नानीबाबुसँग सुवास नेम्बाङका मनका कुरा

नानीबाबुसँग सुवास नेम्बाङका मनका कुरा

हाम्रो पुख्र्यौली घर पाँचथरको फिदिममा भए पनि मेरो जन्म इलाम बजारको एक सरकारी भवनमा भएछ । बुवा रामबहादुर नेम्बाङ लिम्बू समुदायकै पहिलो न्यायाधीश र वकिल पनि हुनुहुन्थ्यो । म इलाममै हुर्किएँ । मैले सानो छँदा कुनै पनि कुराको अभाव महसुस गर्नु परेन । मेरो पढाइ इलाम हाइस्कुलबाट सुरु भयो ।

हाम्रो विद्यालयको पढाइ सामान्य खाले थियो । सदरमुकामस्थित पूर्वकै नामी विद्यालय भएर पनि विषयगत शिक्षकको अभाव थियो । अन्य कतिपय शिक्षक भारतबाट ल्याउने गरिए पनि हामीले एसएलसी दिँदासम्म गणित र विज्ञान पढाउने शिक्षक थिएनन् । अंग्रेजी विषय पढाउनुहुने हाम्रो हेडसर स्व.देवीदास श्रेष्ठले गणित र विज्ञान विषयसमेत पढाउनु भएको सभ्झन्छु ।

मैले त्यहाँ निरन्तर पढ्ने मौका पाइनँ । जागिरे बुवा जताजता जानुहुन्छ म पनि त्यतैत्यतै जान्थें । २०१५ सालमै म काठमाडौं आइपुगेँ । त्यसपछि तौलिहवा, सिन्धुलीगढी, काठमाडौं हुँदै फेरिइलाम फर्किएँ । इलाममा पुगेर कक्षा ७ दोहो¥याएको सम्झिन्छु । 

काठमाडौंको त्रिचन्द्र कलेजमा साइन्स पढ्न आउँदा मात्रै हाम्रो विद्यालयको अवस्था र स्तरबारे थाहा भयो । काठमाडौंका प्रख्यात विद्यालयमा पढेर आएका विद्यार्थीसँग हाम्रो तुलना भएन । स्तर पनि मिलेन । हामीलाई विद्यालयको चौघेराभन्दा बाहिरको कुनै ज्ञान थिएन ।

म मेरा बुवा आमाबाटै सबैभन्दा प्रभावित भएँ हुँला भन्ने ठान्दछु । आमा अत्यन्तै भद्र महिला हुनुहुन्थ्यो । उहाँहरू साथीभाइसँग मिलेर खेल्न झगडा नगर्न सुझाइरहनु हुन्थ्यो । एकपटक फुटबल खेल्दा साथीसँग झगडा भएको बुवाले थाहा पाउनु भएछ । उहाँले तत्कालै साथीसँग माफ माग्न भन्नुभयो । उहाँहरू मलाई सबैसँग मिल्न र नम्र बन्न सल्लाह दिनुहुथ्यो । मैले यो कुरालाई सधैं मूलमन्त्र सम्झेको छु।

म बाल्यकालको एउटा घटना झलझली सम्झिरहन्छु । हामी काठमाडौंमा कांग्रेस नेता प्रेमराज आङदेम्बेसँगै बस्थ्यौं । उहाँ मन्त्री भइसक्नुभएको थियो । कुरा २०१७ सालपछिकै हो । त्यतिबेला अचेल जस्तो फलफूल खाने चलन थिएन । पसलहरू नै पनि कहाँ थिए र । बिरामीलाई चाहिँ यदाकदा फलफूल खुवाउने गरेको देखेको थिएँ ।

(संविधानसभाका पूर्वअध्यक्ष एवं सांसद सुवासचन्द्र नेम्बाङसँग समीरबाबु कट्टेलले गरेको कुराकानीमा आधारित)

म सानैदेखिको हट्टाकट्टा । बिरामी कहिल्यै पनि भइनँ । त्यसदिन फलफूल खानकै लागि बिरामी भएको नाटक गरेर सुतेँ । मलाई स्कुल पठाइएन । त्यसदिन मैले खाना पनि खाइनँ । दिउँसोदेखि ज्यादै भोक लाग्न थाल्यो । म फलफूल कति बेला आउँछ भन्ने कुरामा मात्र केन्द्रित थिएँ । साँझसम्म पनि केही नआएपछि आफैं मुख खोलें – खोइ त अनार ? यो सुनेर सबै जना गलल्ल हाँसे । यो त अनार खान पो बिरामी भएको रहेछ भनेर सबैले खिल्ली उडाए ।

हामी इलामबाट पाँचथरको पुख्र्यौली घरमा बेलाबेला जान्थ्यौं । त्यहाँ हाम्री विवाहित फुपू बस्नुहुन्थ्यो । इलाममा दार्जिलिङको प्रभावले पनि होला पक्की, कच्ची ट्वाइलेट बनेका र बनिँदै पनि थिए । तर हाम्रो घरमा ट्वाइलेट थिएन । मैले बिहान उठेर ट्वाइलेट कहाँ छ भनेर फुपूलाई सोधेँ । उहाँले जंगलतिर जान भन्नुभयो । मेैले उहाँलाई यो साह्रै भएन, ट्वाइलेट नबनाइ हुँदैन भनेर जवाफ दिएँ । उहाँले जवाफमा ‘हामी अलैंची खाने काला हौं र, एकै ठाउँ दिसा गर्नलाई ? हामी त जंगलमै जानुपर्छ’ भन्नुभयो ।

पछि उहाँलाई फकाएर ट्वाइलेट बनायौं । आजकल खुला दिसामुक्त अभियानबारेको समाचार पढ्दा, त्यस्ता कार्यक्रममा भाग लिँदा मेरो मानसपटलमा यहि घटना दोहोरिरहन्छ ।

हाम्रो पहिलो पाठशाला घर हो । हरेक कुराको सिकाइ घरबाटै सुरु हुन्छ । भाइबहिनीले बुवाआमाले भनेको कुरा गम्भीरतापूर्वक सुन्ने, मनन गर्ने र पालन गर्ने गर्नुपर्छ । यही अर्ती उपदेशलाई अगाडि बढ्ने आधार बनाउनुपर्छ । उहाँहरूले लामो अनुभवबाट सिकेका कुरामा जीवन बदल्न सक्ने सामथ्र्य लुकेको हुन्छ ।

हामीले गलत कामबाट सधैं टाढा रहनुपर्छ । अरूलाई नोक्सानी पुग्ने काम गर्नुहुँदैन । स्वास्थ्यलाई हानि पुग्ने जाँड, रक्सी चुरोट, खैनीको सेवनबाट टाढा रहनुपर्छ । लिम्बू समुदायको मान्छे भएर पनि मलाई जाँड, रक्सीमा बानी परेन । चुरोट खैनी त झन् मैले छुँदै छोइन । पछि वकिल भएपछि रेड वाइन खान सिकेँ । आजकल पनि कहिलेकाहीँ त्यही खाने गरेको छु ।

भाइबहिनीले यो ऊर्जाशील उमेरमा धेरै नै मेहनत गर्नुपर्छ । पढ्नमा धेरै ध्यान दिनुपर्छ । आजकल एउटा मात्र विषयको ज्ञान प्रायः अपुरो हुन्छ । मानिसलाई हरेक विषयमा जानकारी हुन आवश्यक छ । त्यसकारण कोर्स बाहिरका किताबसमेत पढ्ने बानी बसाल्नुपर्छ । विज्ञान र प्रविधिबारे जानकारी राख्नुपर्छ । यो ऊर्जाशील उमेर र समय जीवनमा फेरि आउँदैन भन्ने कुरा भाइबहिनीले बुझ्न जरुरी छ ।

समाज परिवर्तनशील छ । समाजको परिवर्तनमा सबैले आ–आफ्नो ठाउँबाट आ–आफ्ना ढंगले भूमिका खेलेको हुन्छ । यसका लागि राजनीतिमै लाग्नुपर्छ भन्ने पनि होइन । मेरो बुझाइमा राजनीति भनेको सेवा हो, पेसा होइन । राजनीतिलाई पेसा बनाइनु पनि हुँदैन । तर हरेक व्यक्तिले आफ्नो देशको राजनीतिक अवस्थाको बारेमा थाहा पाउनुपर्छ । आफ्ना प्रतिनिधिको कामकारबाही बारेमा पनि थाहा पाउनु जरुरी हुन्छ । यसले जनता र प्रतिनिधिबीच विश्वासको वातावरण बनाउँछ ।

मेरा बुवाआमालाई छोरो इन्जिनियर बनोस् भन्ने चाहना थियो । त्यही भएर उहाँहरूले मलाई साइन्समा भर्ना गरिदिनु भयो । आईएस्सी पास भएपछि मलाई कताकताबाट वकिल बन्ने चाहना जाग्यो । त्यसपछि म बीए पढ्न फेरि इलाम गएँ । पछि कानुन विषय लिएर पढेँ । मलाई यो विषय ज्यादै मन पर्छ ।

म अहिले पनि सर्वोच्च अदालतमा गएर बहस गर्न चाहन्छु । धेरै जनाले अर्थ, गृह आदि मन्त्रालय ठूलो अनि महŒवपूर्ण भनेको सुन्छु । तर मलाई कानुन मन्त्रालय सबैभन्दा ठूलो हो भन्ने लाग्छ । राजनीति, व्यवसायजस्ता हरेक विषय कानुनसँग जोडिएको हुन्छ । हाम्रो जीवन नै कानुनबमोजिम चलेको हुन्छ । केही मूल्य मान्यतासँग अडिएको हुन्छ, जोडिएको हुन्छ ।

हामीले कानुनको पालना गर्न सानैदेखि अभ्यस्त बन्नुपर्छ । अभिभावक र गुरुका अर्ती उपदेशलाई पनि कानुन सरह ठान्नुपर्छ । यसले हामीलाई सही बाटो देखाउँछ । जीवन बदल्न सहयोग गर्छ ।
 

(संविधानसभाका पूर्वअध्यक्ष एवं सांसद सुवासचन्द्र नेम्बाङसँग समीरबाबु कट्टेलले गरेको कुराकानीमा आधारित)
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.