सहरमा सिनेमा
अन्नपूर्ण पोस्ट्को १६ औँ वार्षिकोत्सव विशेष 'सहर'
नेपालीमा सिनेमा हल खुलेका थिएनन्। विदेश गएर आएकाहरूले मात्रै सिनेमा हेरेका हुन्थे र, उनीहरूले हेरेका सिनेमाका किस्सा सुनेर रमाउने जमाना थियो त्यो।
मोहनशमशेर प्रधानमन्त्री भएपछि जनतालाई खुसी पार्न सभागृहलाई फिल्म हल बनाएर सिनेमा देखाउन थालियो। ‘काठमाडौं सिनेमा हल’ नामक त्यही एउटै मात्र सिनेमा हल थियो जसमा सिनेमा हेर्ने दर्शकको निकै भीड लाग्थ्यो। टिकट पाउन मुस्किल हुन्थ्यो। भीड नियन्त्रण गर्न प्रहरीका हाकिम चन्द्रबहादुर थापा आफैं आइपुग्थे। त्यसबेला हलमा सिनेमा उपलब्ध गराउने काम श्यामशंकर श्रेष्ठलाई दिइएको थियो।
प्रजातन्त्र आएपछि उद्योग वाणिज्यमन्त्री गणेशमान सिंहले सिनेमा देखाउने काम सरकारले गर्न मुस्किल भएकाले जनताबाटै सिनेमा हल चलाउने व्यवस्था गर्न टेन्डर आह्वान गरे। काठमाडौं सहरमा जनताका तर्फबाट पहिलो सिनेमा हल भिœयाउने दयारामभक्त माथेमा आफ्नो आत्मकथामा लेख्छन्, ‘गोरखापत्रमा विज्ञापन छापिएको देखेपछि मलाई पनि प्रतिस्पर्धामा भाग लिन मन लाग्यो र बढाबढमा भाग लिन श्री ५ महाराजाधिराजमा बिन्ती चढाएँ। महाराजाधिराजबाट अनुमति पाएपछि मैले पनि टेन्डर हालेँ। यत्तिकैमा त्यो काम उद्योग वाणिज्य मन्त्रालयबाट गृह मन्त्रालयलाई सुम्पिइयो। त्यसबेला गृहमन्त्री सूर्यप्रसाद उपाध्याय हुनुहुन्थ्यो। मैले बढाबढमा भाग लिएको जानकारी मन्त्रीलाई गराएँ।’ माथेमा त्यतिबेला राजपरिषद्का सचिव थिए।
‘यसैबीच श्री ५ महाराजाधिराजबाट हुकुम भयो, सरदार कृष्णलाललाई पार्टनरमा लिनू। जम्मै रुपियाँ एकैपटक जम्मा गर्न अलि मुस्किल पर्ने भएकाले मन्त्रीलाई भनेर पटकपटक बुझाउने गरी मिलाइयो। श्री ५ महाराजाधिराजबाट पनि हामीलाई आर्थिक सहायता बक्स भएको थियो’, माथेमा लेख्छन्, ‘पहिलो किस्ता बुझाएपछि गृहसचिव जर्नेल चन्द्रबहादुर थापालाई हाम्रो नाममा लिखित आदेश जारी गर्ने निर्देशन भयो। उहाँकै घरमा बसी सबै कागजपत्र तयार गरियो। काम सकिएपछि दरबारमा आएर महाराजाधिराजमा जाहेर गरेँ, ‘सबै कम सरकारको निगाहबाट भयो।’
‘सरकारबाट हुकुम भयो, तिमीहरूले पाएकोमा मलाई खुसी लाग्यो। कहिलेदेखि हल चलाउने ? यही २०११ साल वैशाख १ गतेदेखि नै चलाउने बन्दोबस्त गर्दै छु, सरकार ! मैले बिन्ती चढाएँ। सरकारबाट केही आर्थिक मद्दत पनि बक्सियो’, माथेमाले लेखेका छन्।
‘नेपालकै पहिलो निजी क्षेत्रको सिनेमा हलको नाम ‘जनसेवा सिनेमा हल’ राखियो। हलमा लगाइएको पहिलो सिना थियो- ‘बादल’। यसरी सहरमा भित्रिएको पहिलो सिनेमा हल केही वर्षमै जलेर नष्ट भयो।
सिनेमा हेर्ने दर्शक धेरै देखिएपछि हलमा लगानी गर्न व्यवसायी उत्साहित भए। व्यवसायी श्यामशंकर श्रेष्ठले ‘हल खोल्न पाउँ’ भनी निवेदन दिए। श्री सिनेमाको नाममा अहिले नाचघर रहेको ठाउँमा उनले हल खोलेपछि गृह मन्त्रालयमा सिनेमा हल खोल्ने निवेदनको ठूलो चाङ लाग्यो। त्यतिबेला गृह मन्त्रालयले देशभर ५४ वटा सिनेमा हल खोल्ने लाइसेन्स बाँड्यो। श्रेष्ठले २०११ साल असोज २६ गतेदेखि श्री सिनेमा सञ्चालन गर्न थाले। यसपछि ठमेलमा मुनलाइट हल खुल्यो।
राणा शासनको पतनपछि पनि उनीहरू सर्वसाधारण जाने सिनेमा हलमा जाँदैनथे। उनीहरूले त्यसपछि फोहोरा दरबारमा प्रभा नामक सिनेमा हल खोले। राणाहरू प्रभा हलमै सिनेमा हेर्ने गर्थे। त्यसपछि सिनेमा हल खोल्ने क्रम ह्वात्तै बढ्यो।
२०१४ सालमा काठमाडौंमा जय नेपाल, रञ्जना, विश्वज्योति, पाटनमा अशोक र भक्तपुरमा नवदुर्गा सिनेमा हल खुले। यो ६-७ वर्षको बीचमा खुलेका सिनेमा हलहरू प्रदर्शन गर्ने सिनेमा ल्याउन नसकेर धमाधम बन्द हुन थाले। २०१४ सालमै श्री सिनेमा बन्द भइसकेको थियो। २०१८ सालमा जनसेवा हलमा आगलागी भएपछि असुरक्षाका कारण पनि धेरै सिनेमा हल बन्द भए।
घरै बसेर सिट छानीछानी टिकट किन्न सकिने समयमा आइपुग्दा सहरको हल-संस्कृतिले व्यापक फड्को मारेको छ।
जनसेवा हल जलेपछि रञ्जना हल मौलाएको हो। जनसेवा जलेपछि त्यहाँ विशालबजार निर्माण गरियो। अहिले रञ्जनाले पनि जनसेवाकै बाटो लिएको छ। जसरी जनसेवाको ठाउँमा विशालबजार ठडिएको छ त्यसैगरी रञ्जना सिनेमा हल पनि इतिहास बन्यो। अहिले त्यो ठाउँमा सपिङ मल बनाइएको छ। अहिले त्यही मलमा सिनेमा हल खुल्दै छन्।
टिकट काट्न घन्टौं लाइनमा बस्नुपर्ने अनि मान्छे नदेखिने अँध्यारो प्वालमा हात छिराएर टिकट किन्नुपर्ने जमाना थियो। अझ प्वाल नजिकै पुगेपछि टिकट सकियो भन्दै झ्याल बन्द भएर ब्ल्याकमा कयौं गुणा धेरै पैसा तिरेर टिकट काट्नुपर्ने अवस्था अहिले छैन। घरमै बसेर सिट छानीछानी टिकट किन्न सकिने अवस्थासम्म आइपुग्दा सहरका हल संस्कृतिमा धेरै परिवर्तन आएको छ।
एउटै छानामुनि आठभन्दा बढी सिनेमा हेर्न सकिने प्रेक्षालयसहितका मल्टिप्लेक्स खोल्ने होड चलेको छ। गोपीकृष्ण मुभिजमा एउटै छानामुनि सातवटा र गुण सिनेमामा आठवटा हल सञ्चालनमा छन्। कमलपोखरीको सिटी सेन्टरको बिग मुभिजमा तीनवटा, सुन्धारास्थित सिभिल मलको क्यूएफएक्स सिटी सिनेमामा तीनवटा, चुच्चेपाटीको केएल टावरको एफक्युवमा तीनवटा हल सञ्चालनमा छन्। जय नेपाल र कुमारीमा दुई हलले सिनेमाका दर्शक तानिरहेका छन् भने विश्वज्योतिले पनि नयाँ मलमा थप हल सञ्चालनमा ल्याउँदै छ। अब सिंगल हल चल्न छोडिसके, त्यसैले भएको हल केही समयपछि भत्काएर मल्टिप्लेक्स बनाउने योजनामा छन् विश्वज्योतिका सञ्चालक मोहन सर्राफ।
हल व्यवसायीको संगठन नेपाल चलचित्र संघका अध्यक्ष प्रदीप उदय अहिले विश्वमै मल्टिप्लेक्स खुल्ने ट्रेन्ड आएको बताउँछन्। राजधानीबाहिरका प्रमुख सहरमा पनि धमाधम सुविधासम्पन्न सिनेमा हल खुल्ने क्रम जारी छ। सहरमा सिनेमा भिœयाउन व्यवसायीहरू अनेकौं सुविधासम्पन्न हल खेल्ने योजना बनाइरहेका छन्।
दर्शकको उपस्थिति पनि मल्टिप्लेक्समै बढी देखिन्छ। चलचित्र संघका अध्यक्ष उदय सिनेमा हलमा नजाने मध्यम र उच्च वर्गका नेपाली दर्शकलाई सपिङ मलहरूमा खुलेका मल्टिप्लेक्सले तानेको अनुभव सुनाउँछन्।
अहिले व्यापारिक केन्द्रमा सिनेमा हल खोल्ने चलन बढेको छ। अन्य व्यापार बढाउन पनि मलहरूमा सिनेमा हल आवश्यकजस्तै बनेका छन्। किनमेलसँगै रोजीरोजी सिनेमा हेर्न पाइने हुनाले मलमा खुलेका सिनेमा हल दर्शकका रोजाइमा पर्न थालेका छन्।
देशमा माओवादी द्वन्द्व सुरु हुनुपूर्व देशभर झन्डै चार सय सिनेमा हल थिए। यसबीच बन्द हुने क्रमले देशभरि सयको संख्यामा खुम्चिन पुगेका सिनेमा हल बढेर अहिले एक सय ८० पुगेका छन्। न्युरोडको रञ्जना, ललितपुरको अशोक सिनेमा, कुलेश्वरको मेट्रो सिनेमा, जोरपाटीको आराधना, बिजुलीबजारको मनकामना, जोरपाटीको चामुण्डा, नयाँबानेश्वरको शिवदर्शन, सिनामंगलको तारा, बालाजुको अजिमा, पुरानो ठिमीको भीमसेन, नयाँ ठिमीको गणेशलगायत कुनै समयका चर्चित सिनेमा हल अहिले बन्द भएका छन्।
सिनेमा हेर्ने फरक खाले संस्कृति निर्माण गर्ने ती सिनेमा हलको योगदान बिर्सन सकिन्न। ती हलमा सिनेमा हेरेर दंग पर्ने युवा पुस्ता अहिले बूढा भइसके। उनीहरूसँग ती हलमा सिनेमा हेरेका ‘मीठा’ सम्झना छन्। हल भएको स्थानअघि पुग्दा बूढाहरू अहिले पनि क्यूएफएक्समा सिनेमा हेर्ने नाति पुस्तालाई भत्किसकेका ती पुराना हलमा बिताएका ‘रमाइला’ दिन र सिनेमाको सम्झना सुनाइहाल्छन्।
पहिला एउटा फिल्मको चारपाँचवटा प्रिन्ट मात्र हुन्थे, त्यसैले साना हलहरूले प्रिन्ट पाउनै मुस्किल हुन्थ्यो। त्यही कारण धेरै हल बन्द भए। तर, अहिले डिजिटल प्रविधिले एउटै फिल्म एकैपटक जतिवटा हलमा पनि चलाउन सकिन्छ। क्वेस्ट इन्टरटेनमेन्टका अध्यक्ष नकिम उद्दिनका अनुसार, अहिले काठमाडौं उपत्यकामा रहेका सिनेमा हलमा मात्रै मासिक सात-आठ करोड रुपैयाँ कमाइ हुन्छ। एउटा फिल्मको कुल कारोबारबाट हलले ४५ प्रतिशतसम्म रकम पाउँछन्। राजधानीमा हुने फिल्मको कुल कारोबारको ६० प्रतिशतभन्दा बढी हिस्सा विदेशी फिल्मले ओगटेका छन्।
दस वर्षअघिसम्म हलमा पुगेर फिल्म हेर्न निकै कष्ट सहनुपथ्र्यो। अहिले घरबाटै सिट छानेर टिकट किन्न सकिन्छ। नेपालीहरूमा हलमा गएर फिल्म हेर्ने संस्कृतिको विकास हुन थालेकाले पनि नयाँ प्रविधि भित्रिएको नकिम बताउँछन्। ६५ वर्ष लामो फिल्म हलको इतिहासमा नेपाली सिनेमा हलले प्रविधिमा पनि निकै फड्को मारेका छन्। सिनेमा घरहरूले अपनाएको डिजिटल प्रविधिले विश्वव्यापी रूपमा हलिउड र बलिउडका फिल्मसमेत रिलिज भएकै दिन नेपालमा प्रदर्शनमा आउन सक्ने भएका छन्। अहिले नेपालमा ८ डीसम्मका फिल्म हेर्न सकिन्छ। ८ डी मुभीमा आठवटा इफेक्ट हालिएको हुन्छ। ती सिनेमामा गन्ध, पानीका फोका, झिल्का, धुवाँ, पानी, हावा तथा स्पर्शको अनुभव दर्शकले गर्न सक्छन्।