सडक विस्तार चर्चाले चिन्ता

सडक विस्तार चर्चाले चिन्ता

आँबुखैरेनी : बजारभित्रको सडकको चौडा २५ मिटर बढाउनेबारे सूचना जारी भएपछि आँबुखैरेनी बजारका बासिन्दा चिन्तित भएका छन्। सडक विभागले यसबारे गत बिहीबार सूचना जारी गरेको थियो।

‘यदि, सूचनामा आएजस्तै दायाँबायाँ सडक चौडा बढाउने हो भने आँबुखैरेनी बजारका करिब २ सय घरधुरी भत्किन्छन्’, आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापा भन्छन्, ‘अब धमाधम बर्खा लागेको छ। असार–साउनको मध्यबर्खामा घर भत्किने भयो भनेर बजारबासी धेरै चिन्तित छन्।’ बजारबासी विकासविरोधी भने नरहेको उनको भनाइ छ। ‘मध्यबर्खामा नभत्काएर हिउँद लागेपछि भत्काइदिए हुन्थ्यो भने हाम्रो चाहना छ’, अध्यक्ष थापा भन्छन्, ‘यसका लागि हामी पत्राचार गर्ने तयारीमा छौं।’ विभागले २५ मिटरभित्र रहेका घरटहरा ३५ दिनभित्र हटाउन घरधनीलाई आग्रह गर्दै पत्राचार गरेको छ। ‘अहिल्यै किन भत्काउनुप¥यो, सडक विस्तारको टेन्डर गरेपछि भत्काए पनि हुन्छ नि !’ उनले तर्क गरे।

सडक चौडा बढाउँदा आँबुखैरेनी बजारका ४ वटा टोलका घर भत्काउनु पर्नेछ। ‘पृथ्वीराजमार्गको दायाँबाया“ सिद्धिगणेश टोल, आँबुबेंसी टोल, चिसापानी टोल र मिलनबस्ती टोल छन्’, चिसापानी टोल विकास संस्थाका पूर्वअध्यक्ष कमलनारायण श्रेष्ठ भन्छन्, ‘२५ मिटर नै बढाउँदा धेरै घरहरु भत्किन्छन्। त्यसो भएर हामीले ७५ फिट मात्र कायम गराउन माग गर्ने निर्णय गरेका छौं।’

यसअघि पनि विभागले सडक चौडा बढाउनेबारे २ पटकसम्म सूचना जारी गरिसकेको थियो। पटक–पटक सूचना आउँदा बजारबासी मानसिक रूपमा पीडित भएको तनहुँ उद्योग वाणिज्य संघ, आँबुखैरेनी बजार इकाइका अध्यक्ष कृष्ण गान्दाङ बताउँछन्। ‘सधँै सूचना आइरहँदा बजारबासी चिन्तित हुने कुरा त भइहाल्यो, कतिपय बजारबासीचाहिँ एकदिन न एकदिन भत्काउँछ भन्ने मनस्थितिमा पनि छन्’, गान्दाङ भन्छन् ‘त्यसैले कतिपयले २५ मिटरले नभेट्ने ठाउँमा घर बनाइसकेका पनि छन्, कतिपयको भने वैकल्पिक घर छैन। उनीहरू यो सूचनाले चिन्तित भएका छन्।’ बजारक्षेत्रभित्रको सडकलाई १५ मिटर मात्र बनाइदिए बजारवासी खुसी हुने उनको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.