नानी बाबुसँग साहित्यकार सरुभक्तका मनका कुरा

नानी बाबुसँग साहित्यकार सरुभक्तका मनका कुरा

स्विडेनका प्रसिद्ध भूगर्भशास्त्री टोनी हेगन उत्साहित हुँदै लेख्छन्, ‘मैले संसारका धेरै ठाउँको भ्रमण गर्दा पोखरा सबैभन्दा सुन्दर ठाउँको रूपमा पाएँ।’ मैले पनि त्यही रमणीय पोखराको बागबजारस्थित नेवार बस्तीमा जन्मने सौभाग्य पाएँछु। म सानो छँदा आजको पोखरा सहर सानो गाउँ जस्तो मात्रै थियो। सबै फाँटैफाँट थियो, हरियाली थियो।

आपसमा सबै मान्छे चिन्न कुनै गाह्रो थिएन। सबैजना हिँडेरै आवतजावत गर्थे। गाडीको चलन नै थिएन। त्यसबेला पोखरामा अञ्चलाधीश र केही अड्डाका हाकिमले मात्र गाडी चढ्थे। धुवाँधुलो कतै थिएन। अहिलेको सुन्दर पोखरा उति बेला झन् सफा थियो।

सडकले जोडिनुभन्दा अघिनै पोखरामा विमानस्थल बनेको थियो। जहाजबाटै पर्यटक आवतजावत गर्थे। फेवाताल अत्यन्तै सफा थियो, अहिले जस्तो अतिक्रमणमा परेको पनि थिएन। त्यसबेला रूखको एउटै मुढाबाट बनाइएका डुंगा चल्थे।

हामी सबैजना नेवारी बोल्थ्यौं। अन्य समुदायका मान्छेसँग हाम्रो हिमचिम पनि थिएन। अरू भाषाको आवश्यकता नै पनि भएन। अहिले जस्तो टीभी, रेडियो, पत्रपत्रिका थिएनन्। फोन, इन्टरनेटको त झन् कल्पनासम्म थिएन। पुरानो टुँडिखेलमा खेल्न निस्किँदा पनि हाम्रै टोलको छुट्टै टिम थियो, नेवारी बोल्ने।

म विशुद्ध व्यापारिक परिवारमा जन्मिएँ, हुर्किएँ। हाम्रो बुवा पोखरामा गणेश साहुको नामले परिचित हुनुहुन्थ्यो। हाम्रो पसलमा गाउँगाउँबाट मानिस ढाकर बोकेर किनमेल गर्न आउँथे। हिमाली क्षेत्रका मानिस घोडा, गधा, खच्चडमा सामान बोकाएर जाडो छल्न पोखरा आउँथे। उनीहरू हाम्रै बारीमा बसेको पनि याद छ। कतिपय हाम्रै घरको पिँडीमा सुत्थे। होटेल, लजको चलन नै थिएन। पोखरामा त्यसबेला पाटीपौवा, चौतारा धेरै थिए।

मलाई बुवाले घरैमा सावाँ अक्षर चिनाउनु भयो। म खरीले पाटीमा लेख्थेँ। बुवाले औपचारिक शिक्षा नलिए पनि रामायण महाभारतका कथा राम्रोसँग पढ्नुहुन्थ्यो। उहाँले विन्ध्यवासिनी छेउछाउका पाठशालामा पण्डितहरूसँग केही समय पढ्नुभएको रहेछ।

मलाई पोखराको बहुउद्देश्यीय विद्यालयमा भर्ना गरियो। म नेपालीमा अत्यन्तै कमजोर थिएँ। घरमा मात्र होइन, टोलभरि नेवारी बोलिने भएकाले ममा नेपालीप्रति कुनै आकर्षण नै थिएन।

हाम्रो गाउँमा एकजना लाटा दाइ भन्ने हुनुहुन्थ्यो। उहाँ अलि ढिलो गरी बोल्नुहुन्थ्यो। बर्सेनि स्वस्थानीको कथा भन्नुहुन्थ्यो। गाउँभरका मानिस कथा सुन्न भेला हुन्थे। म पनि विस्तारै उहाँको कथा भन्ने शैलीप्रति आकर्षित भएँछु। यसरी कथा साहित्यसँग मेरो पहिलो परिचय भएछ।

त्यसबेला पोखरामा देवानन्द वेदान्तशास्त्री हुनुहुन्थ्यो। उहाँ हाम्रै टोलमा रहेको अड्डा घरमा, महाभारत, पुराणका कथावाचन गर्नुहुन्थ्यो। बीचबीचमा       श्रीमद्भागवत् गीताका श्लोकसहित व्याख्या गर्ने उहाँको शैलीले जो कोही मोहित हुन्थ्यो। म पनि लठ्ठै पर्थें। यसले पनि मलाई साहित्यप्रति रुचि जगायो।

कुनै पनि राम्रो काम देखावटी रूपमा मात्र होइन संस्कारको रूपमा सिक्नुपर्छ। यसलाई जीवनशैली बनाउनुपर्छ।

पछि म लामाचौरमा रहेको आदर्श विद्यालयमा भर्ना भएँ। यो पोखरामा खुलेको पहिलो बोर्डिङ स्कुल थियो। यसरी कक्षा ५ मा पढ्न थालेपछि मात्र मेरो अन्य समुदायका साथीसँग सम्पर्क भयो। कक्षा ६ मा दार्जिलिङबाट आउनु भएका शान्ति सरले पढाउनुहुन्थ्यो। उहाँ लक्ष्मीप्रसाद देवकोटाको मुनामदन भाका हालेर सुनाउनुहुन्थ्यो।

एकपटक कक्षा ६ कै १० पूूर्णांकको मासिक परीक्षामा मैले नेपालीमा ८ अंक प्राप्त गरेँ। यो सबैभन्दा उच्च अंक थियो। यसपछि मलाई एकाएक नेपाली विषयमा रुचि बढ्यो। हामी कविता लेखेर आपसमा सुनाउन थाल्यौं। मेरो पढ्ने बानीको पनि विकास भयो।

पोखरामा जात्रा पर्व भइरहन्थे। गाईजात्रा, भैरवजात्रा, बागजात्रा प्रमुख थिए। बुवा जेठी परी भएर नाच्नु हुन्थ्यो। म उहाँसँगै पछिपछि हिँड्थेँ। त्यसरी जात्रामा हिँड्दा टन्न प्रसाद पाइन्थ्यो। बुवा खानुहुन्नथ्यो। म झोलामा कोच्दै बेलाबेला झिकेर खान्थेँ। बुवाको नाचको सबैले प्रशंसा गर्थे। यसबाट म धेरै प्रभावित भएँ।

अहिले हामी प्रविधिको युगमा छौं। घरै बसीबसी संसार हेर्न सकिने भएको छ। यो सबै सुविधाको उपयोग गर्दै सिर्जनात्मक बन्न सके भविष्यमा निश्चितै रूपमा फाइदा पुग्छ। विद्यालयको पढाइसँगै रुचिअनुसारको विषयमा पनि विस्तारै ध्यान दिन सकेपछि एकैचोटी अत्तालिनु नपर्ने रहेछ।

म एउटा घटना झलझली सम्झिन्छु। पोखराको सार्वजनिक पुस्तकालयको अध्यक्ष हुँदा म काठमाडौंका साथी लिएर घान्द्रुक गएको थिएँ। फर्किने क्रममा एकजना परिचित मित्रले आफ्नी छोरीलाई हाम्रो जिम्मा लगाएर पोखरासम्म पठाए। हामी घान्द्रुकको ओराले ओर्लंदै गर्दा ती नानीले एउटा चाउचाउको खोल टिपेर झोलामा हालिन्। हामीले किन यसरी टिपेको भनेर सोध्दा यसरी जथाभावी फोहोर गर्नु राम्रो होइन भन्ने जवाफ उनले दिइन्। यसबाट मलाई के बोध भयो भने कुनै पनि काम देखावटी रूपमा मात्र होइन संस्कारको रूपमा सिक्नुपर्छ। यसलाई जीवनशैली बनाउनुपर्छ।

सानै उमेरदेखि सामाजिक क्षेत्रका काममा चासो राख्नुपर्ने रहेछ। यसले भविष्यमा सामाजिक क्षेत्रमा लाग्न सहयोग पुग्ने रहेछ। कहिलेकाहीँ अभिभावक र नयाँ पुस्ताको कुरा मिल्दैन। आफूलाई लागेको कुरा प्रस्टसँग भन्ने बानी राख्नुपर्छ। अभिभावकले आफ्ना नानीबाबुको उज्ज्वल भविष्यका लागि हरबखत चासो र चिन्ता लिएकै हुन्छ। सोहीअनुसार मेहनती बन्नुपर्छ।

विद्यालयमा पढ्दा हामीलाई व्यावसायिक काम पनि सिकाइन्थ्यो। कम्पोस्ट मल बनाउन, खाना बनाउने काम दिक्क लाग्थ्यो। कुनै पनि काम सिकेर बेफाइदा नहुने रहेछ। काम ठूूलो–सानो पनि हुँदैन। कामका आधारमा हेलाँ होचो गर्नु ठीक होइन। त्यतिबेलै सिकेको कामका आधारमा हिजोआज म आफ्नो काम आफैं गर्छु। खाना बनाउँछु, भाँडा माझ्छु, कपडा पनि आफैं धुन्छु। कुलपति भएर पनि मेरो दैनिकीमा कुनै परिवर्तन आएको छैन। म यसैमा गर्व गर्छु।

(नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति       श्रेष्ठसँग समीरबाबु कट्टेलले गरेको कुराकानीमा आधारित।)


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.