कला बेचेर अनाथालयलाई कम्प्यूटर
भाइबहिनीहरू, यिनी हुन् तिमीहरूकै प्यारी दिदी ज्वाला ढकाल। उनले यसै वर्ष जावलाखेलस्थित सेन्ट मेरिज हाइस्कुलबाट एसईई परीक्षा दिएकी हुन्। परीक्षा दिएर बसेको समयलाई उनले निकै सिर्जनशील ढंगले सदुपयोग गरेकी छन्। एउटा व्यावसायिक कलाकारले समेत हत्पति आँट्न नसक्ने काम उनले गरेर देखाइदिइन्। आफ्नो लगन र मेहनतले ज्वालाले २२ दिनमै ७० वटा चित्रकलाहरू तयार पारिन्। यी चित्रकलाका साथै आफूले पहिले पनि तयार पारेर राखेका चित्रहरूसहित जम्मा एक सय पाँच चित्रकलाहरूलाई समेटेर उनले हालै नेपाल आर्ट काउन्सिल बबरमहलमा एकल चित्रकला प्रदर्शनीसमेत आयोजना गरिन्। चित्रका मूल्य पाँच हजारदेखि दुई लाख रुपैयाँसम्म तोकिएका थिए।
ज्वालाले आफ्ना चित्रकला संख्यामा धेरै बनाएकी मात्र होइनन्। उनका हरेक चित्रकलाले कुनै न कुनै भाव बोकेका हुनाले ती अर्थपूर्ण छन्। चित्र हेर्ने जो कोहीलाई उनका कलाकृतिले आफूतर्फ आकर्षित गर्छन्। यति सुन्दर चित्रहरू बनाउने ज्वालाको लक्ष्य भने कलाकार बन्नु होइन। भविष्यमा उनी डाक्टर बनेर बिरामीको सेवा गर्न चाहन्छिन्। तर पनि कलाकारितामा उनको यति धेरै लगाव किन रह्यो त ? अनि एकल चित्रकला प्रदर्शनी गर्नुको पछाडि उनको लक्ष्य के छ त ?
यी सबै प्रश्नहरूको उत्तर हो, उनीभित्रको सेवा र सहयोगको भाव। कुरा दुई वर्षअगाडिको हो। उनी कक्षा ९ मा पढ्दा ‘प्रयास नेपाल’ नामक एक अनाथालयमा त्यहाँका बालबालिकालाई आर्ट एन्ड क्राफ्ट विषय सिकाउन थालिन्। त्यही क्रममा उनले उक्त संस्थाको भित्री वातावरण बुझ्ने मौका पाइन्। त्यहाँ टेलिभिजन थियो। तर कम्प्युटर थिएन। ‘इन्टरनेट र कम्प्युटरजस्ता महŒवपूर्ण सूचना र प्रविधिका माध्यमबाट उनीहरू टाढा रहेका मलाई ठीक लागेन’ आफूले यस्तै पीडा पहिले नै भोगिसकेकी ज्वालाले भनिन्, ‘त्यसैले मैले आफूले चित्रकला प्रदर्शनी गरेको पैसाले उनीहरूलाई कम्प्युटर ल्याब खोलिदिने विचार गरेकी छु। ’
अनाथालयमा हुर्किरहेका बालबालिकालाई कम्प्युटरसम्बन्धी थोरै भए पनि सीप र ज्ञान प्रदान गर्ने उनको चाहना छ। उनी आफूसँग भएको समय र आफ्नो प्रतिभाको प्रयोग गरेर उनीहरूको विद्यार्थी जीवनमा सहजता ल्याउन चाहन्छिन्। आफूले गरेको सानो सहयोगले ती बालबालिकाको जीवनमा ठूलो परिवर्तन आउन सक्छ भन्नेमा उनी विश्वस्त छिन्।
आफ्नी आमा होमकुमारी भट्टराई (ढकाल) लाई आदर्श मान्ने ज्वालाको चित्रकलामा रुचि सानैदेखिको हो। कक्षा १ मा ‘प्लास्टिकले फोहोर नपारौं’ शीर्षकको उनको लेख अन्नपूर्ण पोस्ट् दैनिकमै प्रकाशित भएपछि उनको लेखन यात्रा कहिले रोकिएन। त्यतिबेला उक्त लेखका लागि उनी आफंैले चित्रसमेत कोरेकी थिइन्।
चित्रकलामा उनको रुचिकै कारण कक्षा १ मै पढ्दा नेपाल कमर्सियल आर्टिस्ट संघमा उनले १५ दिन चित्रकला सिक्ने अवसर पाइन्। त्यहाँ आफूले कलाकारद्वय दीपक कुँवर र कैलाश के. श्रेष्ठ सरहरूमार्फत पहिलोपल्ट कुची समाउन, रङ भर्न र अझै राम्रो चित्रकला बनाउन सिकेको उनले बताइन्। त्यसपछि भने उनले विद्यालयका चित्रकला प्रतियोगितामा भाग लिन थालिन् र त्यसैका हारजितहरूले उनको प्रतिभालाई अझै निखार्दै लग्यो।
लेखनमा पनि उनको लगाव रहेको पाइन्छ। कक्षा ३ को जाडो बिदालाई सदुपयोग गर्दै उनले ‘नेचर’ नामक पुस्तक प्रकाशन गरिन्। प्रकृतिसम्बन्धी कथा, कविता र निबन्धको सँगालो उक्त पुस्तकका हरेक रचनामा उनी आफैंले चित्र कोरिन्। उनी कक्षा ५ मा पढ्दा यूएन ह्याबिट्याटले ‘हाउ टु डिभेलप माई सिटी इन् माई इम्याजिनेसन’ शीर्षकमा एक अन्तर्राष्ट्रिय चित्रकला प्रतियोगिता आयोजना गरेको थियो। उक्त प्रतियोगितामा तेस्रो भएर उनले ब्रोन्ज मेडल हात पारिन्। कक्षा बढ्ने क्रममा चित्रकलाप्रतिको उनको रुचि पनि बढ्दै गयो।
बिदाको समय सदुपयोग गर्ने ज्वालाको बानी सानैदेखिको हो। वर्षंैपिच्छेको बिदाहरूमा उनी कथा, कविता र निबन्ध लेख्ने गर्थिन्। उनी समाजलाई बुझ्ने र यसैका निम्ति आफ्नो प्रतिभालाई प्रयोग गर्न चाहान्थिन्। उनले कक्षा ३ देखि ४ सम्म पढ्ने क्रममा विभिन्न एफएममा बाल कार्यक्रम चलाउने अवसर पनि पाइन्। यसले उनमा धेरै पुस्तक पढ्ने बानी त बसाल्यो नै। साथै ‘कार्तिकेय चाइल्ड ट्यालेन्ट अवार्ड २०१३ ’ समेत हात पार्न उनी सफल भइन्। हालसम्म विभिन्न पत्रपत्रिकामा उनका धेरै लेखहरू प्रकाशित भइसकेका छन्। ‘नेचर’, ‘घोस्ट स्टोरिज’ र ‘द लस्ट स्लिपर’ नामक पुस्तक प्रकाशन गरिसकेकी ज्वाला ‘एडभेन्चर्स अफ अ वन्डर गर्ल’, ‘नेचर (भाग २), ‘द स्पेस’, ‘स्टप भायोलेन्स फर वमेन’, ‘बन्धन’ र ‘चार्ली इन् द चकलेट फ्याक्ट्री’ प्रकाशन गर्ने तयामा छिन्। यीमध्ये पछिल्ला चार कृति अनुवादमा आधारित रहनेछन्। इन्ट्रो ःआफूसँग भएको समय र सीपको प्रयोग गरेर अनाथालयमा हुर्किरहेका बालबालिकालाई कम्प्युटरसम्बन्धी थोरै भए पनि प्रविधिको ज्ञान प्रदान गर्ने ज्वालाको चाहना छ।