‘कपाल मुकुट हो’

पोखरा : ‘कपाल हाम्रो ताज हो, मुकुट हो’, उनले सुरुमै भने, ‘कमाल छ र त मस्ती छ मस्ती।’ कपाल मिलाउँदै सुरु हुने दिन कपाल मिलाएर अन्त्य हुने उनी बताउँदै थिए।
‘पोखरा आउनेबित्तिकै मलाई सोधियो, तपाईंलाई यहाँको ताल कस्तो लाग्यो ?’ उनले सुनाए, ‘मेरो चासो त्यता छैन, मैले त यहाँ सैलुनहरु कता छन् भनेर नजर लगाएँ।’ कपाललाई त्यतिका महत्व दिने व्यक्ति अरु कोही नभएर कपाल काट्ने पेसालाई बहुराष्ट्रिय ब्रान्ड बनाएका भारतीय जाबेद हबिब थिए। उनकै द जाबेद हबिब सैलुनको फ्रेन्चाइज शाखा पोखरामा शनिबार उद्घाटन् हुँदै थियो। संसारभर ८ सय फ्रेन्चाइज बनाइसकेका उनले पूर्व मिस नेपाल माल्भिका सुब्बासँगै सैलुनको उद्घाटन गरे।
मन्तव्यकै क्रममा सकारात्मक सोचका टिप्स बाँडेका हबिबले हरेक दिन स्याम्फु गरेर तेल लगाए कपाल नझर्ने सुझाए। ‘मैले भनेजस्तै गर्नाेस् कपाल नझर्ने ग्यारेन्टी गर्छु’, उनले भने, ‘जबसम्म जिन्दगी हुन्छ तबसम्मै कपाल रहन्छ।’ हरेक दिन आफ्नो बिहेको दिन हो भन्ने सम्झेर चिरिच्याट्ट पर्न पनि उनले सुझाए। ‘बिहेको दिन कोही तपाईंको दुश्मन हुँदैन, तपाईं सबैसँग हाँस्नुहुन्छ’, उनले बेलिविस्तार गरे, ‘सबैजना तपाईंसँग अंकमाल गर्न आउँछन्। दिन हँसिलो हुन्छ।’
म्याकडोनाल्ड रेस्टुरेन्टले जस्तै चेन फैलाउने उद्देश्यले कपाल काट्ने सैलुनहरु फिँजाएको उनले सुनाए। ‘किन डक्टरमात्रै बन्ने ? किन पाइलटमात्रै बन्ने ? किन इन्जिनियरमात्रै बन्ने ? कोही किन कपाल काट्ने विज्ञ हुँदैन ?’ उनको प्रश्नात्मक वाक्य थियो, ‘कपाल काट्नु चानेचुने काम होइन, विज्ञान हो विज्ञान।’
बलिउडका थुप्रै सेलिब्रेटीको हेयरस्टाइल गर्दै आएका उनले आफ्ना अगाडि सबै ग्राहक बराबर हुने पनि सुनाउन भ्याए। ‘मलाई बलिउडका धेरैको कपाल बनाएको छ भन्छन्’, उनी बोले, ‘मैले कपाल काटेहरु स्टार बनेका छन्, उनीहरुका कारण मलाई स्टार नसोच्नोस्।’ सेवा लिन आउने हरेक व्यक्तिलाई आफूले भिआइपी र स्टार सरह मान्ने पनि उनले सुनाए।
पोखराकै ममता मल्ल ठकुरीले जाबेदको फ्रेन्चाइज सैलुन एन्ड एकेडेमी पोखराको न्युरोडमा सुरु गरेकी हुन्। १ करोड ७५ लाख रुपैयाँ खर्चेर सुरु भएको सैलुनमा जाबेदकै कम्पनीबाट कपाल काट्नेहरु आएका छन्। प्राविधिक सहयोग उतैबाट आएको ममताले सुनाइन्। ‘यहाँ एकेडेमी पनि छ, पछि यहीं सिकेका स्थानीयलाई रोजगारी दिनेछु’, उनले भनिन्, ‘हेयर कटिङ, फेसियल, मेकअप लगायत सबै सेवा हामी दिन्छौं।’ व्यस्त र कामकाजी व्यक्तिहरुलाई लक्ष्य गरी गुणस्तरीय सेवा दिन सैलुन खोलेको ममताले सुनाइन्।
सैलुनमा महिला र पुरुष गरी एकैपटकमा १० जनालाई सेवा दिन सकिने मल्लले बताइन्। हेयर कट, नेल आर्ट, फेसियल, मेकअप, थ्रेडिङ)सौन्दर्य सेवा उपलब्ध गराइने भएको हो।
प्रतिक्रिया दिनुहोस !
