कुटाइको डरले पढाइबाट वञ्चित
गौर : कटहरिया नगरपालिका–९ स्थित डुमरिया टोलका एक सय मुसहर बालबालिका विद्यालय जान सकेका छैनन्। साथी तथा शिक्षकले पिट्ने डरका कारण उनीहरू विद्यालय जान छाडेका हुन्।
एक किलोमिटर टाढा रहेको विद्यालयमा गत वर्ष नाम लेखाए पनि उनीहरू पढाइबाट वञ्चित हुँदै आएका छन्। विद्यालय जाँदा फोहोरी भन्दै मुसहर बालबालिकालाई अन्य विद्यार्थी तथा शिक्षकले हेला गर्ने, पिट्ने गरेपछि पढ्न जान छाडेको अभिभावकको भनाइ छ। यो टोलमा ५८ घर मुसहरको बसोबास छ।
यो टोलका सबै बालबालिका विद्यालय जाँदैनन्। उनीहरूको एउटै भनाइ छ, ‘विद्यालय जाँदा गाली गर्छन्, कुटाइ खानुपर्छ।’
सरकारीमा हरेक वर्ष छोराछोरीको नाम लेखाउने गरे पनि गरिबीका कारण किताब, कापीदेखि कपडासम्म किन्न नसकेको अभिभावकको गुनासो छ। पढ्ने उमेरका अधिकांश बालबालिका तरहरी खोला किनारमा दिनभर खेल्ने र सुँगुर, बाख्रा चराउँदै गरेका भेटिन्छन्। गत वर्ष कक्षा १ मा भर्ना भएका सोरया माझीले भने, ‘शिक्षकले पिटेर कक्षामा बस्न नदिएकाले पढ्न जान छाडिदिएँ।’
गत वर्ष दुई छोराछोरीलाई विद्यालय भर्ना गरे पनि जान छाडेको स्थानीय गीतादेवी माझी मुसहरले बताइन्। मुसहर बालबालिकालाई शिक्षकले नपढाउने गरेको अभिभावक वीरेन्द्र माझी मुसहरको भनाइ छ।
यो टोलमा खानेपानीका लागि दुईवटा चापाकल छन्। पानी अभावका कारण बस्तीमा सरसफाइको अवस्था नाजुक छ। अभिभावक मजदुरी गर्न जाने हुँदा छोराछोरीको सरसफाइमा ध्यान दिन पनि सकेका छैनन्।
छोराछोरीको पढाइ, उपचारका लागि हेरचाह गर्न नसकिएको स्थानीय कालीचरण माझी मुसहरले बताए।
‘साथीहरूले फोहोरी भन्दै कोठामा बस्न दिँदैनन्’, जगदीश माझीले भने, ‘शिक्षकले पढाउँदैनन्, हाम्रो कुरा कसैले सुन्दैन।’
शिक्षकले मुसहर बालबालिकालाई ध्यान नदिने गरेको समुदायका अगुवाको भनाइ छ। ‘सरकारले निःशुल्क शिक्षा भने पनि मुसहरका छोराछोरीले पढ्न पाएका छैनन्’, राष्ट्रिय मुसहर संघका केन्द्रीय उपाध्यक्ष नथुनी माझी मुसहरले भने।