नानीबाबुसँग संस्कृतिविद् तेजेश्वरबाबु ग्वंगको मनका कुरा

नानीबाबुसँग संस्कृतिविद् तेजेश्वरबाबु ग्वंगको मनका कुरा

म सानो छँदा भक्तपुर सहर अहिले जस्तो थिएन, सानो थियो । जताततै हरिया फाँट र खेतीयोग्य जमिन मात्रै थिए । बस्ती अत्यन्तै पातलो थियो । अधिकांश मानिस कृषिमा निर्भर थिए । धान र तरकारी खेती गरिन्थ्यो । भक्तपुरका पुराना भौतिक संरचनाबाहेक मेरो बाल्यकालका सबै कुरा परिवर्तन भइसके भन्दा फरक पर्दैन ।

त्यसबेला बाटोघाटो जताततै थिएन । काठमाडौं जोड्ने सानो बाटो थियो । गाडी थिएनन् । लरी चल्थे । काठमाडौं जान १५ पैसा, २० पैसा, एक सुका भाडा लाग्थ्यो । तीन घन्टासम्म कुर्नुपर्ने भएकाले भक्तपुरवासी हिँडेरै काठमाडौं आवत्जावत गर्थे । कतै पनि धुलो उड्दैनथ्यो । वातावरण स्वच्छ थियो । अहिले जस्तो जमिन टुक्रा पारिएको थिएन । सबैजसो संयुक्त परिवारमै बस्थे । पर्यावरणमैत्री बसाइ थियो ।

 हाम्रो पालामा भक्तपुरमा एउटा मात्र स्कुल थियो त्यहाँ अंग्रेजी पढाइ हुन्थ्यो । मेरो मामाबाजे पनि त्यहाँ पढाउनुहुन्थ्यो । पछि २००३ सालमा पद्मशमशेर       श्री ३ महाराज अर्थात् प्रधानमन्त्री भएको उपलक्ष्यमा भक्तपुरको मिडिल स्कुललाई हाइस्कुल बनाइयो । २००१ देखि २००४ सालसम्म मैलै त्यहीँ पढेँ ।

हाम्रो स्कुल ठेक्का तिर्न नसकेर सरकारीकरण गरिएको एउटा पाँचतले घरमा चलाइएको थियो । कक्षाकोठामा इँटा ओछ्याइएकाले हरबखत धुलो उड्थ्यो । उपियाँले टोकेर दुःख दिएको पनि म झलझली सम्झिन्छु । राजा र प्रधानमन्त्रीको जन्मोत्सवको अवसरमा मिठाई र सेलरोटी बाँड्ने चलन थियो । मिठाई खान पाउँदा हामी ज्यादै खुसी हुन्थ्यौं । त्यतिबेला किनेर खाने पसल पनि थिएनन् । शिक्षा विभागका डाइरेक्टर मृगेन्द्रशमशेर पनि कहिलेकाहीँ आउँथे । उनलाई म राम्ररी चिन्थेँ ।

२००४ सालमा जहानियाँ राणाशासनका विरुद्ध नेपाली कांग्रेसले अभियान चलाएको थियो । तर त्यसका बारेमा मलाई मात्र होइन धेरैलाई केही पनि थाहा थिएन । जनतामा राजनीतिक चेतना अहिले जस्तो कहाँ थियो र ?       

एकदिन स्कुल जाँदै गर्दा काकीले आज रोटी बाँड्ने दिन रहेछ भनेर सुनाउनु भयो । हतारहतार स्कुल पुग्दा गजसुन्दर प्रधान भाषण गर्दै थिए । जगतप्रकाश हाडा, नारायणविलास जोशी र गंगालाल       श्रेष्ठ मञ्चमा थिए ।       श्रोता पनि निकै थिए । गंगालाल       श्रेष्ठ काठमाडौंका भएकाले मसँग परिचित थिएनन् । अरू सबै भक्तपुरकै थिए । उनीहरूलाई राणाले त्यसैदिन पक्रेर लगे र २००५ सालमा मात्रै छाडिदिए ।

मेरो बुवा रकम बन्दोबस्त अड्डामा तहरिर हुनुहुन्थ्यो । उहाँमा छोरालाई राम्रोसँग पढाउनुपर्छ भन्ने चेत थियो । त्यो चेत मामाबाजे विज्ञानबहादुर मल्लले उहाँमा भरिदिनुभएको थियो । म कक्षा पाँचदेखि जुद्धोदय हाइस्कुल काठमाडौं पढ्न थालेँ । त्यहाँ भर्ना गराउनमा पनि उहाँकै हात छ । आजसम्म प्राप्त मेरा उपलब्धिको सबैभन्दा धेरै       श्रेय उनै मामाबाजेमै जान्छ । उहाँ मेरो जीवनदाता जस्तै हुनुहुन्छ ।

२००९ सालमा आमा र बहिनीसँगै बिरामी भएपछि मैले एसएलसी परीक्षा दिन सकिनँ । त्यसपछि भक्तपुरमै शारदा रात्रि विद्यालयमा भर्ना भएँ । त्यसबेला हामी महाकवि लक्ष्मीप्रसाद देवकोटासँग ट्युसन पनि पढ्थ्यौं । उहाँ मलाई अरूको बारेमा कुरा नगरौं तिमी चाहिँ पास हुन्छौ है मिस्टर भन्नुहुन्थ्यो । हामीले २०१० सालमा परीक्षा दियौं । नभन्दै हाम्रो समूहमा ममात्रै पास भएँछु । परीक्षा केन्द्र जुद्धोदय हाइस्कुलमै थियो ।

त्यसपछि मैले त्रिचन्द्र कलेजबाट आईए र नेसनल क्याम्पसबाट स्नातक गरेँ । पछि अमेरिकाको मिसिगन स्टेट युनिभर्सिटीबाट सांस्कृतिक मानवशास्त्र र शिक्षामा स्नातकोत्तर गरेँ । २०१८ सालदेखि त्रिभुवन ग्राम विकास केन्द्रबाट मेरो सरकारी सेवा सुरु भयो ।

म कहिल्यै पनि ब्याकबेन्चर भइनँ । यसले शिक्षकसँग प्रत्यक्ष संवाद गर्न सजिलो हुन्छ । प्रश्नोत्तर गर्न सहज हुन्छ । यस्तो बानीले पढाइमा थप सहयोग गर्दोरहेछ, प्रतिस्पर्धामा आइरहन प्रोत्साहन गर्दो रहेछ । शिक्षकको आँखा परिरहने भएकाले प्यारो भइने मात्र होइन पढुँपढुँ लाग्ने रहेछ ।

म सरले कक्षामा भनेको कुरा जस्ताको तस्तै टिप्थेँ । नोट बनाउँथे । बीए पढ्दा पनि सरले भनेको कुरा उतारेर सुनाउँदा स्याबासी पाएको सम्झिन्छु । यस्तो लेखोट परीक्षाको समयमा बहुत काम लाग्ने रहेछ । हरेक विषय वा प्रसंगलाई एकतर्फी रूपमा हेर्ने भन्दा पनि तुलनात्मक अध्ययन गर्न सके सिकाइको स्तर नै फरक पर्ने रहेछ ।

जीवनमा स्वास्थ्य सबैभन्दा ठूूलो कुरा हो भन्ने कुरा मैले पछि थाहा पाएँ । मान्छे शारीरिक रूपमा हट्टाकट्टा भए मात्र मानसिक रूपमा पनि स्वस्थ्य हुँदो रहेछ । समयमा चिताएको काम गर्न सजिलो हुने रहेछ । यो खानपानमा मात्र होइन व्यायाममा पनि निर्भर हुने कुरा हो । सानैदेखि स्वास्थ्यप्रति चनाखो हुन सके मात्र पछिसम्म बानी पर्ने रहेछ ।

संस्कति जीवन पद्धतिसँगै जोडिएको हुन्छ । संस्कृति मान्छेको जीवन हो भने पनि फरक पर्दैन । यो निसृत पनि हुन्छ । संस्कृति संस्कारबाट निस्कने कुरा हो । व्यक्ति जस्तो किसिमको परिवार र परिवेशमा हुर्कन्छ, उ त्यस्तै हुन्छ । समुदाय पिच्छे अलगअलग संस्कृति हुन्छन् । यी फरकफरक संस्कृति भेला भएपछि नै राष्ट्रिय संस्कृति बन्छ ।

भिन्न समुदायका चाडबाड, जात्रापर्व, भाषा, चालचलनको जानकारीले समाजमा घुलमिल हुन सजिलो हुन्छ । सुसंस्कृत संस्कृति निर्माणमा सहज हुन्छ । जागिरे जीवनको सिलसिलामा देशभर घुम्दाघुम्दै भिन्न भिन्न संस्कृतिका बारेमा जानकारी पाएँ ।

संस्कृतिका विषयमा बुझ्नका लागि सामाजिक विषयमा लेखिएका किताब एवं लेखोटको अध्ययन गर्न सके फाइदा हुने रहेछ । विद्यालयमा अध्यापन गराउने शिक्षकहरू पनि यसप्रति चनाखो हुन सके विद्यार्थीलाई फाइदा पुग्छ ।

(संस्कृतिविद् ग्वंगःसँग समीरबाबु कट्टेलले गरेको कुराकानीमा आधारित)


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.