गरिबको पीडा : काटिएको आफ्नै खुट्टाको सिरानी
गरिबलाई जताततै विभेद गरिन्छ भन्ने कुरा नौलो होइन। तर, गरिब भएकै कारण मानिसले कतिसम्म अपहेलित हुनुपर्छ भन्ने एउटा उदाहरण भारतीय राज्य उत्तरप्रदेशको घनश्याम सहरमा गत साता भएको घटनाले देखाएको छ।
घनश्याम सहरमा स्कुले विद्यार्थी सवार स्कुलको एउटा बस दुर्घटनाग्रस्त भएको थियो। दुर्घटनामा परी बसका सहचालक गम्भीर घाइते भए। घाइतेहरूको उद्धार गरी अस्पताल लगिने क्रममा उनलाई पनि झाँसी मेडिकल कलेज पुर्याइयो। तर, अस्पताल पुगेपछि उनलाई ज्यादै तुच्छ व्यवहार गरियो।
अस्पतालका चिकित्सकहरूले उनलाई बचाउन खुट्टा काट्नुपर्ने जनाए। उनको एउटा खुट्टा काटियो। खुट्टा काटेपछि उनलाई छुट्टै ओछ्यानमा आराम गराउन भनेर सुताइयो। वरपर हेर्दा कतै सिरानी फेला परेन। सिरानी फेला नपरेपछि उनलाई आफ्नै काटिएको खुट्टाको सिरानी हालेर सुत्न लगाइयो।
अस्पतालको यस्तो रवैयाप्रति असन्तुष्टि व्यक्त गर्दै घाइतेकी आफन्त जानकी प्रसादले भने, 'हामी अस्पताल पुग्दा उनको खुट्टा काटिसकेको थियो। आफ्नै खुट्टा सिरानी हालेर उनी बेहोश अवस्थामा ओछ्यानमा पल्टिएको देख्दा मन थाम्न गाह्रो भयो।' डाक्टर र नर्सहरूसँग खुट्टा हटाएर सिरानी राखिदिन बारम्बार आग्रह गर्दा कसैले वास्तै नगरेको उनले बताए।
‘त्यसपछि मैले बजार गएर सिरानी किनेर ल्याएँ र उनको खुट्टा हटाएर सिरानी राखिदिएँ,' जानकी प्रसादले भने, ‘सिरानी किनेर अस्पताल आउन मलाई दुई घण्टाजति लाग्यो।त्यतिञ्जेलसम्म उनी आफ्नै खुट्टालाई सिरानी बनाएर सुतिरहे,' उनले भनिन्। एजेन्सी