अभिनय कक्षाको अनुभव

अभिनय कक्षाको अनुभव

साथीहरू ! हाम्रा विद्यालयहरूमा नयाँ शैक्षिक सत्र सुरु भएको छ । हामी पनि नयाँ कक्षामा रमाउन थालेका छौं, होइन त ? कतिपयले त स्कुल पनि नयाँ सुरु गर्नुभएको होला । नयाँ शैक्षिक सत्र सुरु हुनुअघि हामीले अलि लामो बिदा पनि गुजार्‍यौं नि । यो बिदामा सबैले केही न केही विशेष काम पनि गर्‍यौं होला । मेरो छिमेकका केही नानीबाबुले चाहिँ गाउँको घरमा गएको र रमाइलो भएको बताएका थिए ।

यो समयलाई बानेश्वरस्थित प्रज्ञाकुञ्जमा कक्षा ५ मा अध्ययनरत क्विनसम जोशीले भने फरक तरिकाले उपयोग गरिन् । उनले नाटक र अभिनय कला सिकेर तीन हप्ता बिताइन् । काठमाडौं, लैनचौरस्थित नेपाल-जापान बाल पुस्तकालयमा थिएटर मल र थिएटर सेन्टर फर चिल्ड्रेनले आयोजना गरेको अभिनय तालिममा धेरै कुरा सिक्न पाएको क्विनसमको भनाइ थियो । ‘ड्रामा मेरो रुचिको विषय हो । यो तालिममा मैले संवादअनुसार अनुहारको अभिव्यक्ति कस्तो बनाउने भन्ने सिकेँ’, उनले भनिन्, ‘क्यारेक्टर बिल्डिङ (चरित्र निर्माण) र डान्स (नृत्य) को अभ्यास पनि गरेँ ।’

दयाहाङ राई र केकी अधिकारीको अभिनय, आर्यन सिग्देलको कमेडी र राजेश हमालको बोल्ड भ्वाइस मन पर्ने क्विनसम यसपालिको लामो छुट्टी रमाइलो सिर्जनशील काममा बिताउन पाएकोमा खुसी देखिन्थिन् । अभिनय कक्षा सकिएपछि घर फर्कन मामालाई पर्खिरहेकी उनी उक्त पुस्तकालयमा नाटक बनाउन मिल्ने कथाका किताबको खोजीमा थिइन् ।

नक्सालस्थित वृहस्पति विद्या सदनमा कक्षा ५ मै अध्ययनरत मेघमाला श्रेष्ठ पनि क्विनसमसँगै अभिनय कक्षामा सहभागी भइन् । कमलादी गणेशस्थान बस्ने उनी अरू बेला पनि नेपाल-जापान बाल पुस्तकालयमा बालकथाका पुस्तक पढ्न आउँथिन् । यसपटक पुस्तकालयमा अभिनयको सूचना देखेपछि तीनहप्ते कक्षामा सहभागी भएको र असाध्यै रमाइलो भएको उनले अनुभव बाँडिन् ।

‘नाटक वा अभिनय गर्दा मात्र होइन, प्रभावकारी अभिव्यक्ति जीवनका हरेक पाटामा काम लाग्छ । यसले मानिसको व्यक्तित्व नै बदलिदिन्छ । यो कक्षामा मैले सिकेको सबैभन्दा महत्वपूर्ण कुरा यही हो’, मेघमालाले यो भनाइ राखिरहँदा पनि उनले अभिव्यक्तिमा निखारता ल्याउने प्रयास गरिरहेको देखिन्थ्यो । उनी कलाकार आँचल शर्माको अभिनय र आवाजबाट प्रभावित छिन् ।

क्विनसम र मेघमाला मात्र होइन, भक्तपुरको धुन्छेपाखा बस्ने अनमोल खनाल (सिद्धार्थ विद्यापीठ), भक्तपुरकै चासुखेलका असीम त्वयनावसु (एभरेस्ट स्कुल, व्यासी), बाफलका हिमांशु उप्रेती (ज्ञानकुञ्ज स्कुल) लगायत २८ जना बालबालिकाले वर्षान्त बिदामा अभिनय कला सिकेका थिए । उनीहरूले अभिव्यक्ति, हाउभाउ, गेश्चर, पहिरन र स्वरका साथमा नृत्य, शारीरिक व्यायाम, ध्यान, चित्रकला लगायतका अन्य जीवनोपयोगी सीपहरू पनि त्यहाँ सिकेका थिए ।

आजकाल सहरमा नाटक देखाउने थिएटरहरू सक्रिय छन् । लोकप्रिय पुस्तक, कथाहरूलाई नाटक बनाएर प्रस्तुत गर्ने ट्रेन्ड पनि बढेको छ । अनि बालबालिकाका लागि अभिनय कक्षा सञ्चालन गर्नुको उद्देश्यचाहिँ के होला त ?       एकैछिन यस कक्षाका आयोजक थिएटर मलका निर्देशक युवा कलाकार केदार       श्रेष्ठलाई भेटौं है त !

‘मुख्य कुरा त हामी बालबालिकाको व्यक्तित्व विकासमा केही गर्न चाहन्छौं’, केदार सुरुमै मुस्कुराए अनि अलि गम्भीर हुँदै भने, ‘अर्को कुरा हामी भविष्यमा चिल्ड्रेन्स थिएटर स्थापना गर्न चाहिरहेको छौं । नेपालकै लागि पहिलो यस खालको थिएटरका लागि पनि हामीलाई बालकलाकार चाहिन्छ । त्यसैले कलाकार विकास गर्न पनि अभिनय कक्षाको सुरुआत गरेका हौं ।’

केदार संलग्न संस्था थिएटर मलले हरेक वर्ष बालनाटक महोत्सव पनि आयोजना गर्दै आइरहेको छ । यस वर्ष उक्त महोत्सवको पाँचौं संस्करण हुन गइरहेको पनि उनले जानकारी दिए । कलाकार नै बन्नेले मात्र नभएर यस्तो कला सिक्दा जोकोहीको पनि व्यक्तित्व विकास हुने र अन्य जुनसुकै क्षेत्रका काम र सञ्चार प्रवाह अनि अभिव्यक्ति आकर्षक हुने उनको भनाइ रह्यो ।

‘बालबालिकालाई कला सिकिरहेजस्तो कुनै बोझ या कठिनाइ फिल नै हुँदैन । यसका लागि हामी विविध खेलको सहारा लिन्छौं । खेलमा नै भावना भर्छौं र इमोसनल (भावनात्मक) बनाइ अभिव्यक्ति र अभिनयको सीप दिन्छौं’, केदारले कपाल मिलाउँदै भने ।

केदारलाई बालबालिकाको प्रशिक्षणमा साथ दिने अर्की कलाकार छिन्, पाटनकी इलिना नकर्मी । केही वर्ष जापान बसेर पनि आफ्नै देशमा केही गर्ने सोचले फर्केकी इलिना बालबालिकामा बढिरहेको ग्याजेट मोहसँग भयभीत छिन् । भनिन्, ‘आजका बालबालिका मोबाइलको दुनियाँमा एकसुरले रमाइरहेका हुन्छन् । अभिभावक, रिलेटिभ र मानिससँग उसको सम्बन्ध नै टाढिँदैछ ।’

एप्लाइड थिएटरसँग सम्बद्ध इलिना बालबालिकालाई कलाकार नै बनाउने भन्दा पनि अभिव्यक्ति सीप र मानिससँग आत्मीय बनाउन यस्तो कक्षा सञ्चालनमा ल्याइएको बताउँछिन् । मनोविज्ञानकी विद्यार्थीसमेत रहेकी इलिना बालबालिकाका लागि यस्ता खाले कक्षा नचलाउने र स्कुलको भरमा मात्र छाड्ने हो भने केही वर्षमै भयावह अवस्था हामीले भोग्नुपर्ने दाबी गर्छिन् ।

‘मानिस मानिसको सम्बन्ध र आत्मीयता हराउनु, सामाजिक भावना विकास नहुनु, समुदायमा घुलमिल हुन नसक्नु नयाँ पुस्तामा देखिन थालेका चिन्ताजनक लक्षण हुन्’, इलिनाले भनिन् । उनले यसमा सबैको साझा प्रयास हुनुपर्नेसमेत सुझाइन् ।

स्कुलका कक्षाले पढाइलेखाइमा मात्र ध्यान दिने र कक्षा चढाउने गरे पनि जीवनमा चाहिने करुणा, विवेक, भावना, आत्मीयता जस्ता कुरा यस्ता कक्षाबाट मात्र विकास गर्न सकिने इलिना र केदार दुवैको साझा भनाइ थियो ।

नयाँ कक्षा र नयाँ वर्षको सुरुआतसँगै हामी पनि केदार दाजु र इलिना दिदीले भनेजस्तै आफूमा करुणा, विवेक, भावना र आत्मीयता विकास गर्ने प्रयास गरौं है त ?
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.