कामै नभई म्याद सकियो

कामै नभई म्याद सकियो

धरान : एसियाली विकास बैंकको आर्थिक सहयोगमा धरान उपमहानगरपालिकाले निर्माण थालेको धरान खानेपानी आयोजनाको काम अलपत्र परेको छ । ठेकेदार कम्पनी टिएन्डजी तुदी जोइनभेन्चर कम्पनीले समयमै खानेपानी आयोजनाको काम सम्पन्न नगर्दा आयोजना नै अलपत्र अवस्थामा पुगेको हो । धरानमा पछिल्लो समय खानेपानीको समस्या झन् चर्को रूपमा बढेको छ ।

यो आयोजनाको काम सन् २०१७ डिसेम्बर सम्ममा पूरा गरिसक्नु पर्ने थियो । तर, ठेकेदार कम्पनीको लापरवाहीका कारण डेड अर्ब रुपैयाँको निर्माणाधीन आयोजनाको म्यादसमेत थप्ने काम भएको छैन ।

चरम लापरवाही हुँदा आयोजनाको काम समयमा सम्पन्न नभएको बताउँदै कांग्रेस धरानका सभापति तिलक राईले भने, ‘उपमहानगरले आयोजनामा भएको ढिलासुस्तीको विषयमा ठेकेदार कम्पनीलाई दबाब दिन सकेको छैन ।’ खानेपानी आयोजनाको काममा हिनामिनासमेत भएकाले उचित छानबिन गरी दोषीउपर कारवाही हुनुपर्ने राईले बताए ।

एक अर्ब ४८ करोड रुपैयाँको लागतमा निर्माण सुरु भएको धरान खानेपानी आयोजनाको काममा ठेकेदार कम्पनीले समयमै काम सम्पन्न गर्न नसकेको र जमिनमुनि पाइप बिछ्याउँदा बाटो निर्माणको काम लथालिङ बनाएर सवारी दुर्घटनाको जोखिम बढाएको संघीय लिम्बूवान मञ्च सुनसरीका अध्यक्ष अमर इजमको आरोप छ । उनले भने, ‘खानेपानी निर्माणका लागि पानी ट्यांकीको समेत निर्माण सम्पन्न नगर्नु र सबै स्थानमा पाइप नबिछ्याएका कारण स्थानीयलाई निकै कठिनाइ भएको छ ।’

धरान खानेपानी आयोजनाका प्रमुख इन्जिनियर राजु पोखरेलले आयोजनाको म्याद सकिएकाले म्याथ थपका लागि पत्रचार गरिएको बताए । उनले भने, ‘आयोजनाको काम छिटो सक्न ठेकेदार कम्पनीलाई ताकेता गरिएको छ ।’

एडीबीको ऋण अनुदानमा निर्माण भइरहेको धरान खानोपानी आयोजनाको काम सन्तोषजनक नभएको नगरवासीको समेत गुनासो छ । खानेपानी विस्तारका लागि धरानको साविक १ देखि १९ नं वडासम्मको बस्तीमा पानी विस्तारका लागि जमिनमुनि बिछ्याइएको पाइप लथालिंग छाडिएको छ । कतिपय स्थानमा भने खानेपानी पाइपसमेत बिछ्याइएको छैन । धरान १८ मा खानेपानी आयोजनाले पाइप नराख्दा कामको ढिलासुस्ती प्रस्ट भएको वडाध्यक्ष प्रवीण राईले बताए ।

अहिले खानेपानीको पाइपमा फोहोर पानीले पाइप भरिने गरेको छ र ट्राफिक प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक होमराज दाहालले पाइपकै कारण यातायात साधन आउजाउमा समेत समस्या भएको बताए ।

चारकोसे जंगल हुँदै जमिनमुनिबाट पाइप बिछ्याउँदै पानी निकाले पनि धरान– १७ बाहेक अन्यत्र खानेपानी वितरण गरिएको छैन । धरान खानेपानी आयोजनाको अनुगमन गर्न कांग्रेस, एमाले, माओवादी केन्द्र, संघीय समाजवादी फोरमलगायत दलका प्रतिनिधि रहेको अनुगमन समिति गठन गरेको थियो । तर, समितिले अनुगमन गरेको छैन ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.