नानीबाबुसँग भैरव रिसालका मनका कुरा
म तीन वर्षको हुँदा आमा बित्नुभएछ। मातृवात्सल्य र काखे शिक्षाबाट म बञ्चित भएछु। सौभाग्यवश बाले अर्को विवाह गर्नु भएछ। हाम्रो समाजमा सौतेनी आमा प्रिय हुँदैनन् भन्ने मान्यता छ। अझ झट्केला छोराछोरीलाई सौतेनी आमाले राम्रो गरेको बिरलै मात्र भेटिन्छ। तर हाम्रो घरमा त्यस्तो थिएन।
कान्छी आमा र मेरो उमेर चार वर्षको मात्र फरक थियो। हामी नातामा आमाछोरा र व्यवहारमा दिदीभाइ जस्तै भयौं। बुवाको यो तेस्रो विवाह थियो। उहाँहरूको उमेर ३७ वर्षले फरक थियो। यस्तो अनमेल विवाह उतिबेला सामान्य हुन्थ्यो। कानुनी बन्देज थिएन।
हाम्रो परिवारको आर्थिक अवस्था अत्यन्तै दयनीय रहेछ। गरिबीकै कारण म एक्लो छोरो भएर पनि विवाह गर्न गाह्रो भइरहेको थियो। बा पुरोहित्याइँ गर्नुहुन्थ्यो। छोरालाई पढाउनुपर्छ भन्ने चेत उहाँमा रहेछ। मैले साउँ अक्षर घरैमा चिने। सामान्य गणित पनि पढेँ।
आमा बितेपछि बुवा भक्तपुर, गुण्डुको तिथलीबाट दधिकोट सर्नुभएछ। त्यसबेला भक्तपुरमा लुभु, ठिमी र भक्तपुर सहरमा मात्रै पाठशाला थिए। लुभुको भाषा पाठशाला पायक पर्ने भएकाले बुवाले मलाई त्यहीँ भर्ना गरिदिनु भयो।
बुवा सामान्य कर्मकाण्ड मात्र गराउनुहुन्थ्यो। ठूला कार्जे गराउन नसक्ने, भएकाले उहाँको आम्दानीले घर चलाउन गाह्रो थियो। त्यसैले उहाँको एक मात्र आवश्यकता र चाहना छोरो चाँडै गरुड पुराण भन्न सक्ने र व्रतबन्ध र विवाहको लगन लेख्न जान्ने होस् भन्ने रहेछ।
यहाँ गुरुजी र बुवाको मत बाझेछ। बुवालाई पाससास केही नचाहिने, गुरुलाई आफ्ना छात्रहरू पास गराउनै पर्ने। अन्तत गुरुले बालाई आठ कक्षा अर्थात् प्रथमा परीक्षा दिएपछि छोरो पास पनि हुन्छ गरुड पनि भन्न सक्छ भनिदिनु भएछ।
त्यसबेला गरुड भन्नेलाई १२ माना चामल, नौ मोहोर नगद (साढे चार रुपैयाँ) दिने चलन थियो। त्यस्तै, लगन लेख्दा एक मोहोर नगद (५० पैसा) र सिंगो सुपारी अनि एक जोर जनै पाइन्थ्यो। बालाई यसरी आउने आम्दानीप्रति आकर्षण र आवश्यकता दुवै रहेछ। पछि रानीपोखरी राजकीय प्रधान पाठशालामा परीक्षा दिएर म प्रथमा (कक्षा ८) पास भएँ।
त्यसपछि बाले आफ्नै खर्चमा सूूर्य विनायकमा भागवत लगाउनुभयो। म प्रमुख वाचक थिएँ। काठमाडौंका यजमान जिम्मा लिएर म यतै बस्न थालेँ। साहित्य विषय लिएर कक्षा ९ मा भर्ना भएँ। त्यसबेला कक्षा १२ अर्थात् सम्पूूर्ण मध्यमाको परीक्षा दिन बनारस जानुपथ्र्याे। म तीनधारा संस्कृत पाकशालामा बस्न थालेँ। त्यहाँ खान र बस्न फ्री थियो।
२००७ सालको आन्दोलन दबाउन सरकार हरतरहले लागेको थियो। हामी पनि आन्दोलनमा सामेल थियौं। त्यो साल परीक्षा दिन गएनौं। पछि फारम भर्ने जति सबै पास भयौं। त्यसपछि मैले शास्त्री गरेँ। आचार्य पढ्दापढ्दै घर व्यवहारले गाँज्यो। पूरा गर्न सकिनँ। अन्य विषय पढ्दै गएपछि संसार बुझ्ने क्षेत्र फराकिलो भयो। मैले कर्मकाण्डलाई निरन्तरता दिइन।
पाकशालामा बस्दा ‘आज’ नामको हिन्दी पत्रिका नियमित आउँथ्यो। वनारसमा हुने हाम्रो परीक्षाको रिजल्ट पनि त्यसैमा छापिन्थ्यो। म एकाएक साथीहरूलाई हिन्दी सिकाउन र पत्रिकामा छापिएका विषय माथि छलफल गर्ने भएछु। यसले पनि पत्रकारितामा आकर्षित गरेछ।
२०१२ सालमा हालखबर नामको दैनिक पत्रिकाबाट मेरो औपचारिक पत्रकारिता सुरु भयो। त्यसबेला पत्रिकाको मूल्य दुई पैसा थियो भने मेरो मासिक तलब सय रुपैयाँ थियो। मैले उतिबेलै लोकसेवा आयोगको परीक्षाबाट ग्र्याजुएट अफिसरमा नाम निकालेको थिएँ। तर राजनीतिमा लागेको भनेर मलाई जागिर दिइएन।
भाइबहिनीहरू, पहिले श्रुती शिक्षा पद्धति प्रचलित थियो। केटाकेटी फकाउन, फुल्याउन अभिभावकले नानीबाबुलाई कथा भनिदिने चलन थियो। त्यसबेला देवता, दानव, प्रेत, भूतका कथा सुनाइन्थ्यो। वीरता, बहादुरीका कथा, रामायण महाभारतका कथा पनि सुनाइन्थ्यो। साथै समाजका पुराना घटनाहरू पनि सुनाउने चलन थियो। बुवाले मलाई पनि लडाइँका कथा सुनाउनुहुन्थ्यो। उहाँलाई विश्वयुद्ध भन्न आउँदो रहेनछ।
हिजोआज त्यसरी कथा भन्ने चलन प्राय हटेर गएको छ। संयुक्त परिवारमा बस्नेको संख्या कम हुँदैछ। भाइबहिनीले यस्ता पुराना कथाहरू खोजेर पढ्ने बानी बसाल्नुपर्छ। यसबाट हिजो र आजको समाजका समानता र असमानता बारे बुझ्न सजिलो हुन्छ। बजारमा किताबहरू धेरै पाइन्छन्। तर सही किताब छान्नु सक्नुपर्छ है। यसका लागि अभिभावक र गुरुको सहयोग लिन सकिन्छ।
हाम्रो पालामा उखान टुक्का पढ्ने पढाउने चलन थियो। यसमा छोटो छरितो वाक्यमै ठूूलो भाव हुन्छ, कथा लुकेको हुन्छ। उखान टुक्काले दिमागलाई तीक्ष्ण बनाउँछ। यसले पुराना लोप हुन लागेका कुराको याद पनि गराउँछ। त्यस्तै गाउँ खाने कथाले पनि दिमागलाई सक्रिय राख्छ। स्मरण शक्ति बढाउँछ। लोप हुन लागेका मान्यता, भनाइ आदिलाई बचाएर राख्छ। यसलाई निरन्तरता दिन सबै जिम्मेवार बन्नुपर्छ। सामाजिक सद्भाव भड्काउने खालका उखान टुक्काबाट चाहिँ टाढा रहनुपर्छ है।
भाइबहिनीले आफ्नो रुचि र क्षमताभन्दा बाहिरको काममा हात हाल्नु हुँदैन। चाख भएको विषयमा मात्रै प्रगति गर्न सकिन्छ। त्यसैमा अब्बल हुन कोसिस गर्नुपर्छ। हाम्रो समाज दिनहुँ व्यस्त बन्दै गएको छ। यसले समाज र समुदायसँग हामीलाई टाढा बनाएको छ। भाइबहिनीले समाजका हरेक पक्षबारे जान्न कोसिस गर्नुपर्छ। भिन्न समुदायका साथीसँग छलफल गर्नुपर्छ। सामाजिक भावनाले जीवनभर आनन्द प्राप्त हुन्छ।
संस्कृत भाषाले अन्य भाषा सिक्न सजिलो हुँदो रहेछ। म संस्कृतको विद्यार्थी भएकाले मेरो कुरा अलि पूर्वाग्रही पनि लाग्ला। केटाकेटीलाई तर्साएर, हप्काएर, धम्क्याएर तह लाउने चलन अझै कतैकतै छँदैछ। भाइबहिनीले आफूूभन्दा सानालाई सकारात्मक सन्देश दिने कुरा मात्र गर्नुपर्छ। सही बाटोमा हिँडाउनुपर्छ। आफूू पनि मार्गदर्शक बन्न सधैं प्रयास गरिरहनुपर्छ।
पत्रकारिताले संसार चिनाउन मद्दत गर्छ। हिजोआज आम नागरिकको चाख फराकिलो बन्दै छ। विश्व चिन्न चाहनेको संख्या बढेको बढ्यै छ। यो जीवन पद्धतिसँग पनि गाँसिदैछ। यसकारण भाइबहिनीले सूूचना प्रविधिसँग जोडिएर अध्ययन क्षेत्र फराकिलो पार्न पनि आवश्यक भएको छ।
(वरिष्ठ पत्रकार रिसालसँग समीरबाबु कट्टेलले गरेको कुराकानीमा आधारित)