्। उनीहरूले कति सुखी मान्छे देखे, तर स्वयम्ले भने सुखको अनुभव लिनसम्म पाएका छैनन्।
ज्वरोका कारण नीतिश पल्टिरहेको थियो। त्यही बेला साहु आएर आप्mनो निर्मम रूप देखायो। उसले एक हातले पालको ढोका उठाएर अर्को हातको औंला उठाउँदै नीतिशलाई भन्यो, ‘यो ठाउँ तिमीहरूलाई घँस्याएर राख्न बनाएको धर्मशाला होइन। थपक्क उठेर काम गर्नु। भोलि पनि यसैगरी ओथारा बसेको देखेँ भने ओच्छ्यानसँगै लगेर ऊ त्यो हनुमन्ते खोलामा फाल्दिन्छु, बुझिस् !’
नीतिशलाई साहुको यो प्रहारले झन् मर्माहत बनायो। तिलाठीदेखि जगातीसम्म तन्किएको आप्mनो यात्रा र सपनाका दृश्यहरू एक पटक उसको स्मृतिपटलमा नाचे। अनि ऊ आफैसँग जिज्ञासु बन्यो, ‘हामी भट्टाका कुल्लीहरू। यो भट्टाको धुलोमा पुरिनु र हनुमन्तेको ढलमा पुरिनुमा के फरक छ होला!’