लेनदेन विवादमा गोली हानी हत्या

लेनदेन विवादमा गोली हानी हत्या

सिरहा : पैसा लेनदेन विवादमा गोली हानी एक युवकको हत्या भएको छ। गाउँमै आएका साथीले अर्नमा गाउँपालिका वडा नम्बर १ स्थित बुढियाचापका २२ वर्षीय धमेन्द्र सिंहउपर गोली प्रहार गरेका हुन्। छातीमा गोली लागी ढलेका सिंहलाई लिन एम्बुलेन्स आउँदा नआउँदै उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

‘घरछेउकै पन्चु महतोको किराना पसलमा मोटरसाइकलमा आएका साथीहरूसँग सिंह पनि भेला भएका थिए। लेनदेनको विषयमा विवाद हुँदा उनीमाथि गोली प्रहार भएको अनुसन्धानबाट खुलेको छ’, गोलबजार इलाका प्रहरीका प्रहरी निरीक्षक राजेश सुवेदीले भने, ‘उनका साथीले रक्सीले मातेर सिंहमाथि गोली प्रहार गरेको अनुसन्धानका क्रममा स्थानीयले बताएका छन्।’

गोली हान्नेमध्ये औरहीकै हरकट्टीका सन्तोषकुमार सिंहलाई पक्राउ गरिएको सिरहा जिल्ला प्रहरीका प्रहरी नायब उपरीक्षक राजन भेटवालले जानकारी दिएका छन्। उनका अनुसार घटनामा संलग्न केही व्यक्ति फरार छन्। ‘पक्राउ परेका सन्तोषको साथबाट हतियार र गोली बरामद भएको छ’, प्रहरी नायब उपरीक्षक भेटवालले भने, ‘घटनामा संलग्न अन्य व्यक्तिको खोजी जारी छ।’

घटनामा संलग्न समूह गोली प्रहारपछि मोटरसाइकल चढेर दक्षिणतर्फ भागेको स्थानीय दिनेश महतोले बताए। ‘म खाना खान घरभित्र पस्दै थिएँ, त्यही बेला गोली चलेको आवाज आयो। पछि हेर्दा गोली चलाउने भागिसकेका थिए’, उनले भने, ‘गाउँकै एक जना भाइले सिंहलाई समाएर राखेका थिए। मैलै तुरुन्त एम्बुलेन्स बोलाए पनि उनलाई बचाउन सकिएन।’

सिंह साथीहरूसँगै एक वर्षदेखि काठमाडौंमा बसेर डन्डिफर्माको काम गर्दै आएका थिए। उनी दुई दिनअघि मात्र घर आएको स्थानीयको भनाइ छ। उनी वैदेशिक रोजगारीका लागि दुबई जाने तयारीमा थिए। रकम अपुग भएपछि उनी घर आएको आफन्तले बताएका छन्। उनी मंगलबार दुबई उड्न लागेका थिए।

काठमाडौंमा बस्दा साथीहरूसँग पैसा लेनदेन भएको अनुसन्धानका क्रममा देखिएको प्रहरीले जनाएको छ। धर्मेन्द्रको शव पोस्टमार्टम लहानस्थित रामकुमार सारडा उमाप्रसाद मुरारका स्मारक अस्पतालमा गराइएको छ।

बढ्दै हत्याका घटना

सिरहामा ६ दिनयता मात्र दुई युवक, एक महिला र एक शिशुको हत्या भएको छ। गोलबजार नगरपालिका–७ स्थित चोहर्वाकी २३ वर्षीया प्रभा शर्माको गत मंगलबार उनका पति कृष्णा शर्माले कुटपिट गरी हत्या गरेका थिए। गोलबजार नगरपालिका–६ स्थित डोहटियामा शनिबार सालनालसहित एक शिशु मृत फेला परेको थियो। अज्ञात समूहले शुक्रबार कर्जन्हा नगरपालिका–७ का सोपेन्द्र यादवको घाँटी रेटी हत्या गरेको थियो। जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार आर्थिक वर्ष ०७१÷७२, ०७२÷७३, ०७३÷७४ र चालु आवको हालसम्ममा क्रमशः ३, ११, १७ र १९ जनाको हत्या भएको छ।

०००

गोली प्रहारबाट ज्यान गएका धमेन्द्र सिंहका हजुरआमा र दिदीहरू बिलौना गर्दै (बायाँ) र मृतक सिंह। शम्भु यादव


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.