युवा गल्फर प्रतिमाको उडान
काठमाडौं : नेपालकी नं एक महिला गल्फर प्रतिमा शेर्पा गत वर्ष चर्चाको शिखरमा पुगिन । गोकर्ण गल्फ क्लबको होल नं तीनमा रहेको एउटा सानो छाप्रोबाट सुरु भएको १८ वर्षीया प्रतिमाको गल्फको कथा अमेरिकासम्म पुग्यो । घरेलु प्रतियोगिताहरुमा दिँदै आएको उत्कृष्ट प्रदर्शन र विश्वव्यापी रुपमा पाएको सफलताले प्रतिमा वर्षैभरि चर्चामा रहिन ।
प्रतिमाका लागि वर्षको सुरुवात अमेरिकाबाट उनले पाएको विश्वव्यापी चर्चाबाटै सुरु भयो । विश्वप्रसिद्ध स्याटलाइट खेलकुद च्यानल इएसपीएनले ‘छाप्रोदेखि गल्फको प्रोफेसनल खेलाडीसम्म’ भन्दै उनको विषयमा स्थान दिएको थियो । लगत्तै अन्य मिडियाले पनि प्रतिमालाई पछ्यायो ।
गल्फप्रति आफ्नो लगाव र मेहनतले अब्बल खेलाडी बन्ने अभियानमा रहेकी प्रतिमा व्यावसायिक प्रतियोगिता सूर्य नेपाल गल्फ टुरको छनोट खेल्ने पहिलो महिला बन्न सफल भइन् । सामान्य परिवारमा हुर्किएकी नेपाली महिलाले गल्फमा पनि आफ्नो नाम राख्न सक्छन् भन्ने उदाहरण उनले प्रस्तुत गरेकी छन् ।
२०७४ मै प्रतिमाले फाल्डो सिरिज प्रतियोगितामा सहभागिता जनाइन । पूर्व बेलायती गल्फर निक फाल्डोले गल्फका उदाउँदा खेलाडीलाई एक्सपोजर दिने अभिप्रायका साथ विश्वका विभिन्न राष्ट्रमा आयोजना गर्ने गरेको फाल्डो सिरिजको नेपाल क्वालिफायरमा प्रतिमा विजयी भएकी थिइन् ।
यस सफलताले प्रतिमालाई फाल्डो सिरिज ग्रान्ड एसिया फाइनलका लागि भियतनामसम्म पु¥यायो । प्रतिस्पर्धात्मक ग्रान्ड फाइनलमा प्रतिमा उपाधिविहीन रहे पनि प्रतियोगिताबाट उनले प्रसस्त अनुभव बटुल्न सफल भइन् । त्यसलगत्तै प्रतिमा दोस्रो पटक अमेरिका पुगिन र त्यहाँ इएसपीएनले उनको विषयमा डकुमेन्ट्री तयार पा¥यो । दोस्रो पटकको अमेरिका भ्रमण प्रतिमाका लागि निकै नै लाभदायक रह्यो । प्रतिमाले अमेरिकी गल्फ लिजेन्ड टाइगर उड्ससँग फ्लोरिडाको मेडलिस्ट गल्फ क्लबमा आधा घण्टा ब्यक्तिगत प्रशिक्षण लिन पाइन । प्रतिमाको गल्फप्रतिको लगावलाई देखेर उड्सले उनको प्रशंसा नगरी बस्न सकेनन् ।
पल्सर स्पोर्टस अवार्ड पिपल्स च्वाइस अवार्डमा मनोनीत भएकी प्रतिमाको विश्वव्यापी लोकप्रियताको परीक्षा अब नेपालकै उत्कृष्ट खेलकुद पुरस्कार समारोहमा हुनेछ । यस बिधामा उनीसँगै क्रिकेटका सन्दीप लामिछाने, टेबुलटेनिसका स्यान्टुु श्रेष्ठ, भलिबलका मानबहादुर श्रेष्ठ र फुटबलर किरण चेम्जोङ मनोनीत भएका छन् ।
यसअघि एसएमएस भोटिङमार्फत मात्रै विजेता निर्धारण हँुदै आएको पिपुल्स च्वाइस अवार्डमा यसपटक केही परिवर्तन गरिएको छ । यसपटक एसएमएस भोटिङले कुल ५० प्रतिशत मत पाउने छ भने आयोजक नेपाल खेलकुद पत्रकार मञ्चका सदस्यको मतले २५ प्रतिशत र विभिन्न खेलका प्रशिक्षकको मत २५ प्रतिशत छ । यस बिधाको विजेताले पल्सर मोटरसाइकल प्राप्त गर्नेछन् ।