नानीबाबुसँग अनुराधा कोइरालाका मनका कुरा

नानीबाबुसँग अनुराधा कोइरालाका मनका कुरा

म गुरुङ परिवारमा जन्मिएकी हुँ। मेरो बाजे साधुजस्तै हुनुहुन्थ्यो। जाँडरक्सी, मासुमांस केही पनि नखाने। बाबा भारतीय सेनामा कर्णेल। उहाँ घर आएका बेला ल्याएको रक्सी बज्यै र ठूलोबुवाले मात्रै खानुहुन्थ्यो। हाम्रो परिवार सामान्य खाले थियो।

बाजे नित्य पूजाआजा गर्नुहुन्थ्यो। बिहान बेलुका दुईदुई घन्टा पूजा र आरती हुन्थ्यो। उहाँ धार्मिक मात्र होइन, अत्यन्तै सामाजिक र उदारमना हुनुहुन्थ्यो। न्याय निसाफमा उत्तिकै अब्बल। उहाँ गाउँको सरदार नै हुनुहुन्थ्यो।

गाउँका हरेक मुद्दा मामिला बाजेले नै मिलाउनुहुन्थ्यो। कुटपिट, लेनदेन, अंशबन्डा, महिलाहिंसा, इत्यादि। त्यतिबेला सामान्य विवाद लिएर प्रहरीकोमा जाने चलन थिएन। अझ महिला हिंसालाई बाहिर ल्याउने चलन नै थिएन। त्यसबेला पनि दर्दनाक हिंसा र विभेदका घटना हुँदा रहेछन्। मैले पछि मात्र यसबारेमा अनुभव गर्न थालेँ।

हामी दुई दिदीबहिनी र चार दाजुभाइ थियौं। हाम्रो घरमा छोरा र छोरीबीच भेदभाव थिएन। छोरीलाई छोराभन्दा राम्रोसँग पढाउनुपर्छ भन्ने चेत हाम्रो परिवारमा थियो। यसकै प्रभावस्वरूप हुन सक्छ, हामी दिदीबहिनी अंग्रेजी स्कुलमा पढ्थ्यौं। हाम्रा दाजुभाइ नेपाली स्कुलमा पढ्थे। छोरीहरू अर्काको घर जान्छन्, के गरी खालान्, यिनीहरूलाई राम्रोसँग पढाउनुपर्छ भनेर बाजेले अरूलाई पनि भनिरहनुहुन्थ्यो। यी यस्तै कुराले मेरो जीवनमा प्रभाव पार्दै गएछ। सामाजिक भावनाको विकास हुँदै गएछ।

हामी जाडो महिनामा मात्रै लामो समय बस्ने गरी घर आउन पाउँथ्यौं। दसैं तिहारमा बिदा कम हुन्थ्यो। घरमा सबैजना भेला हुँदा बाजेले सत्यनारायणको पूजा लगाउनुहुन्थ्यो। बाबा ममी हामीभन्दा पातलो घर आउने भएकाले हाम्रो रेखदेख प्रायः सबै बाजेले नै गर्नुहुन्थ्यो।

बाजेले केटाकेटी भेला पारेर कथा–कहानी सुनाएको म झल्झली सम्झिन्छु। उहाँ बहादुरीका कथा, न्यायका कथा सुनाउनुहुन्थ्यो। हामी पनि उहाँसँग ज्यादै झुम्मिन्थ्यौं।

हाम्रो स्कुल क्रिश्चियन भएकाले म पनि भजन मण्डलीमा सामेल थिएँ। मेरो मीठो स्वरले त्यहाँ थप आकर्षित गरेको थियो। म पनि निकै नजिकिएछु। कुरैकुरामा एकदिन मैले बाजेलाई आफूू क्रिश्चियन बन्ने मनसाय प्रकट गरेँ। उहाँले तेरो बाबु घर नआउने भएछ, अर्को विवाह गरेछ भनेर जवाफ दिनुभयो। अरू केही भन्नु भएन। सौतेनी आमा आएपछि निम्तिन सक्ने समस्याले मलाई सताउन थाल्यो।

तेस्रो दिन बाजेले नयाँ धर्मले तँलाई उत्तिकै आदर गर्ला त ? भनेर सोध्नुभयो। परम्परादेखि मानेर ल्याएको धर्म जस्तो नयाँ हुँदैन। यो सौतेनी आमा जस्तो हुन सक्छ। धर्मका बारे आफैं बुझ्ने नहुन्जेल कतै बहकिनु हुँदैन भनेर उहाँले सम्झाउनुभयो।

उहाँ सबै धर्मप्रति समान धारणा राख्नुहुन्थ्यो। यसले मेरो जीवनमा ठूलो प्रभाव पारेको छ। क्रिश्चियनका विभिन्न भेदमध्ये रोमन क्याथोलिकबाट म निकै प्रभावित छु। र सधैं आदर पनि गर्छु।

यहाँ मैले धर्मको कुरालाई किन स्थान दिएको भने समाजमा धर्म प्रचार र परिवर्तन गर्न बालबालिकाको समेत प्रयोग गरिँदै छ। यसले विभेद र हिंसाका घटना पनि बढाएको छ। यसप्रति तिमीहरू सचेत हुनैपर्छ। तर सबै धर्मप्रति समभाव राख्ने कुरामा भुल्नु हुँदैन नि।

स्कुलमा हाम्रा देशीविदेशी साथीहरू थिए। हामी न्याय र समानताका लागि सचेत हुँदै गयौं। म साथीहरूभन्दा अलि फरक स्वभावकी थिएँ। अन्यायका प्रति जाइलाग्ने स्वभाव थियो मेरो। तर म अति नै मेहनती थिएँ। पढाइका अतिरिक्त नृत्य, खेलकुदमा मेरो विशेष चाख र रुचि थियो।

सानो होस् या ठूूलो सबैको इज्जत बराबर हुन्छ। यसप्रति सधैं सचेत हुनुपर्छ। सानालाई माया गर्ने र ठूलालाई आदर गर्ने कुरा जीवन मन्त्र बनाउनु पर्छ। हामीले नयाँ कुरामा भन्दा आफूसँग भएकै कुरामा चित्त बुझाउने र सन्तोष लिने बानी बसाल्नुपर्छ।

हामी नयाँनयाँ भाषा सिक्न समय खर्चिन्छौं। आफ्नै मातृभाषा र नेपाली भाषाप्रति चासो गर्दैनौं। यसले हाम्रै समाजमा हुर्किएका भाषाहरू लोप हुने स्थितिमा पुगेका छन्। हाल अन्तर्राष्ट्रिय अंग्रेजी भाषा अनिवार्य बन्दै गएको छ। यसप्रति पनि चनाखो बन्नुपर्छ।

तिमीहरू जे विषयमा हात हाल्छौ त्यसमा अब्बल हुनैपर्छ। पढाइलाई सधैं उच्च प्राथमिकतामा राख्नुपर्छ। कोर्सको मात्र पढाइले धेरै कुरा सिक्न सकिँदैन। त्यसकारण साहित्यका अतिरिक्त रुचिअनुसारका किताब पढ्ने बानी बसाल्नुपर्छ।

भाइबहिनीले अनुशासनलाई मूल मन्त्र बनाउनुपर्छ। मान्छे अनुशासित भएन भने समुदाय र समाजलाई नै नकारात्मक असर पर्छ। यसलाई मैले पनि जीवनमा मूल मन्त्र ठानेकी छु। तिमीहरूले आफूभन्दा ठूूलाको अर्ती र उपदेश सधैं ध्यानपूर्वक सुन्नुपर्छ। तिमीहरूको उमेर आफैं निर्णय गर्न सक्ने परिपक्व भइसकेको छैन नि।

तिमीहरूले महिला हिंसा, बलात्कार, बेचबिखनका बारेमा पनि सुनेका, जानेका छौ। हिजोआज यस्ता अधिकांश घटना सामाजिक सञ्जालको माध्यमबाट हुने गरेका छन्। फेसबुकलगायतका सामाजिक सञ्जालको दुरुपयोगमा तिमीहरूको पुस्ता नै बढी सक्रिय देखिन्छ। यसतर्फ पनि होसियार हुन आवश्यक छ। तर प्रविधिमैत्री चाहिँ हुनैपर्छ नि।

पञ्चायतकालदेखि नै चेलीबेटी बेचबिखनको समस्या जटिल बन्दै गएको थियो। त्यतिबेला हामी अहिलेजस्तो आवाज उठाउन सकिरहेका थिएनौं। सन् १९९३ मा माइती नेपालको स्थापना भयो। त्यसपछि हामी हिंसा र बेचबिखनको क्षेत्रमा दत्तचित्त भएर लाग्यौं। हाल यसको अन्त्य गर्नका लागि लागिपरेका छौं। हाम्रो अभियानमा भाइबहिनीको पनि साथ र समर्थन अवश्य रहने नै छ। यस्तो सामाजिक कलंकका विरुद्ध हामी सबै एक हुनु जरुरी छ।

(वरिष्ठ समाजसेवी एवं प्रदेश नं ३ की प्रमुख कोइरालासँग समीरबाबु कट्टेलले गरेको कुराकानीमा आधारित।)


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.