‘धुवाँधुलोभन्दा मान्छेले बढी सताउँछन्
कति वर्ष भयो काम गर्न थाल्नुभएको ?
१६ वर्ष।
घर कता पर्यो ?
पाल्पा।
ट्राफिक प्रहरी कसरी बन्नुभयो ?
प्रहरी बन्नुअघि म शिक्षक थिएँ। नेपाली विषय पढाउथेँ। त्यति नै बेला द्वन्द्व चर्कियो। गाउँघरका सबै युवा सेना÷प्रहरीमा भर्ती हुन थाले। म पनि शिक्षण पेशा छाडेर यतातिर लागेँ।
पहिलो पोस्टिङ कता पर्यो ?
रूपन्देहीमा परेको थियो। त्यहाँ मैले दुई वर्ष काम गरेँ।
परिवारमा को–को हुनुहुन्छ ?
आमाबुवा, श्रीमती र दुई जना छोराछोरी।
उहाँहरूलाई भेट्न घर कत्तिको जानुहुन्छ ?
छ महिना अथवा वर्ष दिन एक पटक घर गइन्छ।
परिवारको न्यास्रो लाग्छ होला नि ?
लाग्छ नि। बेला–बेलामा फोनमा कुराकानी गर्छु। हामी आफ्नै देशमा बसेर काम गर्नेहरूको के कुरा भयो र ? छ महिना/वर्ष दिनमा भए पनि भेटघाट गर्न पाइन्छ। विदेश जानेहरू त एकै चोटि दुई–तीन वर्षमा आउँछन्। विदेशिएका दाजुभाइलाई सम्झिँदै चित्त बुझाउँछु।
जागिरमा रमाइलो लाग्ने कुरा केही छ कि ?
धेरै ठाउँ घुम्न पाइन्छ। योभन्दा रमाइलो कुरा अरू के होला ? कामको सिलसिलामा करिब ५२ जिल्ला घुमिसकेँ। अर्को कुरा, धेरै मान्छेसँग संगत गर्न पाइन्छ।
नरमाइलो लाग्ने नि ?
चेकजाँच गर्दा कहिलेकाहीँ दिक्क लाग्छ। आफूले राम्रो व्यवहार गर्दागर्दै पनि कोही अरूले रुखो व्यवहार गरिदिन्छन्। त्यतिबेला साह्रे नरमाइलो लाग्छ।
सडकमा कति घण्टा खटिनुहुन्छ ?
१०/१२ घण्टा त खटिनै पर्छ।
धुवाँधुलोले निकै सताउँछ होला ?
धुवाँधुलोले मात्रै सताउने भए त के थियो ? हामीलाई धुवाँधुुलोले भन्दा बढी पैदलयात्री, सवारीचालक र फुटपाथ व्यापारीले बढी सताउँछन्।
कतिपयले ट्राफिक प्रहरीको जागिरलाई ‘दुःखी पेशा’ पनि भन्दा रहेछन् नि ?
म त पहाडमा जन्मेर हुर्केको मान्छे। पहाडमा पनि दुःख गरियो। त्यसको तुलनामा यो दुुःख त केही पनि लाग्दैन। आफ्नो ड्युटी नभए पनि सडकमा जाम देख्नेबित्तिकै अफिसबाट सिटी फुक्दै बाहिर निस्कन्छौं। तर, चाडपर्वका बेला छुट्टी नमिल्दा चाहिँ दुःखी पेशा हो जस्तो पनि लाग्छ।
त्यतिबेला मन कसरी बुझाउनुहुन्छ त ?
अफिसका साथीहरूसँग नाचगान र रमाइलो गरेर चित्त बुझाइन्छ।
ट्राफिक लाइटको व्यवस्था नहुँदा चालकहरू समस्या भयो भन्छन्, तपाईंहरूलाई नि ?
ट्राफिक लाइट नहुँदा हामीलाई पनि समस्या भएको छ नि। लाइट भए हामीले धेरै सिटी फुकिरहनु पर्दैनथ्यो।
काम गर्दाको कुनै घटना सम्झनुहुन्छ ?
एक पटक सल्यानको मखला भन्ने ठाउँमा बस दुर्घटना भएको थियो। ‘गाडी खसेको छ’ सुन्नेबित्तिकै सबै टिम घटनास्थल पुगे। ट्राफिक प्रहरीका तर्फबाट म र मेरो साथी गएका थियौँ। त्यहाँ पुग्दा कतिको त घटनास्थलमै मृत्यु भइसकेको थियो। कोही घाइते थिए, कोही पीडाले छटपटाइरहेका थिए। त्यो हृदयविदारक घटना अहिले पनि सम्झन्छु।
उपत्यकाबाहिर र भित्रको ड्युटीमा के फरक लाग्यो ?
बाहिर जाम हुँदैन। कागजपत्र चेकजाँच गर्ने मात्रै हो। काठमाडौं आउँदा सुरुमा त सवारीको चाप देखेर मनै आत्तिएको थियो। अहिले चाहिँ बानी परिसक्यो।