चकलेट नि खाउ दाँत पनि माँझ

चकलेट नि खाउ दाँत पनि माँझ

 

रामेछापकी कञ्चन श्रेष्ठ तीन वर्षकी भइन्। उनी नर्सरीमा पढ्छीन्। झोला बोकेर स्कुल जाँदा उनी बेला बेलामा हाँस्छिन्। यसरी हाँस्दा कञ्चनका काला दाँत देखिन्छन्। उनका कुहिएका कालो दाँत देखेर अरु साथीहरू पनि हास्छन्। उनका माथिका तीनवटा दाँत सडेका छन्। त्यसैले झ्वाट्ट हेर्दा ती काला देखिन्छन्।

चकलेट, मिठाईलगायत गुलिया खानेकुरा खान मन पराउने कञ्चनका शुरुमा दुईवटा दाँत मात्र कालो भएका थिए। गुलिया खानेकुरा खाने तर मुख तथा दाँत सफा नगर्ने उनको बानीले दाँत सड्न पुगेको हो। दाँतमा किटाणुले फोहोर बनाइसके पछि कुहिन थाल्छ। अहिले थप अर्को दाँत पनि फोहोर भइसकेको छ। उनी हाँसेपछि साथीहरूले जिस्काउँछन्।

कञ्चनको उपचारका लागि उनकी आमा कल्पनाले उनलाई कान्ति बाल अस्पतालमा पुर्‍याइन्। आफन्त र नातागोताले ल्याइदिएका चकलेट र गुलिया मिठाई खाने तर दाँत नमाझ्ने छोरीको बानीले कल्पना चिन्तित छिन्। ‘गुलिया खानेकुरा खाएपछि दाँत सफा गर्न अर्‍याउँदा छोरीले पटक्कै मान्दिनन्’, दिक्क मान्दै कल्पनाले भनिन्। तीनवटा दाँत सडेपछि पनि दाँत सफा गर्न र मुख कुल्ला गर्न सल्लाह दिँदा पनि कञ्चनले मानिनन्। ‘क्वाँ क्वाँ गर्दै रुन थाल्छिन्। समातेर दाँत सफा गरिदिने हो भने उक्क उक्क गर्दै वान्ता गर्छिन्’, कञ्चनकी आमाले भनिन्।

भाइवहिनीहरू, तिमीहरूको पनि कञ्चनको जस्तै दाँतमा अड्किने गुलिया पदार्थ खाने बानी छ भने बेलैमा सजग हुनुपर्छ है। तिमीहरूले दाँत किरा लागेको त देखेका छौ नि। हेर्दा कालो भएको दाँतलाई किरा लागेको भनेर बुझ्ने गरिन्छ। किरा लाग्ने भनेको दाँत सड्ने हो। किरा लागे पछि दाँत दुख्न थाल्छ। दाँत भित्र देखिने किरा हुँदैन। सडेर, मक्किएर वा कुहियर दाँत जाने गर्छ। दाँत कुहिएर झर्‍यो भने फेरी आउँदैन। सानो उमेरमा दाँतको हेरचाह नगर्दा दाँत कुहिएर दाँत झर्ने वा विग्रने भएकोले मुख कुल्ला गर्नु र दाँत माझ्नु पर्ने बरिष्ठ दन्त चिकित्सक डा. सुशील कोइरालाको सल्लाह छ।

कुल्ला गर्न सिकाउँ

दाँत विग्रन्छ भनेर अभिभावकले बालबालिकालाई गुलियो खानै नदिने गर्नु भने हुँदैन। उनीहरू गुलियो खान मन पराउँछन र त्यसैमा झुमिन्छन् पनि। तर धेरै समय लगाएर चपाउनु पर्ने, मुखमा धेरै बेर रहने गुलियो खानेकुराको मात्रा कम गर्नु पर्ने डा. कोइराला बताउँछन्। कुकिज, विस्कुट, चाउचाउ, पाउरोटी जस्ता खाद्य पदार्थ मुखमा अड्किने गर्छन्। मुखको कुनाकाप्चामा टाँसिएर बस्ने गर्छ। मुख कुल्ला गर्दा पनि राम्रोसँग पखालिँदैन। खाना खाएपछि कुल्ला गर्ने हामी नेपालीको संस्कारलाई निरन्तरता दिँदै बालबालिकामा पनि कुल्ला गर्ने बानी बसाल्नुपर्ने उनको सुझाव छ। दाँत माझ्न नभ्याएमा कुल्ला गर्दा पनि मुख सफा गर्न सहयोग पुग्छ।

खाना खाएपछि दाँत जुठो हुन्छ। जुठो भएपछि दाँत माभ्mनु पर्छ भन्ने सोच बालबालिकाको दिमागमा राख्न सके राम्रो हुन्छ। यसो गर्न सकियो भने पचास प्रतिशत दाँत किरा लाग्नबाट जोगाउन सकिने डा. कोइरालाको भनाई छ। खानपिनपछि दाँत सफा गर्ने कुरा सिकाउनु जरुरी छ। महंगो र ठुलो स्कुलमा पढाएपनि दाँत बिग्रेको समस्याले धेरै बालबालिका सल्लाह लिन आउने गरेको डा. कोइरालाको अनुभव छ। पुल्पुलिएर पालिएका र अटेरी बालबालिकामा जंक फुड खाने बानीले दाँतको समस्या निम्त्याउने उनी बताउँछन्।

कपासले पुछिदिउँ

नवजात शिशुलाई बोतलले दुध खुवाउने गरिन्छ। दुध खाएर सुत्ने बालबालिकाको मुखमा दुधको घुड्को रहेको हुन्छ। मुखमा दुध रहँदा किरा लाग्ने सम्भावना हुने डा. कोइराला बताउँछन्। दुध खुवाइसकेपछि अन्तिममा पानी पनि खुवाउनु पर्छ। दुध पिएपछि एक चम्चा भएपनि पानी खुवाउँदा कुल्ला गरेझैं सफा हुन सहयोग पुग्छ।

भर्खरै स सानो दाँत उम्रिएको छ भने कपासमा पानीले भिजाएर पुछिदिनु पर्छ। आठ दश वटा दाँत आएको छ भने नरम खालको ब्रसले दाँत माझ्न सिकाउनु पर्छ। फ्लोराइडयुक्त मञ्जन र नरम ब्रसले तलमाथि सबैतिरका दाँत माझ्नु पर्छ।

अभिभावक र स्कुलको भूमिका

बरिष्ठ दन्त रोग विशेषज्ञ डा. कोइरालाका अनुसार दाँत तथा मुख सफा नगर्दा के कस्तो समस्या निम्तन्छ भन्ने थाहा नपाउने उमेरका बालबालिकाका अभिभावक र विद्यालयका शिक्षक÷ शिक्षिकाले हेरचाह गर्नु पर्ने हुन्छ। बालबालिका अलि ठुलो र बुझ्ने भइसकेपछि आफै पनि जिम्मेवार बन्छन्। जिम्मेवार नबन्दासम्म अरुले नै ख्याल गर्नु पर्ने हुन्छ।

दुधे दाँत आएको अवस्था देखिनै दाँतको हेरचाह गर्नु पर्छ। सामान्यतया १२ वर्ष मुनिको उमेरसम्म दुधे दाँत रहेको हुन्छ।

जन्मेको ६ महिनापछि विस्तारै दाँत आउन थाल्छ। पहिलो दाँत निस्केदेखि नै सफा गर्नु पर्ने सल्लाह डा. कोइरालाको छ। पाँच वर्षसम्मका छोराछोरीको दाँत सफा गर्नमा अभिभावकले नै ध्यान दिनुपर्ने हुन्छ। ब्रस चलाउन र दाँत माझ्न नसक्दासम्म बाबुआमाले नै ख्याल गर्नु पर्छ। अभिभावकले नै दाँत माझिदिनु पर्छ। स्कुल जानु भन्दा अगाडी र साँझ खाना खाइसकेपछि दाँत माझिदिनु पर्ने दायित्व अभिभावकको भएको डा. कोइरालाको भनाई छ। बेला बेलामा छोराछोरीको मुख हेर्ने र सफा गरिदिने गर्नु पर्छ। मुखभित्र कालो टाटा वा दागहरू छ अथवा फोहोर अड्किएको छ भने सफा गरेर हटाइदिनु पर्छ।

स्कुल भर्ना गर्नु अगाडि एक पटक दन्त चिकित्सक समक्ष मुख र दाँतको अवस्थाबारे जचाउन लैजानु उपयुक्त हुन्छ। दन्त विशेषज्ञले दाँतको अवस्था, समस्या आदि बारेमा सल्लाह दिन्छन्।

स्कुलमा विद्यार्थी आउने वित्तिकै तिमीहरूले दाँत माझ्यौ कि माझेनौ भनेर सोध्ने गर्नुपर्छ। शिक्षकहरूले विद्यार्थीलाई सोध्ने हो भने दाँत माझ्ने बानीको विकास हुने डा. कोइराला बताउँछन्। अभिभावकले भन्दा शिक्षकले भनेको कुरालाई विद्यार्थीले ग्रहण गर्छन्। सरसफाईको पनि नम्बर दिने हो भने बालबालिका स्कुल जाँदा सफा र चिटिक्क भएर जाने गर्छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.