नानी बाबुसँग चित्रबहादुर केसीका मनका कुरा
हाम्रो जीवन क्षणभंगुर छ । त्यसैले बेलैमा समाजका लागि केही नयाँ काम गर्नेतर्फ सोच्नुपर्छ । तबमात्र यो अमूल्य जीवनले सार्थकता प्राप्त गर्छ ।मैले मेरा बुवाले विवाह गर्नुभएका पाँचवटी आमाहरू देखेँ । उहाँले अरू पनि विवाह गर्नुभएको सुनाउनु हुन्थ्यो । हाम्री आमालाई विवाह गर्ने बेलामा मुखियाकी छोरीसँग गरिब बाहुनको छोराले प्रेम गरेको भनेर बुवालाई बाँधेर पिटेछन् । बुवाले जसरी पनि बिहे गरेरै छाड्नु भएछ । तीनवटी आमाबाट जन्मिएका हामी १४ जना दाजुभाइ र ११ जना दिदीबहिनी थियौं ।
मेरो जन्म बागलुङको हाल गल्कोट नगरपालिकास्थित, गल्याङको साधारण परिवारमा भएछ । आमा माइतबाट फर्किंदा बाटैमा बेथा लागेछ । बाँसको ठुटो समाएर बसेकै बेला मेरो जन्म भएछ । आमाको दूध नआएपछि मलाई छिमेकी सुनारनी महिलाको दूध खुवाइएछ ।
गाईबस्तु चराउने अनि खेतीपातीको काममा सहयोग गर्दैमा मेरो बाल्यकाल बितेछ । आठ वर्षकै हुँदादेखि एक्लै लेकको गोठमा बसेको, अग्लाबस्तु बाँध्न र फुकाउन नभेट्टाएको, अररिएका दाम्ला बर्टान नसकेको झलझली सम्झिन्छु ।
हाम्रा घरमा सात पाथी जाने ठेकामा दिनहुँ दुई जनाले मोही पार्ने चलन थियो । घिउको जोहो गरेर १२–१३ दिन लगाएर बुटवल बेच्न लाने र वर्ष दिनलाई खान पुग्ने नुन, तेल र सामान्य कपडा ल्याउने चलन थियो । पहिले मुस्ताङतिरबाट नुन ल्याउँदा भारतको नुन लुतो हुन्छ भन्ने चलन थियो ।
हाम्रा हजुरबुवा अति नै गरिब हुनुहुँदो रहेछ । अन्नको जोहो गर्न नसकेर हजुरआमा खोले पकाउने कुँडोसमेत मागेर खानुहुन्थ्यो रे । बुवा साक्षर मात्र भए पनि टाठो हुनुहुन्थ्यो । उहाँले ६ महिना बर्मा पुगेर नोकरीसमेत गर्नुभयो । १९९० सालको हैजामा जेठाबा पट्टीका सबैजना सकिएछन् । त्यसपछि बुवाले जेठाबाको समेत सम्पत्ति प्राप्त गर्नुभएछ ।
मेरा दाजुको पनि १९ वर्षको उमेरमै तीनवटा विवाह भइसकेको थियो । मेरो विवाह हुँदा म १४ वर्षको र पार्वती ९ वर्षकी थिइन् । त्यसबेलाको चलन नै त्यस्तै । बुवाआमाले नै बुहारीलाई सौता हालिदिने चलन थियो । मलाई पनि दोस्रो विवाह गरिदिने तयारी भइसकेको रहेछ । म भागेर बचेँ । यस्तो काम ठीक होइन भन्ने चेत ममा सानैदेखि थियो ।
मेरो प्रारम्भिक शिक्षाको सुरुवात गाउँमै भयो । गाउँका पण्डित, पुरोहितले साक्षरसम्म बनाउथे । स्कुल खुल्न थालेकै थिएनन् । हाम्रो क्षेत्रमा चौबिसे राज्यअन्तर्गत गल्कोट राज्य कायमै थियो । पछि डा. केआई सिंह प्रधानमन्त्री भएपछि गल्कोट राज्य उन्मूलन गरे । यो निर्णयले अड्डा अदालत सबै हट्ने भए ।
राजनीतिक अड्डा हटे पनि देवानी अड्डा रहनुपर्छ भनेर सात जनाको टोली राजा महेन्द्रकहाँ बिन्तीपत्र लिएर हिँड्यो । टोलीको एक सदस्य बुवा पनि हुनुहुन्थ्यो । म बुवाको भरिया भएर पोखरासम्म आएँ । फेरि उहाँले काठमाडौंसम्मै ल्याउनुभयो । यसले भारतीय सेनामा भर्ती हुने मेरो सपना पूरा भएन ।
हामी काठमाडौं आएर गल्कोटे राजाको दरबारमै बस्यौं । बुवा पहिले गल्कोट दरबारमा भान्सेको रूपमा काम गर्नुहुन्थ्यो । दरबारका मान्छेले बुवालाई छोरो आफू जस्तै बनाउने कि पढाउने भनेर फकाएछन् । पढाउँछौं भनेपछि बुवा लोभिनुभएछ । उहाँ मलाई यतै छाडेर फर्किनुभयो । तर दरबारको मनसाय अर्कै रहेछ । भाँडा माझ्ने मान्छे नभएर मलाई राखिएको रहेछ ।
मैले चाङका चाङ भाँडा माझ्नुपथ्र्यो । खानाको नाममा दिउँसो ३ बजेतिर उसिना चामलको थोरै भात खान दिन्थे । दरबारमा पाक्ने हरेक मिष्ठान्नको गन्ध मात्र पाउँथे । मलाई असह्य भएपछि चिठी लेखेर आमालाई पठाएँ । घर जान पैसा थिएन । आमाले कानमा लगाएका मुन्द्री खोलेर पठाइदिनु भएछ । त्यसलाई तीन सय ९८ रुपैयाँमा बेचेँ ।
म दरबारबाट विद्रोह गरेर निस्किएँ । पाँच रुपैयाँ भाडा तिरेर डेरा बस्न थालेँ । अनि नन्दी किशोरी रात्रि पाठशालामा भर्ना भएँ । त्यहाँ तीन वर्षमा एसएलसी पास गराइन्थ्यो । त्यहीँबाट एसएलसी गरें । पछि त्रिचन्द्र कलेजबाट आईए र प्राइभेट परीक्षा दिएर बीए पास गरेँ । मैलै सुरुमा गाउँकै स्कुलमा पढाउन थालेँ । दरबारका मान्छेले यसले पढेकै छैन भनेर गाउँमा हल्ला फिँजाएछन् । अनि करिब १० महिना पद्मोदय हाइस्कुलमा र पछि केही वर्ष बागलुङमै पनि पढाएँ ।
हाम्रा छिमेकमा तीनवटा दलितका घर थिए । व्रतबन्ध, बिहे गरेपछि त्यहाँ जान प्रतिबन्ध जस्तै थियो । तर गोठ बस्दा पनि दलित साथीहरूसँगै हिमचिम थियो । म उनीहरूकहाँ खाना खान जान्थे । उनीहरूकहाँ भात, खोले, सिस्नु जे पाके पनि अलिनो हुन्थ्यो । उनीहरू नुन जुटाएर पनि खान सक्ने अवस्थाका पनि छैनन् भन्ने पछि मात्र थाहा भयो ।
२०५६ सालको आम निर्वाचनमा मैले बागलुङबाट जितेपछि काँडेबासमा विजय जुलुसको आयोजना गरिएको थियो । बाल्यकालमा सँगै दूध खाएका र खेलेका दुई बाल सखालाई सभामा देखेपछि म भावुक भएँछु । मसँगै उनीहरू पनि रोएँ । म चुनाव जितेकामा भन्दा पनि उनीहरूलाई त्यहाँ पाएकोमा औधी खुसी भएँ । मैले उनीहरूकै संगतबाट दुःख देखेको थिएँ ।
बाल्यकालको अर्को रमाइलो घटना पनि सम्झिन्छु । छिमेकी कामीको घरमा श्राद्ध गर्ने चलन थियो । उनीहरूका पुरोहित थिएनन् । जुवाईं आएर जाँता माथि बसेर के के बर्बराउँथे । हाम्रा घरमा भन्दा श्राद्ध छिटो सकिन्थ्यो । उनीहरू पिण्ड पनि चढाउँथे । पिण्ड नारी खोलामा सेलाउने चलन थियो । तिनै मेरा दौंतरीलाई पिण्ड सेलाउन पठाइन्थ्यो । हामी बाटैमा बाँडीचुँडी खान्थ्यौं । त्यस्तै रातभर चराका गुँडमा हात हाल्दै हिँडेको पनि सम्झिन्छु ।
भाइबहिनीहरू, समाजमा भ्रष्टाचार बढेको बढ्यै छ । हाम्रै गाउँ समाजदेखि सिंगो देश हाँक्ने सिंहदरबारसम्म भ्रष्टाचारले जरा गाडेको छ । यसमा हाम्रो पनि जिम्मेवारी हुन्छ । हाम्रो शिक्षा प्रणाली पनि समाजका लागि उपयोगी बन्न सकेको छैन । हामीमा नैतिक शिक्षाको अभाव छ । गुरु एवं बुवाआमाको अर्ती उपदेश सुन्ने र पालन गर्ने परिपाटी छैन ।
हाम्रो राजनीतिक संस्कार गलत छ । व्यक्तिवादिता हावी भएको छ । देश निर्माण गर्न भनेर तम्सिएका नेता निजी स्वार्थभन्दा माथि उठ्न सकेका छैनन् । यिनीहरूलाई सही बाटोमा हिँडाउने, राजनीतिक संस्कार सिकाउने जिम्मा भाइबहिनीकै काँधमा छ । बेलैमा समाजका लागि केही नयाँ काम गर्नेतर्फ सोच्नुपर्छ । तबमात्र यो अमूल्य जीवनले सार्थकता प्राप्त गर्छ ।
हरेक कुरामा नयाँ संस्कार बसाउने भनेकै बाल्यकालदेखि हो । उमेर छिप्पिएपछि त आफ्नै वशमा नहुन पनि सक्छ । त्यसकारण आगामी पुस्ताका लागि समेत केही योगदान गर्ने गरि सोच्नेबेला आएको छ ।
(पूर्वमन्त्री केसीसँग समीरबाबु कट्टेलले गरेको कुराकानीमा आधारित)