किमसँग सीध वार्ता भएको छ : ट्रम्प
वासिङटन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनसँग सीधै वार्ता भएको जानकारी दिएका छन्। लउत्तर कोरिया र अमेरिकाका नेताबीच हुने शिखर सम्मेलनलाई ध्यानमा राखी उच्चस्तरमा यस्तो वार्ता भइरहेको ट्रम्पले खुलासा गरेका छन्। ट्रम्पले सञ्चारकर्मीलाई भने, ‘दुई देशका नेताबीच हुने वार्ताका लागि सम्भाव्य पाँच स्थलका बारेमा विचार भइरहेको छ।
यद्यपि यो वार्ता अमेरिकामा भने हुनेछैन।’ जापानी प्रधानमन्त्री सिन्जो आबेलाई ट्रम्पले स्वागत गर्ने क्रममा यस्तो जानकारी दिएका हुन्।
सिन्जो आबेले यस वार्ताबारे प्रतिक्रिया दिँदै ट्रम्पको साहसको तारिफ गरेका छन्। उनले अमेरिका–उत्तर कोरियाको वार्ता ठोस नतिजा पुग्ने पनि विश्वास लिएका छन्।
उनले उक्त वार्तासँगै अमेरिकी मित्रको चासो पनि सम्बोधन गरिने आशा व्यक्त गरेका छन्।
‘हामीलाई आशा छ, यो वार्ताका क्रममा कोरियाली प्रायद्वीपमा जापानको सुरक्षा चिन्ताको ख्याल गरिनेछ’, उनले भनेका छन्।
जापानले यस वार्ताका क्रममा अमेरिका र उत्तर कोरियाले आफूलाई बेवास्ता गर्न सक्नेतर्फ पनि चिन्ता जनाएको छ। जापान अमेरिकाको मुख्य सहयोगी र उत्तर कोरियाको निकट छिमेकी हो।
उनले आबेसँग द्विपक्षीय बैठक गर्नुपूर्व उनले भने, ‘हामीले उत्तर कोरियासँग सीधै वार्ता शुरु गरेका छौं। प्रत्यक्ष रूपमा विशेष उच्च स्तरीय वार्ता भएको छ, निकै उच्चस्तरीय।’ अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसकी प्रेस सचिव सारा स्यान्डर्सले उक्त सीधा वार्ता राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किमबीच भने नभएको स्पष्ट पारिन्।
उक्त वार्ता अमेरिकी गुप्तचर निकाय (सीआईए) प्रमुख र उत्तर कोरियाली नेता किम जङ उनबीच भएको छ। उनीहरूबीच उत्तरपूर्वी एसियाली मुलुकमा एक साता पहिले गोप्य भेट भएको उल्लेख छ। सन्देशमा भनिएको छ, ‘गतसाता माइक पोम्पेआले उत्तर कोरियाली नेतालाई भेट्नुभएको छ। दुई अधिकारीबीच भएको भेटमा दुई मुलुकबीचका असमझदारीलाई हटाउने विषयमा कुराकानी भएको भेट सकारात्मक रहेको छ।’ भेट दुई देशबीचको सम्बन्ध सुधारका लागि उपयोगी वार्ता भएको अमेरिकी राष्ट्रपतिको भनाइ छ।
कोरियाली प्रायद्वीपमा देखिँदै आएको विवाद तथा उत्तर कोरियाले गरेको आणविक हतियार परीक्षणले लिएको तनावपूर्ण अवस्थामा केही समयपूर्व दक्षिण कोरियामा भएको शीतकालीन ओलम्पिक खेलमा प्योङयाङले सहभागिता जनाउने निर्णय आएपछि सुधारका संकेत देखिएका छन्।
पोम्पिओ र किमबीच भेटवार्ता भएको खबर सबैभन्दा पहिला ‘वासिङटन पोस्ट’ले दिएको थियो। उक्त भेट दुई साताअघि क्रिस्चियन धर्मावलम्बीको चाड इस्टरको सप्ताहान्तमा भएको थियो।
अमेरिकी विदेशमन्त्रीमा ट्रम्पले छनोट गरेलगत्तै उक्त बैठक भएको थियो। ट्रम्प र किमबीच बैठक हुने मिति र ठाउँ भने अझै सार्वजनिक गरिएको छैन। यद्यपि उक्त बैठक जुनमा हुने अनुमान गरिएको छ। वार्ताको मूल उद्देश्य उत्तर कोरियाको परमाणु अस्त्र र क्षेप्यास्त्र परीक्षणमा रोक लगाउनु रहेको छ। उत्तर कोरियाका गतिविधि अमेरिकाका निम्ति खतरा बनेका छन्।