चरेस कारखानामा प्रहरीको छापा
वीरगन्ज : पर्साको कालिकामाइ गाँउपालिका –१ तिनडोबियास्थित चरेस बनाउने कारखानामा प्रहरीले छापा मारेको छ । प्रहरीले कारखानाबाट साढे सात केजी चरेस , चरेस बनाउन प्रयोग गरिने मेसिनसहित दुई महिलालाई पक्राउ गरेको छ ।
तिनडोबियाका दुर्गा पटेलको घरमा चरेस बनाइरहेको छ भन्ने गोप्य सुचना पाएर इलाका प्रहरी कार्यालय पोखरीयाका प्रहरी निरीक्षक सुवाष बुढाथोकीको नेतृत्वमा खटिएको टोलीले चरेस बनाउने कारखानामा छापा मारेको थियो ।चरेस बनाउने कारखानामा मंगलवार छापा मारेपनि त्यसबारे जानकारी बिहीबार पत्रकार सम्मेलन गरी दिएको हो ।
प्रहरीले चरेससहित दुई थान मेसिन , तराजु एक थान , ढक दुई थान , कैची एक थान , पानी टेप १२ थान , स्टिलको बाटा एक थान र केही प्लाष्टिक बरामद गरेको हो । प्रहरीको टोली छापा मार्न घरमा पुग्ने बित्तिक्कै घरधनी पटेलसहितका चरेस कारोबारमा संग्लन केही फरार रहेको पर्साका प्रहरी उपरीक्षक डा. गणेश रेग्मीले जानकारी दिएका छन् । फरार रहेका घरधनी पटेलसहित केही शंकास्पद व्यक्तिहरुको खोजी भइरहेको उनले बताए ।
त्यसैबीच प्रहरीले चरेस बनाउने दुई जना महिलालाई बिहीबार वीरगन्जबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर जिल्लाको कैलाश गाउपालिका - ६ पकनीकी ४२ वर्षीया पार्वती मोक्तान र २९ वर्षीया लक्ष्मी थिङ छन् । उनीहरुको साथबाट प्रहरीले लागु औषध चरेस ८ किलो ५ सय ग्राम बरामद गरेको छ ।
वीरगन्जबाट भारतको रक्सौलतर्फ जाने ईनर्वामा चेकजाँच गर्ने क्रममा चरेससहित दुवै महिलालाई पक्राउ गरिएको प्रहरी उपरिक्षक रेग्मीे बताए । लागु औषध चरेससहित पक्राउ परेका दुवैलाई चरेस शिर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको छ ।
यसअघि सोमबार प्रहरीले वीरगन्ज –१६ नगवाबाट चार केजी चरेससहित भारत बिहारको रक्सौलको शुक्ला कोलोनी बस्ने २० वर्षीय पवन गुप्तालाई पक्राउ गरेको थियो । पर्सा प्रहरीले गत असोज १२ गतेदेखि बिहीबारसम्म गरी ६ महिनाको अवधीमा ६१ किलो सात सय ९० ग्राम चरेस वरामद गर्नुका साथै तस्करी र ओसारपसारमा संलग्न आठ जनालाई पक्राउ गरेको प्रहरी उपरिक्षक रेग्मीले जानकारी दिए ।