यी हुन् ‘बुगीवुगी’ को स्टेज तताउने १८ प्रतिस्पर्धी
सञ्जयकुमार लामा
मेरो पुख्र्यौली घर रामेछाप हो। आमाबुबा जनकपुरमा बस्नुहुन्छ। म २४ वर्षको भएँ। पाँच वर्षदेखि काठमाडौँमा एक्लै बसिरहेको छु। अभावका कारण पढाइलाई एसएलसीभन्दा अघि बढाउन सकिएन। मेरो घरको आर्थिक अवस्था त्यति राम्रो छैन। बुबा सरकारी कार्यालयमा पियन हुनुहुन्छ। नृत्य मेरो रुचिको क्षेत्र हो। नृत्य सिक्न भारतसम्म पनि पुगेको थिएँ। हैदराबाद गएर चार पाँच महिनासम्म होस्टेलमा बसेर डान्स सिकेँ।'बुगीवुगी'मा आउनुभन्दा अघि काठमाडौँ, चाबहिलको एउटा डान्स सेन्टरमा नृत्य सिकाइरहेको थिएँ। 'डान्स नेपाल डान्स' भन्ने नृत्य प्रतियोगितामा दुई वर्षअघि भाग लिएको थिएँ। त्यसमा 'फस्ट रनरअप' भएको थिएँ।मैले चार/पाँचवटा म्युजिक भिडियोको कोरियोग्राफी गरेको छु। केही फिल्ममा कोरस डान्स पनि गरेको छु। मेरो उद्देश्य कोरियोग्राफी र मोडलिङ हो।
प्रमिला सुनुवार
मेरो घर रुपन्देही, बुटवल हो। अहिले २३ वर्षकी भएँ। प्लस टूसम्म पढेकी छु। नृत्यमा मेरो सानैदेखिको रुचि हो। 'बुगी वुगी'मा आउनुभन्दा पहिले भैरहवाको एउटा डान्स सेन्टरमा नृत्य सिकाउथेँ। प्लस टू सकेपछि नृत्य क्षेत्रमा आएकी हुँ। दुई वर्षजति म आफैँले नृत्य सिकेँ। त्यसपछि सिकाउन पनि थालेँ। बुटवलमा हुने स्थानीय कार्यक्रममा मैले धेरै पटक भाग लिएकी छु। मेरो परिवारमा आमाबुबा, दाइ र बहिनी छन्। मेरो पढाइ राम्रो भएकाले आमाबुबा नृत्यभन्दा पढाइलाई जोड दिन्थे। त्यो बेला नृत्यमा खासै अवसर थिएनन्। परिवारलाई 'कन्भिन्स' गर्न एकदमै गाह्रो भइरहेको थियो। मैले नृत्यमा केही गरेको देखेपछि अहिले मेरो परिवारको पूरा सपोर्ट छ। 'बुगी वुगी'मा भाग लिन आउनुभन्दा पहिले कुनै पनि ठूलो डान्स रियालिटी सोमा भाग लिएको थिइनँ। स्कुलमा पढाउँथेँ, डान्स सेन्टरमा गएर क्लास लिन्थेँ। यसरी काम गर्न थालेको छ/सात वर्ष भयो। घरलाई पनि मैले यसरी नै सपोर्ट गरिरहेकी छु। 'बुगी वुगी' मा आफ्नो 'बेस्ट' दिएर राम्रो डान्सरका रूपमा सबैमाझ चिनिऊँ भन्ने चाहना छ।
रविन भुजेल
मेरो घर मोरङ, विराटनगरको मिल्स एरिया संरक्षण क्षेत्रमा पर्छ। अहिले म २९ वर्षको भएँ। आमाबुबा म सानै हुँदा भारत जानुभयो। हजुरबुबाको रेखदेखमा हुर्किएँ। बुबा भारतमै बित्नुभयो। अहिले आमा मात्रै हुनुहुन्छ। उहाँ पनि लामो समय बाहिर बसेपछि मात्रै नेपाल फर्किनुभयो। मेरा लागि नृत्य नै सबथोक हो। नृत्यप्रतिको मेरो लगाव बुझेरै होला, परिवारबाट मलाई राम्रै सपोर्ट छ। 'बुगी वुगी'मा भाग लिनुअघि मैले धेरै नृत्य प्रतियोगितामा भाग लिएको छु। मलाई नृत्य मात्रै होइन, अभिनय पनि गर्ने ठूलो रहर छ।
सरोज मोक्तान
मेरो घर काभ्रेपलाञ्चोकको नेपालथोकमा पर्छ। अहिले २४ वर्षको भएँ। ब्याचलर्स पढ्दापढ्दै पढाइ छाडेँ। 'बुगी वुगी'मा भाग लिन आउनुभन्दा पहिले डान्स सिकाउँथेँ। बागबजारमा रहेको डान्स सेन्टरमा मैले झण्डै पाँच/छ वर्ष डान्स टिचिङ गरेँ। त्यसपछि एक वर्षअघि कोरिया जान परीक्षा दिएँ। तर, सफल हुन सकिएन। घरको जेठो छोरो भएकाले मेरो काँधमा जिम्मेवारी थियो। मैले घरपरिवारलाई 'बुगी वुगी भन्ने एउटा ठूलो डान्स रियालिटी सो आउँदैछ, त्यसमा भाग लिन लास्ट चान्स दिनुस्' भनेँ। उहाँहरूले 'हुन्छ' भन्नुभयो। पहिले म माओवादी केन्द्र निकट संगठन जनसांस्कृतिक संघमा थिएँ। मैले त्यहाँ छ/सात वर्ष नृत्य गरेँ। नृत्य क्षेत्रमा मैले यत्रो समय बिताएँ। अब फिल्म क्षेत्रमा केही गर्न चाहन्छु। कोरियोग्राफर र निर्देशक बन्ने मेरो लक्ष्य छ।
रेश्मा राई
मेरो घर सुनसरी, धरान हो। अहिले २५ वर्षकी भएँ। कक्षा ११ पढ्दापढ्दै मैले पढाइ छोडेँ। परिवारमा म र भाइ मात्र छौँ। आमबुबा हुनुहुन्न।नृत्यमा लागेको आठ/नौ वर्षजति भइसक्यो। पहिले डान्स सेन्टरमा नाच्थेँ। अहिले कोरियोग्राफी पनि गर्छु, नृत्य पनि सिकाउँछु। धरानमा भएको 'कोशी क्विन' मा म थर्ड रनरअप भएकी थिएँ। 'बुगी वुगी'को विजेता बने पनि, नबने पनि यसले मेरो करिअरमा धेरै सहयोग गर्छ जस्तो लाग्छ। यसमा भाग लिन पाउनु सफलताको अर्को स्टेप हो।
मेनुका तामाङ
मेरो घर सिन्धुली हो। अहिले २२ वर्षकी भएँ। काठमाडौँमा एउटा स्कुल र कल्चरल सेन्टरमा नृत्य सिकाउँछु। एक/दुइटा दोहोरी गीतको म्युजिक भिडियोमा नृत्य गरेकी छु। एउटा फिल्ममा साहायक कोरियोग्राफरका रूपमा काम पनि गरेकी छु। 'बुगी वुगी'को यति ठूलो प्लेटफर्ममा नाच्ने अवसर पाइरहेकी छु। एकदमै खुशी छु। यस सोबाट धेरै आशा गरेकी छु। अब जिन्दगीभरि नृत्यमै केन्द्रित हुन्छु।
कृष्ण मिश्र
मेरो घर रुपन्देहीको गैडावा गाउँपालिका हो। अहिले बीएससी पढिरहेको छु। सानैदेखि नृत्य गर्थें। अहिले त यो नशा जस्तो भइसक्यो। स्कुलमा नृत्यसम्बन्धी कार्यक्रममा भाग लिइरहन्थेँ। केटी बनेर पनि स्कुलमा नाचेको छु। घरको अवस्था, पढाइले गर्दा ठूला नृत्य प्रतियोगितामा खासै भाग लिएको छैन। बरु भारतको दिल्ली र मुम्बईसम्म पुगेर त्यहाँको नृत्यको माहोल हेरेको छु। 'बुगी वुगी'मा आउनुभन्दा अघि एउटा डान्स स्टुडियोमा नृत्य सिकाउथेँ। करिब १२ वर्षदेखि नृत्य क्षेत्रमा छु।
कविता न्यौपाने
मेरो घर रुपन्देही, बुटवल हो। अहिले १८ वर्षकी भएँ। स्नातक पहिलो वर्षमा पढिरहेकी छु। दुई वर्षअघि 'लेट मी डान्स' भन्ने रियालिटी सोमा भाग लिएकी थिएँ। त्यसमा सेमी–फाइनलसम्म पुगेकी थिएँ। अहिले नेपालमा 'बुगी वुगी' जस्तो ठूलो फ्रेन्चाइज सो आएको छ। यहाँबाट सिकेको ज्ञान अरूलाई पनि बाँड्छु। राम्रो अवसर आए म्युजिक भिडियोमा पनि काम गर्छु। मुख्य कुरा चाहिँ नृत्यमा केही गर्न चाहन्छु।
करण साह
मेरो घर बाँके, नेपालगञ्जमा पर्छ। अहिले २२ वर्षको भएँ। बीबीएसको परीक्षा दिएर बसेको छु। नृत्यमा सानैदेखि लगाव थियो। धेरै अभ्यास पनि गरेको छु, धेरै अडिसन पनि दिइसकेको छु। डान्स रियालिटी सो 'छमछमी'मा टप–१४ सम्म पुगेको थिएँ। भारतको 'डान्स इन्डिया डान्स'मा पनि भाग लिएको थिएँ। तर, त्यहाँ स्टुडियो राउन्डबाटै बाहिरिएको थिएँ। म अहिले नेपालगञ्जमै नृत्य सिकाउँछु। 'बुगी वुगी' नृत्य प्रतिभा देखाउने एउटा राम्रो प्लेटफर्म हुन्छ भन्ने लागेर यसमा भाग लिएँ। मेरो सपना फिल्मको हिरो बन्ने हो। मलाई परिवारबाट एकदमै सपोर्ट छ।
सम्पन्नता बिन्दुकार
मेरो घर काठमाडौँको धर्मस्थलीमा पर्छ। अहिले १६ वर्षकी भएँ। कक्षा ११ मा पढ्दैछु। कक्षा २ मा पढ्दादेखि नै नृत्य गर्न थालेकी हुँ। स्कुलहरूमा हुने नृत्य प्रतियोगितामा भाग लिएकी थिएँ। 'डान्स नेपाल डान्स'मा फस्ट रनरअपसम्म भएकी थिएँ। मैले कलेजमा पनि डान्स सिकिरहेकी छु। बाहिर पनि सिकिरहेकी छु। परिवारका सबैले मलाई सहयोग गर्छन्। भविष्यमा कोरियोग्राफर बन्ने लक्ष्य छ।
सागर मगर
मेरो घर खोटाङ हो। हाल काठमाडौँ, बौद्धमा बस्छु। अहिले कक्षा ११ मा पढ्दैछु। मलाई मामाले नृत्यमा अभिरुचि जगाइदिनुभएको हो। 'बुगी वुगी'मा आउनुभन्दा पहिले 'पावर अफ डान्स'मा भाग लिएको थिएँ। त्यहाँ म विजेता पनि भएको थिएँ। स्कुलमा हुने प्रतियोगिता पनि जितिरहन्थेँ। 'बुगी वुगी' जस्तो ठूलो प्रतियोगितामा भाग लिएको चाहिँ पहिलो पटक हो। विजेता भए पनि, नभए पनि डान्सलाई निरन्तरता दिन्छु। एउटा डान्सरको जीवनमा यस्तो सोले अवश्य परिवर्तन ल्याउनेछ।
प्रतिष्ठा पौडेल
मेरो घर गुल्मी हो। अहिले भक्तपुर बस्छु। १८ वर्षकी भएँ। स्नातक दोस्रो वर्षमा पढ्दैछु। नृत्यमा मेरो सानैदेखि रुचि थियो। स्थानीय स्तरका विभिन्न सोमा भाग लिएँ र जितेँ पनि। भारतको 'डीआईडी लिटिल मास्टर'मा पनि भाग लिएँ। त्यहाँ म टप– हन्ड्रेडसम्म पुगेकी थिएँ। मलाई परिवारको ठूलो सपोर्ट छ। म अलि 'इन्ट्रोभर्ट' स्वभावकी छु। धेरै मान्छेका अगाडि बोल्न सक्दिनँ। तर, आफ्ना भावनालाई नृत्यबाट अभिव्यक्त गर्न सक्छु।
प्रगति पुन
मेरो घर तनहुँ हो। अहिले २१ वर्षकी भएँ। कक्षा ११ पढ्दै थिएँ, अहिले ग्याप गरेकी छु। 'बुगी वुगी'मा भाग लिनलाई नै म काठमाडौँ आएकी हुँ। हाम्रो 'क्रिस्टल क्लज' भन्ने डान्स क्रिउ थियो। पाँच जनाको समूहमा म एक जना मात्र केटी थिएँ। समूहमार्फत हामीले चार/पाँच वटा कभर भिडियो बनाएका छौँ। मैले अहिलेसम्म डान्स खासै सिकेकी छैन। 'बुगी वुगी'को प्लेटफर्मले मेरो नृत्य करिअरलाई माथि पुर्याउने आशा गरेकी छु।
आतिष जैरु
मेरो घर झापाको धुलावारीमा हो। म १८ वर्षको भएँ। कक्षा ११ मा पढ्दैछु। मलाई सानैदेखि नाच्न रमाइलो लाग्थ्यो। तीन÷चार वर्ष नृत्य सिकेको छु। केही नृत्य प्रतियोगितामा पनि भाग लिएको थिएँ। 'बुगी वुगी'को प्रतियोगी भएपछि धेरै कुरा सिक्न पाइएको छ।
कविता नेपाली
मेरो घर सर्लाही हो। हाल ललितपुरको पाटन, सुन्धारामा बस्छु। अहिले कक्षा १२ मा पढ्दैछु। सानैदेखि नाच्थेँ। स्कुलमा हुने धेरै नृत्य प्रतियोगितामा भाग लिएकी छु। 'बुगी वुगी'मा आउनुभन्दा पहिले नृत्य सिकिरहेकी थिएँ। आमाबुबाले मेरो रुचिमा साथ दिनुहुन्छ। 'बुगी वुगी' ठूलो रियालिटी सो हो। यसबाट नेम र फेम दुवै हुन्छ जस्तो लाग्छ। पछि गएर मलाई नृत्यबारे गहिरो अध्ययन गर्न रुचि छ। राम्रो पर्फर्मर बन्न चाहन्छु।
सृष्टि महर्जन
मेरो घर काठमाडौँ, स्वयम्भूमा छ। अहिले १६ वर्षकी भएँ। कक्षा ११ मा फाइन आट्र्स लिएर पढ्दैछु। डान्स पनि सिक्दैछु। परिवारमा आमबुबा र दाइ हुनुहुन्छ। पहिले नगरे पनि अहिले मलाई परिवारले एकदमै सपोर्ट गर्छ। 'बुगी वुगी'मा भाग लिनुभन्दा पहिले केही स्थानीय नृत्य प्रतियोगितामा भाग लिएकी थिएँ। यो नेपालमा पहिलो पटक हुन लागेको ठूलो डान्स रियालिटी सो हो। 'बुगी वुगी'को स्टेजले धेरैको प्रतिभालाई देशभरि पुर्याउँछ जस्तो लाग्छ। म कोरियोग्राफर बन्न चाहन्छु।
शुभम भुजेल
मेरो घर झापाको धुलाबारी हो। अहिले २१ वर्षको भएँ। प्लस टू पास गरेको छु। 'बुगी वुगी'मा आउनुभन्दा पहिले डान्स सिकाउँथेँ। यो सोमार्फत म आफूलाई एउटा राम्रो डान्सरका रूपमा सबैसामु चिनाउन चाहन्छु।
मनीष नेपाली
मेरो घर रुपन्देहीको तिलोत्तमा हो। अहिले २० वर्षको भएँ। नृत्यमा मेरो सानैदेखि गहिरो अभिरुचि थियो। बुटवलमा हुने स्थानीय नृत्य प्रतियोगिताहरूमा भाग लिइरहन्थेँ। 'बुगी वुगी'को अडिसन खुलेको थाहा पाएपछि यो अवसर सदुपयोग गर्न मन लाग्यो र अडिसन दिएँ। मलाई परिवारको पूर्ण समर्थन छ। म नृत्य क्षेत्रमा केही गर्न चाहन्छु।
याे पनि पढ्नुहाेस्