आईपीएल : कोलकत्तामाथि मुम्बईको सानदार जित
काठमाडौं : इन्डियन प्रिमियर लिग(आइपीएल)को बुधबार रातिको खेलमा मुम्बई इन्डियन्सले कोलकत्ता नाइटराइडर्सलाई १०२ रनको फराकिलो अन्तरले पराजित गरेको छ । सुरुका खेलमा लगातार हार व्यहोरेर पछि परेको मुम्बई यस जित सँगै अंक तालिकाको चौथो स्थानमा उक्लिन सफल भएको छ ।
कोलकत्ताको घरेलु मैदान इडेन गार्डेन रंगशालामा भएको खेलमा कोलकत्ताले टस जितेर पहिले बलिङको निर्णय गरेको थियो । टस हारी ब्याटिङमा उत्रिएको मुम्बईले २० ओभरमा ६ विकेट गुमाएर २१० रन जोड्यो ।
२११ रनको ठूलो लक्ष्य पछ्याएको कोलकत्ता १८.१ ओभरमा सबै विकेट गुमाउँदै १०८ रनमै सीमित भयो ।
मुम्बईका लागि इशान किशनले २१ बलमा ६२ रनको विस्फोटक पारी खेले उनले ६ छक्का र ५ चौका प्रहार गरे । यस बाहेक रोहित शर्मा र सूर्यकुमार यादवले समान ३६-३६ रन को योगदान गर्दा बेन कटिङले २४, हार्दिक पाण्डेयले १९, इभिन लेविसले १८ रनको योगदान गरे । कोलकताका लागि पियुस चावलाले सर्वाधिक ३ विकेट लिए ।
ब्याटिङतर्फ कोलकत्ताका लागि सबैभन्दा बढी क्रिस लिन र नितिस रानाले २१-२१ रन बनाए । बलिङमा मुम्बईका हार्दिक पाण्डेय र क्रुनल पाण्डेयले २-२ विकेट लिए भने अरु सबै बलरले १-१ विकेट लिए । ११ खेलबाट १० अंक जोडेको मुम्बई अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ । समान खेलबाट समान अंक रहेको कोलकत्ता रनरेटमा पछि पर्दै पाचौं स्थानमा रहेको छ । १० खेलबाट १६ अंक जोडेको हैदरावाद शीर्ष स्थानमा र १० खेलबाट ६ अंक जोडेको दिल्ली अंक तालिकाको पुच्छारमा रहेका छन् ।