मोदीको स्वागतमा अनिवार्य उपस्थित हुन जनप्रतिनिधिलाई निर्देशन
ठुलो संख्यामा रंगभूमिमा जनता उतार्नू
गौशाला: भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जनकपुरमा स्वागतका लागि २ नम्बर प्रदेशका एक मन्त्रीले महोत्तरीका जनप्रतिनिधिलाई अनिवार्य उपस्थित हुन निर्देशन दिएका छन् ।
भ्रमणको दिन उनको स्वागतमा उपस्थित हुन महोत्तरीका सबै नगरपालिका र गाउँपालिकाका प्रमुखलाई प्रदेश नम्बर २ का आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले निर्देशन दिएका हुन् ।
मन्त्री यादवले महोत्तरीका १० नगरपालिका र ५ गाउँपालिका गरी १५ वटै स्थानीय तहका प्रमुखलाई वैशाख २८ गते मोदीको स्वागतका लागि जनकपुर आउन निर्देशन दिएका हुन् ।
सोमबार महोत्तरीको सदरमुकाम जलेश्वरमा एक कार्यक्रमको आयोजना गर्दै मन्त्री यादवले यहाँका प्रत्येक पालिकाबाट प्रमुखको नेतृत्वमा ठूलो संख्यामा जनता लिएर जनकपुर आउन निर्देशन दिएका हुन् ।
मन्त्री यादवले यहाँका सरकारी, गैरसरकारी कार्यालयका प्रमुख तथा कर्मचारी र आम जिल्लावासीलाई समेत मोदीको स्वागतमा आउन निमन्त्रणा गरे।
उनले मोदीको स्वागतका बेला जनकपुर आउने सवारीसाधन र व्यक्ति जनकपुरको कार्यक्रमस्थल बाह्रबिघा (रंगभूमि) मा आउने रुटबारेमा समेत बताए।