चितवनमा तीन हजार एक सय केराका बोट अज्ञात समूहले काटेर सखाप
चितवन: चितवनका किसानले लगाएको ३ हजार एक सय भन्दा धेरै केराको बोट अज्ञात समूहले काटेर सखाप पारिदिएको छ । जिल्लाको कालिका नगरपालिका-६ भटेनी नयाँ टोलस्थित १२ किसानको केराखेती अज्ञात समूहले सोमबार राति काटेर सखाप बनाइदिएको हो ।
हालसम्म पहिचान खुल्न नसकेको समूहले रातिको समयमा कोसा लागिसकेका केराका बोट बगानमै काटेर सखाप बनाइदिएका हुन् । पीडित किसानहरूका अनुसा ३१ सय भन्दा बढी केराका बोट काटिएको छ। केराका बोट काट्ने समूहले मकैको बोटसमेत काटिदिएका छन् ।
केरा व्यवसायी संघ चितवनका अध्यक्ष विष्णुहरि पन्तका अनुसार केराका बोट काटेर सखाप बनाएपछि दोषीमाथि कारबाही माग गर्दै प्रहरीमा उजुरी दर्ता गरिएको छ।
कसको कति क्षति भयो ?
पीडित किसानहरूका अनुसार सबैभन्दा धेरै स्थानीय कृषक कोपिला दाहालको १२ सय बोट केरा काटिएको छ । त्यसैगरि शोभा भट्टका ६ सय बोट, झलक सुवेदीको ३ सय बोट, शंकर अम्गाईका २ सय ५० बोट, गोपी लामिछानेका २ सय बोट, नवराज धितालका एक सय ५० बोट, लिला पंगेनीको १ सय ५० बोट, पुर्णबहादुर खड्काको ९७ बोट, देवीप्रसाद गोतामेका ५० बोट, गोविन्द दाहालका ५० बोट, ध्रुव आचार्यका ३५ बोट र भूमिनन्द दुवाडीको १२ बोट केरा काटेर पुरै ढालिएको छ।
फलिसकेका केराका बोट काटिनुमा ठुलै समूहको हात रहेको र यो घटना सूनियोजित रहेको बताउँदै पीडित किसानहरूले दोषीलाई पक्राउ गरी कारवाहीको माग गरेका छन् ।
केहीदिन अघि मात्रै केरा खेति भएकै स्थानबाट लागूपदार्थ दुर्व्यसनी युवाहरूलार्इ प्रहरीले पक्राउ गरेको थियो । किसानहरूले तिनै युवाहरूले केराखेतीमा क्षति गरेको अनुमान गरे पनि तथ्य कुरा खुलिसकेको छैन ।