गाउँको बिदा

गाउँको बिदा

विद्यालय जाने अधिकांश सहरी विद्यार्थी शैक्षिक सत्र सकिँदा होस्, जाडो÷गर्मी बिदामा वा अन्य कुनैै बिदामा, नयाँ ठाउँ घुम्छन् वा केही सिक्छन् । उनीहरूको गन्तव्य प्रायः रमाइलोका लागि हुन्छ । काठमाडौं फन भ्याली, हुपील्यान्ड, चन्द्रागिरि, भृकुटीमण्डप आदि वा उपत्यकाभित्रका विभिन्न धार्मिक, सांस्कृतिक एवं पर्यटकीय स्थानको भ्रमण नै उनीहरूको प्राथमिकतामा पर्छ । बुवाआमाबाट राम्रै साथ पाउने सहरी बालबालिका त नेपालका विभिन्न स्थान घुम्छन्, अझ केहीले त विदेश भ्रमण मै जाने अवसर पनि पाउँछन् । कतै नजाने वा आफ्नो व्यक्तित्व बनाउँछु भन्ने विद्यार्थी भने गायन, नृत्य, अभिनय वा खेलका विभिन्न विधामा प्रशिक्षण लिन्छन् ।

गाउँघरका धेरै विद्यार्थी भने यस्ता सुविधाबाट बर्सेनि वञ्चित भइरहेका छन् । गाउँको विकटता, गाउँले जीवनको आम्दानी, काममा व्यस्त दैनिकी, घुमघाम वा प्रशिक्षणको असुविधा वा सोचाइ र बुझाइको सीमितताका कारण गाउँले विद्यार्थीले चाहेर पनि सहरी बालबालिकाले पाउने सुविधा ग्रहण गर्न सकिरहेका छैनन् । प्रदेश नम्बर १ को पहाडी जिल्ला खोटाङका बालबालिकाले चाहेर पनि आफूलाई बिदाको पर्याप्त सदुपयोग गर्न सकिरहेका छैनन् ।

 सोलु घर भए पनि पढ्नकै निम्ति हलेसीस्थित फुपूसँग बस्दै आएकी पूजा घिमिरे शैक्षिक सत्र सकिएपछिका सबै दिन बिहान ५ बजेदेखि बेलुकी ६ बजेसम्म पूजासामग्री बेच्नमै व्यस्त भइन् । प्रसिद्ध तीर्थस्थल हलेसी मन्दिर अगाडिको पसलमा दिन बिताउनु उनका लागि ‘सर्वस्व’ बन्यो । हलेसीको महेन्द्रदय माविमा कक्षा ९ सकेकी उनले बिदाभरिमा मुस्किलले दुई दिन घुम्ने समय पाइन् । छेवैको पसलमा बस्ने कक्षा ६ सकेकी रोहिनी मोहोरासँग उनी ककनी मन्दिर, सप्तेश्वर, गुप्तेश्वर, मञ्जु श्री, ऐंसेलुखर्क र ताराखसे गुफा घुमिन् ।

मात्तिमस्थित पञ्च माध्यमिक विद्यालयबाट कक्षा ८ सकेका सयल राईले भने लामो प्रयासपछि यसपटक विशेष अवसर पाए । उनी पहिलोपटक राजधानी काठमाडौं घुग्न पाए । तर १३ दिन बसेर घुमघाम गरे पनि उनलाई केही थाहा छैन । ‘खै कहाँ घुमेँ केही थाहा छैन’, उनले अन्नपूर्णसँग भने, ‘गाडी र मान्छेको भीड, धुँवाधुलो धेरै । तर पनि काठमाडौं राम्रै लाग्यो ।’ अरू बिदामा आफ्नो समय छेउको जंगलमा दाउरा काटेर वा गाईबस्तु चराएर बित्ने उनको भनाइ छ ।

 जिल्लाको सदरमुकाम दिक्तेल पुग्न पनि उनलाई चार घन्टा लाग्छ । हलेसीमा बस्ने कुसुम बस्नेतलाई बिदामा काठमाडौं घुम्ने मन थियो । साथीले भनेअनुसार पशुपतिनाथ, स्वयम्भूनाथ, बूढानीलकण्ठ, चिडियाखाना र चोभार पुग्न मन छ । तर पारिवारिक अवस्था र अनुकूल नपर्दा उनी यो वर्ष पनि खुम्चिनु पर्‍यो । महेन्द्र माविबाट कक्षा ६ सकेकी उनी भन्छिन्, ‘नाटक खेल्छु, नाच्छु तर राम्रो गर्न सिक्ने ठाउँ छैन ।’

समता शिक्षा निकेतन हलेसीमा कक्षा ८ पढेकी शोभा राईको बिदा पनि कपडा पसलमा आमालाई सघाएरै बित्यो । नेपालका विभिन्न ठाउँ घुम्न मन लागेको बताउने उनले पाँचजना साथी बटुलेर आसपासका केही ठाउँमात्र घुग्न पाइन् । उनले भनिन्, ‘दुख्सेलीमा भर्खरै स्थापना गरिएको गुप्तेश्वर मन्दिरमा पहिलोपटक चार घन्टा लगाएर पुग्यौं । गुफा पनि छ तर बत्ती नहुँदा भित्र पस्न डर लाग्यो ।’ हलेश्वर इङ्लिस बोर्डिङ स्कुलबाट कक्षा ५ सकेकी स्वस्तिका गिरीको पनि बिदाको भनेजस्तो सदुपयोग गर्न नपाउँदा गुनासो छ ।

 उनी इतिहासमा रुचि राख्छिन् । यो पृथ्वी कसरी बन्यो र कसरी चलिरहेछ जान्न चाहिन्छन् । तर उनीसँग यसको समाधान छैन । ‘यो विकट ठाउँमा न पत्रपत्रिका आउँछन् न घुम्न जाने र प्रशिक्षण लिन पाइन्छ’, उनी भन्छिन्, ‘अस्ति एकजना बाजेको हातमा मुना पत्रिका देखेर एक दिनका लागि मागेर पढेँ ।’ उनी पनि अहिलेसम्म राजधानी काठमाडौं पुग्न नपाएको बताउँछिन् । थप्छिन्, ‘स्कुलले पनि यतैतिरका गुफा र मन्दिरमात्र लैजान्छ, नयाँ ठाउँ र नयाँ विषयबारे कहिले बुझ्ने होला ?        ’


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.