नक्कली नोटको बिगबिगी

स्याङ्जा : स्याङ्जा सदरमुकाम तथा पुतलीबजार नगरपालिकाका मुख्य बजारबाट नेपाली १ हजार रुपैयाँका नक्कली नोट छ्याप्छ्याप्ती फेला परेका छन्। सहकारीका सेवाग्राहीले आफ्नो रकम बचत गर्ने क्रममा नक्कली नोट उपलब्ध गराएको हुन सक्ने अनुमान गरिएको छ।
पुतलीबजार नगरपालिका–१ स्थित जयजनता बहुउद्देश्यीय सहकारी लिमिटेडमार्फत संकलन गरिएको रकम गण्डकी विकास बैंकका जम्मा गर्ने क्रममा टेलर (पैसा गन्ने मेसिन) ले संकलित रकममध्ये २ वटा हजारका नोटलाई रिड गर्न (गन्न) नमानेपछि नक्कली नोट भएको पत्ता लागेको हो।
सहकारीले बजारबाट दैनिक बचतकर्ताबाट संकलन गरेको रकममा ती नोट फेला परेको जयजनता बहुउद्देश्यीय सहकारी लिमिटेडका अध्यक्ष संघ ताम्राकारले जानकारी दिए। सहकारीले गण्डकी विकास बैंकमा जम्मा गर्ने क्रममा नोट नक्कली भएको पुष्टि भएको बैंकका प्रबन्धक प्रवीण श्रेष्ठले जानकारी दिए। फेला परेका ४ वटै नोट एकै नम्बर च २५–६१४१६३ छ। गण्डकी विकास बैंकमा पनि २ वटा नक्कली नोट भेटिएका छन्।
सदरमुकामस्थित अन्य सहकारी र विकास बैंकमा पनि नक्कलीजस्ता देखिने नेपाली हजारका रुपैयाँ भेटिएको बताइएको छ। गभर्नर युवराज खतिवडाको हस्ताक्षर भने अलि नमिल्दो र सानो आकारमा रहेको उक्त नोटमा छपाइ, रङ र विभिन्न चिह्न मिल्दोजुल्दो छन्। बजारको सबै क्षेत्रबाट नक्कली हजारको नोट फेला परेपछि बजारमा धेरै नक्कली नोट हुन सक्ने अनुमान स्थानीयको छ।
एउटै नम्बरका दुइटा नोट भेटिनु र टेलर मेसिनले पैसा गन्न नमान्नले नक्कली नोट भएको अनुमान लगाउन सकिने बताउँछन् प्रहरी नायब उपरीक्षक प्रकाश विष्ट। थप प्रमाणीकरणका लागि ती नोट विधि विज्ञान प्रयोगशालामा पठाइएको प्रनाउ विष्टले बताए।
केही दिनदेखि स्याङ्जामा देखिएका एकै सिरियल नम्बर च २५–६१४१६३ अंकित नोट फेला परेपछि सम्पूर्ण नगद कारोबार हुने ठाउँ तथा व्यक्तिगत लेनदेनमा समेत सो नम्बर भएको नोट लिई कारोबार गर्न आए तुरुन्त खबर गरी सहयोग गर्न प्रहरीले अनुरोध गरेको छ। एक हजारका नोटको कारोबारमा चनाखो हुन आग्रह गर्दै नक्कली नोट कारोबारीको खोजी कार्य तथा अनुसन्धान सुरु भएको प्रहरीको भनाइ छ।
प्रतिक्रिया दिनुहोस !
