आर्इपीएल: क्रिस गेल १ रनमै आउट, पञ्जाव पनि हार्यो
काठमाडौँ: इन्डियन प्रिमियर लिग (आर्इपीएल) क्रिकेट प्रतियोगिता अन्तरगत मंगलबार राति भएको खेलमा राजस्थान रोयल्सले किङ्स इलेभन पञ्जाबलाई १५ रनले पराजित गरेको छ ।
सुरूवाती खेलमा उत्कृष्ट प्रदर्शन गरेका क्रिस गेलसँगै अन्य ब्याट्सम्यान असफल हुँदा पञ्जावले सामान्य लक्ष्यमा पनि नतिजा राजस्थानलार्इ सुम्पन बाध्य भयो ।
जयपुरस्थित घरेलु मैदानमा टस जितेर पहिले व्याटिङ गरेको राजस्थानले पुरै २० ओभर खेल्दै ८ विकेटको क्षतिमा १ सय ५८ रन बनाएको थियो ।
राजस्थानको स्कोर डेढ सय रन माथि लैजाने क्रममा जोस बट्लरको योगदान महत्वपूर्ण रह्यो । उनले राजस्थानका लागि ५८ बलमा ८२ रन बनाउन सफल भए । राजस्थानका अन्य खेलाडीले भने गतिलो प्रदर्शन गर्नै सकेनन् ।
बलिङतर्फ किङ्स इलेभन पञ्जावका बलर एन्ड्रिउ टाए एक्लैले ४ विकेट लिन सफल भए । १५९ रनको लक्ष्य पछ्याएको पञ्जावले पुरै २० ओभर खेलेर पनि जित निकाल्न सकेन । उसले ७ विकेटको क्षतिमा १ सय ४३ रन बनाउँदै पराजय सामना गर्यो ।
पञ्जावका ओपनर लोकेश राहुलले नटआउट ९५ रन बनाए पनि जित दिलाउन सकेनन् । राजस्थानविरूद्ध क्रिस गेल केबल १ बलमा १ रन बनाएको अवस्थामा पेभेलियन फर्किए । तर राहुल बाहेक पञ्जावका अन्य व्याट्सम्यानले केबल ४८ रन मात्रै बनाउन सके ।
पञ्जावविरूद्ध महत्वपूर्ण जितपछि राजस्थानले अंक तालिकाको पाँचौ स्थानमा पुगेको छ । उसको र मुम्बई इन्डियन्सको अंक बराबरी छ । १० खेलबाट राजस्थान र मुम्बईले समान ८/८ अंक बनाएका छन् ।
सनराइजर्स हैदरावाद १६ अंकसहित शीर्ष स्थानमा छ । त्यसैगरी १४ अंकसहित चेन्नाई दोस्रो र १२ अंकसहित पञ्जाव तेस्रो स्थानमा छ । १० अंकसहित कोलकाता चौथो स्थानमा छ ।