बन्द हुँदै जुत्ताचप्पल उद्योग
धनकुटा : धनकुटाको संगम टोलका जय बोगटीलाई दुई दशक अघिसम्म जुत्ताचप्पलको माग धान्न हम्मेहम्मे थियो। उनले बनाएका छालाका जुत्ताचप्पल धनकुटा सदरमुकाममा मात्र होइन हिले, पाख्रिवास, सिँधुवा, डाँडाबजारसँगै तेह्रथुमको वसन्तपुरसम्म बिक्री हुन्थे। सोही टोलमा रहेको मोहन सु–सेन्टरमा पनि जुत्ताचप्पल किन्न आउनेको भीड हुन्थ्यो। सञ्चालक मोहन बोगटीलाई जुत्ता बनाउन भ्याइनभ्याइ हुन्थ्यो।
घरेलु उद्योगबाट उत्पादन हुने छालाका जुत्ताचप्पलले आयातीत तयारी जुत्ताचप्पलसँग प्रतिस्पर्धा गर्न नसक्दा संकट आएको छ। करिब चार दशक अघिदेखि धनकुटा सदरमुकामसहित विभिन्न स्थानमा सञ्चालित दर्जनभन्दा बढी जुत्ताचप्पल बनाउने उद्योग विस्थापित हुने अवस्थामा पुगेका छन्।
जुत्ता बनाउने पुख्र्यौली पेसा संकटमा पर्न थालेको अजय सु–सेन्टरका सञ्चालक जय बोगटीले बताए। ‘पहिले जुत्ताचप्पलको माग धान्न भ्याइनभ्याइ हुन्थ्यो', बोगटी भन्छन्, ‘तर अहिले दिनमा एक जोर जुत्ता पनि बिक्री हुन छोडेको छ।' बजारको माग तयारी जुत्ताचप्पलले धान्न थाल्यो। घरेलु उद्योगबाट उत्पादित छालाका जुत्ताचप्पल बिक्री हुन छाडेर संकटमा परेको उनले बताए।
ठूला कम्पनीले धेरै पुँजी लगाएर एकैपटक धेरै जुत्ताचप्पल उत्पादन गर्छन्। धेरै उत्पादन गर्दा लागत खर्च पनि कम लाग्छ र बजारमा सस्तोमा जुत्ताको किनबेच हुन्छ। महँगो भएकै कारण बजारको अभाव हुन थालेको जुत्ता उत्पादक अजय बोगटीले बताए।
पहिला स्थानीयस्तरमा उत्पादित जुत्ताचप्पलको बजार यही नै थियो। सीमित उद्योग रहेका कारण उपभोक्ता जुत्ताचप्पल खरिद गर्न सोझै उद्योग आउँथे। अहिले बजारमा जुत्ताचप्पल बिक्री गर्ने धेरै पसल छन्। उनीहरूले तयारी जुत्ताचप्पल किनेर बिक्री गर्दा स्थानीय उत्पादनले बजान नपाएको उनले बताए।
कुनै बेला परम्परागत घरेलु प्रविधिबाट धनकुटामा उत्पादन हुने छालाका जुत्ताचप्पल जिल्लाभित्र मात्र नभई देशका अन्य सहरमा समेत नाम कहलिएको थियो। गुणस्तर र टिकाउका हिसाबले यहाँ उत्पादन हुने छालाका जुत्ताचप्पल निकै लोकप्रिय थिए र सबैले किनेर लगाउँथे।
घरेलु उद्योगबाट उत्पादन हुने छालाका जुत्ताचप्पलले आयातीत तयारी जुत्ताचप्पलसँग प्रतिस्पर्धा गर्न नसक्दा संकट आएको छ।
२०५५ साल अघिसम्म १० जनासम्म कामदार गरेर मासिक ३० हजार रुपैयाँसम्म कमाइ गर्थे। उत्कृष्ट उत्पादनकै कारण २०५३ सालको छालाजन्य वस्तु प्रर्दशनीमा जय बोगटी उत्कृष्ट उद्यमीका रूपमा राष्ट्रिय पुरस्कारले सम्मानित समेत भए। त्यो बेला जुत्ता बनाएर १० लाख रुपैयाँ कमाए। र पक्की घर पनि बनाए। पुख्र्यौली पेसामा भविष्य राम्रो हुन्छ भनेर जेठो छोरा अजय बोगटीलाई समेत यही जुत्ता बनाउने सीप सिकाए र यही व्यवसायमा डोहोर्याए।
छालाको एउटा जुत्ता बनाउन कम्तीमा पनि दुई लाग्ने गर्छ। स्थानीयस्तरमा उत्पादित छालाका जुत्ताको मूल्य न्यूनतम १२ सयदेखि तीन हजार रुपैयाँसम्म पर्ने गर्छ। स्थानीय स्तरमा बनाइएका जुत्ताचप्पल अन्य जुत्ताको तुलनामा टिकाउ र गुणस्तर हुने उनीहरूको दाबी छ।
उपभोक्ताले पनि गुणस्तरभन्दा पनि आर्कषक डिजाइन र सस्तो जुत्ता हेर्न थालेको जय बोगटी बताउँछन्। उनी भन्छन्, ‘मैले बनाएका जुत्ता ८/१० वर्षसम्म लगाएको देखेको छु। अहिलेका नयाँ जुत्ता १÷२ महिना पनि टिक्दैनन्। जुत्ता च्यात्तिएर म कहाँ नै मर्मतका लागि ल्याउँछन्। '
घरेलु तथा साना उद्योग विकास समिति मुख्य शाखा कार्यालय धनकुटामा दर्ता भई सञ्चालनमा आएका जुत्ता उद्योग १० वटा छन्। यो कार्यालयको तथ्यांकअनुसार ती उद्योगले वार्षिक ५० लाख रुपैयाँ बराबरका वस्तु उत्पादन गरेर बिक्री गर्छन्। र प्रत्यक्ष रूपमा करिब ४० देखि ५० जनालाई दिइरहेका छन्। अप्रत्यक्ष रूपमा एक सय ५० जना कामदार उद्योगमा कार्यरत छन्।