द्वन्द्व पीडितका १० हजार उजुरी
डोटी : प्रदेश ७ का द्वन्द्व पीडितले सत्य निरुपण तथा मेलमिलाप आयोगको प्रदेशस्थित कार्यालयमा १० हजार पाँच सय ८३ उजुरी दर्ता गराएका छन् ।आयोगका सदस्य लीला उदासी खनालले दिएको जानकारी अनुसार प्रादेशिक कार्यालयमा द्वन्द्वपीडितका तर्फबाट १० हजार पाँच सय ८३ उजुरी दर्ता भएका हुन् । तत्कालिन दश वर्षे सशस्त्र द्वन्द्वको समयमा राज्य पक्ष तथा विद्रोही पक्षबाट पीडित भएकाबाट उजुरी दर्ता भएको उनले बताए ।
खनालका अनुसार अछामबाट सबैभन्दा बढी चार हजार दुई सय ७४ उजुरी दर्ता भएका छन् । त्यसैगरी, कञ्चनपुरबाट एक हजार ६ सय ७८, कैलालीबाट एक हजार एक सय ५५, बाजुराबाट आठ सय ४६ तथा बैतडीबाट आठ सय ३१ उजुरी दर्ता भएका छन् ।
डडेल्धुराबाट पाँच सय ४०, बझाङबाट तीन सय ७६, दार्चुलाबाट तीन सय ३२ तथा डोटीबाट पाँच सय ५१ उजुरी दर्ता भएका छन् । दर्ता भएका उजुरीमा केही गम्भीर प्रकृतिका मानव अधिकार उलंघनका घटना सम्वन्धि उजुरी पनि रहेको सदस्य खनाले बताए । उनले भने ‘सत्य निरुपण तथा मेलमिलाप आयोगमा दर्ता भएका द्वन्द्व पीडितका उजुरी मध्ये केही गम्भीर र गहन प्रकृतिका भएकाले आयोगले गोप्य रूपमा छानविन गरिरहेको छ ।’
द्वन्द्वपीडितबाट क्षतिपूर्ति नपाएको गुनासो पटक–पटक सुनिरहेको बेला खनालले राहत तथा क्षतिपूर्ति दिने दायित्व सरकारको भएको बताए । उनले भने ‘आयोगले प्राप्त उजुरीको छानविन गर्ने हो, क्षतिपूर्ति तथा राहत दिने काम सरकारको हो । हामी सरकारलाई माग सम्बोधन गर्न निरन्तर घच्घच्याइ रहेका छौं ।’
द्वन्द्व पीडितले आयोगमा उजुरी दर्ता गरेको वर्षौं भइसक्दा समेत कुनै छानबिन नगरेको र पीडितले न्याय नपाएको गुनासो गरे । दर्ता भएका उजुरीको छिटो छानबिन गरेर उचित न्याय तथा क्षतिपूर्ति दिनेतर्फ चासो नदिएर आयोगले पीडितलाई अझ बढी पीडा थपेको उनीहरुको गुनासो छ ।