भूकम्पले भत्काएको विद्यालय भवन पुनर्निर्माणपछि समुदायलाई हस्तान्तरण
नाम्जुङ(गोरखा) : भूकम्पले ध्वस्त सहिदलखन गाउँपालिका ९ नाम्जुङको भीमसेन प्राविको आठकोठे भवन जर्मन संस्थाले पुनर्निर्माण गरेको छ। करिब एक करोड रुपैयाँको लागतमा नवनिर्मित सो भवन जर्मन संस्थाका प्रतिनिधिले एक समारोहका बीच गाउँपालिकालाई हस्तान्तरण गरेको हो।
जर्मनीको बाल सहायता संघ र एक्सन लिटल प्रिन्स नामक संस्थाले विद्यालय भवन, शौचालय, इ–लाइब्रेरी समेत निर्माण गरेका थिए । मंगलबार आयोजित समारोहमा नेपालका लागि जर्मनीका महावाणिज्यदूत रामप्रताप थापा, जर्मनीको वाल सहायता संघकी अध्यक्ष हाइकी कुन्जे, एक्सन लिटल प्रिन्सको उपाध्यक्ष क्लाउस स्मिलले गाउँपालिका प्रमुख रमेश थापा मगरलाई भवन हस्तान्तरण गरेका हुन्।
‘यी दुई संस्थाले गोरखा र धादिङको दुईवटा विद्यालय निर्माण गर्ने जिम्मा लिएका थिए’ । ‘भूकम्पले भत्किएका संरचना अत्याधुनिक सुविधासहित पुनर्निर्माण त भए, अब गुणस्तरीय शिक्षाको प्रबन्ध स्थानीय तहले मिलाउनु पर्छ ’ महावाणिज्यदूत थापाले भने।
पुनर्निर्माण गरिएको भीमसेन आधारभभूत विद्यालय ।
सो संस्थाले धादिङको थाक्रे गाउँपालिका वडा नं ३ भूमेस्थानको महाकाली देवीस्थान आधारभूत विद्यालय भवन पनि स्थानीयलाई हस्तान्तरण गरिएको थापाले जानकारी दिए । एक्सन लिटल प्रिन्स तथा बाल सहायता संघले भूकम्पछि स्थानीय गरिब विद्यार्थीहरुलाई छात्रवृत्ति तथा पोशाक, शैक्षिक सामग्री पनि उपलब्ध गराउँदै आएको विद्यालयले जनाएको छ।
तीन बर्ष अघिको भूकम्पले गोरखाका चारसय ४९ वटा विद्यालय भवन ध्वस्त भएका थिए । ती मध्ये दुईसय पाँचवटा विद्यालयहरु पुनर्निर्माण भएर पनि सञ्चालनमा आइसकेका जिल्ला शिक्षा अधिकारी दीपेन्द्र सुवेदीले जानकारी दिए।