तिलाैराकोट भित्र्याइयो शिशु बुद्ध
तौलिहवा : बुद्धकी आमा मायादेवी माइतीघर जाँदा लुम्बिनीमा जन्मेका बुद्धलाई अर्को दिन तिलौराकोटस्थित घरमा ल्याइएको थियो । बुद्धका पिता राजा शुद्धोधनले छोरा राजकुमार सिद्धार्थ जन्मिएपछि कपिलवस्तुको तिलौराकोटबाट बाजागाजासहित उनलाई लिन सेना पठाएका थिए । त्यही दिनको सम्झनास्वरूप लुम्बिनी विकास कोषले केही वर्षयता बुद्धजयन्तीको अर्को दिन शिशु बुद्धलाई रथयात्रामार्फत लुम्बिनीदेखि तिलौराकोट ल्याउने गरेको छ । शिशु बुद्धलाई मंगलबार रथयात्रामार्फत तिलौराकोट ल्याइएको छ ।
२५६२ औं बुद्धजयन्तीका अवसरमा मंगलबार शिशु बुद्धसहित लुम्बिनी–प्राचीन कपिलवस्तु रथयात्रा निकालिएको हो । लुम्बिनी विकास कोषले बुद्ध जन्मिएपछि अर्को दिन उनलाई राजधानी कपिलवस्तु ल्याउँदाको झल्को दिने गरी शिशु बुद्धलाई राखेर २६ किमिको भव्य रथयात्रा निकालेको हो । रथयात्रा ४ वर्षअघि सुरु गरिएको हो ।
रथलाई नव दुलहीजस्तो सजाएर धातुको बेबी बुद्धको मूर्ति राखेर यात्रा गरिएको हो । राजकुमार सिद्धार्थ जन्मिएपछि राजधानी कपिलवस्तु (तिलौराकोट) फर्किंदाको २६ सय वर्षअघिको क्षण बुद्धजयन्तीमा आफूले पहिलो पटक प्रत्यक्ष अनुभव गर्न पाएको प्रजिअ मदन भुजेलले बताए । रथयात्राले लुम्बिनीको छायामा परेको कपिलवस्तुको पर्यटन प्रवर्धनमा सहयोग पु¥याउने लुम्बिनी पर्यटन संवद्र्धन समितिका सदस्य पोमनारायण पौडेलले बताए ।
लुम्बिनीदेखि ल्याइएको शिशु बुद्धलाई तिलौराकोट दरबारको पश्चिमी द्वारनजिकै राखेर कार्यक्रम गरिएको थियो । बौद्ध ग्रन्थअनुसार मायादेवी गर्भवती भएपछि माइत देवदह जाने इच्छा गरेकी थिइन् । रमणीय बगैंचा लुम्बिनी पुगेपछि डोेलीबाट ओर्लिएर प्राकृतिक सौन्दर्यको आनन्द प्राप्त गर्न नपाउँदै शारीरिक स्वभावमा परिवर्तनसँगै सालको वृक्ष समातेर राजकुमार सिद्धार्थलाई जन्म दिएकी थिइन् । यो खबरले तिलौराकोट, कपिलवस्तु सहर र देवदहमा हर्षोल्लास भयो र सिंगो कपिलवस्तु सहर सिँगारेर चिटिक्क पारिएको थियो ।
सुत्केरी मायादेवी, शिशु सिद्धार्थसहित सयौं गन्यमान्य रथमा बसेर कपिलवस्तु फर्किएकी थिइन् । त्यतिबेला कपिलवस्तुका प्रत्येक नागरिकले राजा शुद्धोधनलाई पुत्रलाभ भएको खुसियालीमा घरघरबाट स्वागत एवं दीपावली गरेका थिए । सिंगो कपिलवस्तुमा कैयौं दिनसम्म खुसी भएको स्मरण गर्दै रथयात्रा सुरु गरिएको हो ।