वैदेशिक रोजगार ठगी मुद्दामा समातिए वडा सदस्य
बेसीशहरः वैदेशिक रोजगारीसम्बन्धी ठगी मुद्दामा एकजना वडा सदस्य पक्राउ परेका छन् । लमजुङ्गको दुधपोखरी गाउँपालिका–१ का वडा सदस्य भरतप्रसाद भट्टराईलाई विहीबार प्रहरीले पक्राउ गरेको हो ।
भट्टराईलाई दुधपोखरी–१ माझीबारीस्थित आफ्नै घरबाट पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक पदमबहादुर विष्टले जानकारी दिए । जिल्लाबाट खटिएको टोलीले उनलाई पक्राउ गरि सदरमुकाम ल्याएको छ । शुक्रबार जिल्ला अदालत बुझाइने प्रहरीले बताएको छ ।
स्थानीय तहको निर्वाचन अघि जिल्ला अदालतबाट ठगी मुद्दामा फैसला भएपनि उनी पक्राउ परेका थिएनन् । अदालतले फरार अभियुक्तहरुलाई पक्राउ गर्न ताकेता गरेपछि उनी पक्राउ परेका हुन् । अदालतबाट उनलाई डेढ लाख जरिवाना र १८ महिना कैद सजाय सुनाएको थियो ।
उनी स्थानीय बागिश्वरी माध्यामिक विद्यालयको व्यवस्थापन समितिका अध्यक्ष एवं नेपाली कांग्रेसका स्थानीय नेतासमेत हुन् ।
उनले गाउँमा अन्य व्यक्तिलाई पनि बैदेशिक रोजगारीमा पठाउँछु भनेर पैसा खाएको स्थानीयले बताएका छन् । उनी पक्राउ परेसँगै पीडितहरु थप मुद्दा लिएर प्रहरीकोमा आउने तयारी गरेका स्थानीयले बताए ।