यूटीएलको २५ करोड बक्यौता
काठमाडौं : युनाइटेड टेलिकम लिमिटेड (यूटीएल) ले नेपाल टेलिकम (एनटीसी) लाई अन्तरआबद्धता कल शुल्कमार्फत बुझाउनुपर्ने २५ करोड रुपैयाँ नबुझाएको पाइएको छ। यूटीएल र एनटीसीका ग्राहकबीच हुने कुराकानीबापत यूटीएलले टेलिकमलाई बुझाउनुपर्ने शुल्क धेरै वर्षदेखि बाँकी छ।
बक्यौता असुलउपरका लागि नेपाल दूरसञ्चार प्राधिकरणमा टेलिकमले निवेदन दिएको छ। टेलिकमका प्रवक्ता प्रतिभा वैद्यका अनुसार यूटीएलले टेलिकमलाई झन्डै २५ करोड बक्यौता छ। यो रकममा यूटीएलबाट र एनटीसीका ग्राहकमा कल गर्दा लाग्ने शुल्क, अन्तर्राष्ट्रिय कलका लागि गटेवे प्रयोग गरेबापत तिर्नुपर्ने शुल्क र एनटीसीसँग यूटीएलले एक ठाउँबाट अर्को ठाउँमा जोडिनका लागि लिज लिएर चलाएको शुल्क समावेस भएको छ।
‘टेलिकम सेवा प्रदायक कम्पनीले एक अर्काबीचमा कल गर्दा अन्तरआबद्धता कल शुल्कका रूपमा पैसा बुझाउनुपर्छ’, वैद्य भन्छिन्, ‘तर यूटीएलले भने नेपाल टेलिकमलाई धेरैसमय देखिको उक्त शुल्क बुझाएको छैन।’ उनका अनुसार, यदि विदेशबाट कुनै पनि टेलिफोन सेवा प्रदायक कम्पनीमा अर्को टेलिफोन सेवा प्रदायक कम्पनीको गेटवे हुँदै फोन आएको छ भने पनि दोस्रो कम्पनीले त्यसको शुल्क बुझाउनुपर्छ। त्यसरी यूटीएलको गेटवेबाट एनटीसीमा कति फोन आएको छ, त्यसको शुल्क पनि यूटीएलले टेलिकमलाई बुझाएको छैन। लिज प्रयोग गरेबापतको पनि पैसा अहिलेसम्म नबुझाएको वैद्यको भनाइ छ।
वैद्यका अनुसार टेलिमकले बक्यौता तिर्न यूटीएललाई धेरै पटक ताकेता गरेको थियो। ‘आर्थिक वर्ष २०७०/०७१ देखि बक्यौता नबुझाएपछि टेलिकमले समय समयमा इमेल, पत्र तथा टेलिफोनमार्फत उक्त रकम बुझाउन ताकेता गरेको थियो। तर, त्यसको कुनै प्रतिफल नपाएपछि अहिले टेलिमकले बक्यौता उठाउने जिम्मा नेपाल दूरसञ्चार प्राधिकरणलाई दिएको छ। ‘हामीले ताकेता गर्दा पनि यूटीएलले बक्यौतारकम बुझाएन’, प्रवक्ता वैद्य भन्छिन्, ‘त्यसैले अहिले टेलिकमले बक्यौताअसुल गरिदिन प्राधिकरणलाई आग्रह गरेको हो।’
यूटीएल र एनटीसीका ग्राहकबीच हुने कुराकानीबापत यूटीएलले टेलिकमलाई बुझाउनुपर्ने शुल्क धेरै वर्षदेखि बाँकी छ।
प्राधिकरणले पनि टेलिकमबाट आएको आग्रहअनुसार काम अघि बढाइसकेको छ। प्राधिकरणले यूटीएललाई टेलिकमको बक्यौता तिर्न पत्र पठाइसकेको जनाएको छ। प्राधिकरणले नेपाल टेलिकमले ताकेता गर्दा पनि पैसा नबुझाएको भनी नेपाल दूरसञ्चार प्राधिकरणमा उक्त रकम असुल गराउन निवेदन दिएका आधारमा काम अघि बढाएको हो। निवेदनका आधारमा नेपाल दूरसञ्चार प्राधिकरणले पनि यूटीएलललाई पत्र काटिसकेको प्राधिकरणका सहायक निर्देशक विनोदचन्द्र श्रेष्ठले बताए। उनका अनुसार प्राधिकरणले चैत २६ गते नै यूटीएललाई बक्यौता तिर्न र अहिलेसम्म नतिर्नुको कारण खुल्ने गरी जवाफ पठाउन पत्र पठाएको थियो। जवाफमा यूटीएलले यो विषयमा नेपाल टेलिकमसँग छलफल भइरहेको र बक्यौता तिर्ने समय थप गर्न माग गरिरहेको पत्र पठाएको श्रेष्ठले बताए।
‘यूटीएलले रकम बुझाएको छैन्’, श्रेष्ठले भने, ‘त्यसैले बक्यौता नबुझाएसम्म प्राधिकरणबाट प्राप्त हुने सहजीकरणका कुनै पनि सेवा यूटीएलले उपभोग गर्न नपाउने उल्लेख गरिएको छ।’ उनका अनुसार जबसम्म यूटीएलले बक्यौतारकम बुझाएर प्राधिकरणमा जानकारी गराउँदैन तबसम्म यूटीएललाई कुनै पनि सेवा उपलब्ध हुने छैन।
सीजी टेलिकमको १० करोडभन्दा बढी
सीजी टेलिकम प्रालिले पनि अन्तरआबद्धता कलको शुल्कमार्फत नेपाल टेलिकमलाई करिब ११ करोड बुझाउनुपर्ने देखिएको छ। प्राधिकरणलाई टेलिकमले पठाएको पत्रअनुसार सीजीले १० करोड २८ लाख रुपैयाँ बुझाउनुछ। सीजीले पनि अन्तरआबद्धता कलको बक्यौतारकम नबुझाएपछि यसको रकम असुल उपर गर्न समेत टेलिकमले प्राधिकरणलाई आग्रह गरेको छ। प्राधिकरणले पनि सीजी टेलिकमलाई गत चैत २६ गते नै बक्यौतारकम नबुझाउनको कारण खुल्ने गरी जवाफ पठाउन पत्र काटेको थियो। तर, सीजी टेलिकमबाट कुनै प्रतिउत्तर नआएको प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार सीजीले पनि बक्यौतारकम नबुझाएसम्म प्राधिकरणबाट प्राप्त गर्ने कुनै पनि सकजीकरणका लिन पाउने छैन।