अदुवाको मूल्य बढ्दा किसान खुसी

अदुवाको मूल्य बढ्दा किसान खुसी

बिर्तामोड : एक महिना अघिसम्म भारतले अदुवा निकासीमा अवरोध गरेपछि निराश बनेका पूर्वका अदुवा किसानले निकासी खुलेको केही दिनमै राम्रो मूल्य पाउन थालेका छन् ।

अदुवा उत्पादन भएर बिक्री गर्ने मुख्य सिजनमा भारतीय अवरोधका कारण प्रतिमन ३÷४ सय रुपैयाँमा पनि बिक्री हुन मुस्किल भएको अदुवाको भाउ अहिले बढेर प्रतिमन (४० किलो)को एक हजार सात सय रुपैयाँसम्म पुगेको छ ।

पहिले निकासी नहोला र लागतसमेत उठाउन नसकिएला भन्ने पिरमा परेका किसानलाई ढिलै भए पनि राम्रो मूल्य आएपछि राहत मिलेको झापा मेचिनगर–६ का कृषक रामनारायण घिमिरेले बताए । ‘पहिले सडकमै अदुवा सड्ला भन्ने लागेको थियो तर अहिले ढिला भए पनि राम्रो मूल्य पाएका छौं, माग पनि राम्रै छ’, कृषक घिमिरेले भने ।

पहिले निकासी रोकिँदा झापाका कृषकले बिक्रीका लागि तयारी अवस्थामा राखेको अदुवा सडक किनारमा नै थन्किएको थियो भने पहाडी जिल्ला इलाम, पाँचथर र ताप्लेजुङका कृषकको अदुवा बारी तथा व्यापारीको गोदाममा राखिएको थियो । अहिले भण्डारण गरिएको अदुवा धमाधम निकासी हुन थालेको छ । निकासी सुरु भएपछि सबै जिल्लाका कृषकले राम्रो मूल्य लिइरहेको झापाका व्यापारी अजयराम बताउँछन् ।

पूर्वमा ८० हजार मेट्रिकटन अदुवा उत्पादन हुने पूर्वाञ्चल क्षेत्रीय कृषि निर्देशनालय विराटनगरको तथ्यांकमा उल्लेख छ । अदुवा उत्पादनका लागि पूर्वको हावापानी राम्रो भएकाले पनि यहाँ अदुवाको उत्पादन राम्रो हुने गरेको जिल्ला कृषि विकास कार्यालय झापाका बरिष्ठ कृषि विकास अधिकृत प्रकाशकुमार डाँगीले बताए ।

झापासहित पाँचथर, इलाम, तेह्रथुम, ताप्लेजुङ र धनकुटामा अदुवाको राम्रो उत्पादन हुने गर्छ । झापामा तीन सय ४२ हेक्टरमा खेती हुने अदुवाको वार्षिक उत्पादन चार हजार पाँच सय ८३ टन रहेको जिल्ला कृषि विकास कार्यालय झापाले जनाएको छ ।

गत आर्थिक वर्षमा पूर्वमा सबैभन्दा बढी इलाममा ४५ हजार नौ सय ९४ मेट्रिक टन अदुवा उत्पादन भएको जिल्ला कृषि विकास कार्यालयको तथ्यांक छ । इलाममा १२ हजार नौ सय ३२ किसान अदुवाको व्यावसायिक खेती गर्छन् । तीन हजार दुई सय ३३ हेक्टरमा खेती भइरहेको अदुवा एकदेखि ७० मनसम्म खेती गर्ने किसान इलाम जिल्लामा छन् । यस्तै पाँचथरमा दुई हजार हेक्टरमा अदुवा खेती हुने गरेको छ । पाँचथरमा २१ हजार एक सय ७७ टन अदुवा उत्पादन हुने गरेको छ ।

ताप्लेजुङ, पाँचथर, इलाम र झापामा मात्रै तीन हजार सात सय ७० हेक्टरमा अदुवा खेती हुने गरेको तथ्यांक कृषि कार्यालयसँग छ । मेचीका चार जिल्लाको वार्षिक उत्पादन सरदर ५५ हजार ४० मेट्रिक टन छ । नेपालका २६ जिल्लामा अदुवा खेती हँुदै आएको छ ।

यहाँको उत्पादन ९४ प्रतिशत भारत निर्यात हुने गरेको छ । अन्य सुठोका रूपमा अन्य देश जाने गरेको व्यवसायी बताउँछन् । नेपाली अदुवाको मुख्य बजार भारतको सिलिगुडी र पानीट्यांकी हुन् । नेपालको कुल अदुवा उत्पादनमध्ये ३१ प्रतिशत हिस्सा पूर्वका जिल्लाले ओगटेका छन् ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.