सिन्डिकेट हटाउने रुपनारायणलाई कारबाही ! मन्त्रालय तानियो
काठमाडौँः सिन्डिकेट पक्षधर यातायात व्यवसायीहरुलाई असहयोग गरेको भन्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराईलाई मन्त्रालयमा तानेका छन् ।
सिन्डिकेटावाला यातायात व्यवसायीहरुसँग सुरुबाटै लचिलो बन्दै आएका महासेठले शुक्रबारबाट लागू हुने गरी विशेष कामका लागि भन्दै भट्टराईलाई मन्त्रालय तानेका हुन् ।
मन्त्रालयले पठाएको पत्र महानिर्देशक भट्टराईले शुक्रबारै प्राप्त गरेका छन् । देशभरमा रहेको यातायात व्यवसायीको चर्को सिन्डिकेट हटाउन
निर्णायक भूमिका खेलेका भट्टराईको कामप्रति असन्तुष्ट रहेका मन्त्री महासेठ व्यवसायीको दबाबमा मन्त्रालय तानेका हुन् ।
मन्त्रालय जान्न
मन्त्रायबाट पठाइएको पत्र पाएको जनाउँदै करिब एक वर्षअघि विभागमा आएका भट्टराईले आफू तत्काल मन्त्रालय हाजिर हुन नजाने बताए ।
गृहमन्त्री रामबहादुर थापाले सिन्डिकेट हटाउन कडा कदम चालेपछि कार्यान्वयनका जिम्मेवारी पाएको यातायात व्यवस्था विभागका महानिर्देशक भट्टराईकै पहलमा समिति र संघहरु कम्पनीमा आउन बाध्य भएका थिए ।
‘मलाई मन्त्रालय तानिने कुरा सुनेको थिएँ, तर आज पत्र पनि आयो’, भट्टराईले भने, ‘तर म अब केही साता विदामा बस्ने तयारीमा छु, मैले अन्य कामको पनि तयारी थालेको छु ।’
विशेष कामले तानेँः मन्त्री
उता मन्त्री महासेठले उनलाई विशेष कामले मन्त्रालय तानिएको दाबी गरे । ‘विशेष काम र भूमिकाका लागि कर्मचारीलाई मन्त्रालयमा तान्न पाइन्छ’, महासेठले भने, ‘भट्टराईलाई पनि विशेष कामले तानेको हुँ ।’